२०४० साल फागुन २० गते गिरिजाप्रसाद, सुशील कोइराला, शेरवहादुर देउवा, रामचन्द्र पौडेल, शैलजा आचार्यसहितका नेता र जिल्लाका नेता कार्यकर्ताहरुमाथि रुपन्देहीको सुरजपुरामा आक्रमण भएको थियो। पुष्पानन्द गिरीको घरको आगनमा कार्यक्रम सुरु भएपछि उनीहरुमाथि आक्रमण भयो। त्यसक्रममा २ जनाको मृत्यु भयो भने कैयौं घाइते भएका थिए। सोही घटनाबारे तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाले बताएको विवरण ।
राजासँग कुरा भएपछि मैले देश दौडाहा सुरु गरें। यसैक्रममा रुपन्देहीको सुरजपुरामा आमसभाको आयोजना गरिएको थियो । भोलिपल्ट आमसभा थियो भने आज जस्तो म काठमाडौँबाट सुरजपुराको लागि साथीहरुका साथ हिँडे।
पुरानो थोत्रो जिप थियो। नारायणघाट नपुग्दै बिग्रियो। के गर्ने ? भोलि सुरजपुरा पुग्नु छ। कसरी जाने भनेर सोंच्दै थिएँ। मधुजी भन्ने एकजना वकिल गाडीमा चितवनबाट काठमाडौ जाँदै थिए। उनले भने,–“के भयो गिरिजाबाबु आउनुस् यही मोटरमा काठमाडौ जाऊँ।” मैले त पार्टीका कार्यक्रममा आएको फर्किन मिल्दैन, तपाईँहरु जानुस् भनेँ।
त्यसैबेला एउटा ट्रक आइपुग्यो। सरदार ड्राइभर रहेछ। यही ट्रकमा जाने भनेर रोक्यौँ। म सहित २–३ जना अगाडिको सिटमा र २–३ जना पछाडिको सिटमा बस्यौँ। ड्राइभरलाई गाडी जिम्मा लगाएर हामीले चितवनसम्मका लागि ट्रकको यात्रा सुरु गर्यौ। चितवन पुगेपछि मैले भनें–“भोलि जसरी भएपनि समयमै सुरजपुरा पुग्नुपर्छ । मिनीबस भाडामा लिनुपर्यो ।” साथीहरुले सबै मिलाए। मिनीबस भाडामा लिइयो। हामीसँग समय एकदम कम थियो। मेरो मान्यता के रहन्छ भने जहिले पनि समयमै पुग्नुपर्छ। त्यसैले मैले साथीहरुसँग भने,–“कहीँ पनि रोकिने होइन। जहाँ समय दिएको छ त्यहीँ रोकिने हो।”
समय एकदम कम भएकाले हामी रफ्तारमा यात्रा गरिरहेका थियौंँ। बाटोमा कांग्रेसको झण्डा र माला लिएर एकहुल मानिस बसेका थिए। साथीहरुले भने “हाम्रा साथीहरु आएका रहेछन् गाडी रोकौँ।”–मैले भने,–“अहँ गाडी रोकिंदैन। समय छै, सुरजपुरा पुग्नु छ। अगाडिबाट पैदल हिड्नुपर्छ। हुँदैन।”
मैले गाडी नरोकी अगाडि बढ्न भनेँ। पछि थाहा भयो, मोटर नरोकोको कारण हाम्रो ज्यान जोगियो। त्यहाँ पार्टीका झण्डा र माला लिएर बसेका मानिसहरु त हामीलाई मार्नको लागि योजनाबद्ध रुपमा राखिएका पो रहेछन्। उनीहरुलाई देखेर पनि गाडी नरोकी अघि बढ्यौँ। रोकेको भए पहिला माला लगाउने अनि जंगलमा लगेर हामीलाई खुकुरीले काट्ने योजना रहेछ त्यसरी बाँचियो।
बीचबीचमा हामीले चिनेका साथी भए मात्र मोटर रोकेर चढाउने गरेका थियौँ। बीचबाट मोटर चढ्नेमा यादवनाथ आलोक (वकिल) पनि थिए। मिनीबसमा चढ्ने वित्तीकै उनले मलाई भनेका थिए,“गिरिजादाजू आज नजाँऊँ धेरै ठूलो घट्ना हुनेवाला छ।” मैले भने,–“आलोक यसरी तर्सिएर त हुँदैन। तपाईलाई जाने मन छैन भने नजानुस। उत्रिनुस्। म गाडी रोकिदिन्छु झर्नुस्।”
मैले त्यती भनेपछि त झन ओर्लिने कुरै भएन। हैन म जान्छु भनेर उनी पनि हाम्रो साथमै बसे। मोटर पुग्ने ठाउँसम्म मिनीबसमा गयौँ। त्यहाँबाट हामी पैदल सुरजपुरा पुग्यौँ। पार्टी सभापति पुष्पानन्द गिरीको घरमा कार्यक्रम थियो। गिरीजी बहादुर मान्छे हुनुहुँदो रहेछ। मैले त्यहाँ पुगेपछि मात्र थाहा पाएको हुँ। उहाँले सुरुमै मलाई एउटा कोठा खोलेर देखाउनुभयो। हेर्दा त कोठाभरि लाठी नै लाठी थियो। के हो गिरीजी ठूला ठूला लाठी मात्र छन् नि, मैले सोँधे। उहाँले भन्नुभयो–“गिरिजाबाबु, आज यहाँ बबाल हुन्छ भनेर मैले यी लाठी र भिड्ने मानिसहरु पनि तयार गरेर राखेको छु।”
सुरक्षा दिनको लागि गिरीजीहरुले पूरापूर तयारी गर्नुभएको रहेछ। मैले भनें,–“यहाँका अञ्चलाधीश अत्यन्त खराब मान्छे छन्। त्यसो नगर्नुस्। अलिकति बहाना पायो भने प्रशासनले हामीमाथि गोली ठोक्छ, रगतको खोलो बग्छ। बरु यी लाठी हटाइदिनुस्। नत्र त्यही लाठीले हाम्रो टाउकोमा हान्लान्।”
पछि ल ल ! भनेर गिरिजीले लाठी हटाउन लगाउनुभयो। खाना खाएका थिएनौँ। साथीहरुले भने–“खाना खाएर कार्यक्रम सुरु गर्ने कि?” मैले भने,–“टाढा टाढाबाट मानिसहरु आएका छन्। सभा सकेर खाउँला। किन टाढाबाट आएका मानिसलाई दुख दिने।” यसैबीच मैले साथीहरुलाई तपाईँहरु तयारी गर्नुस् भनेँ। म एकछिन आराम गर्छु भनेर घरको माथिल्लो तलामा उक्लिएँ।
कोठाको घर भ¥याङ चढेर माथि पुगेर एकछिन पल्टिएको मात्र के थिएँ। बाहिर एकदम तनावपूर्ण वातावरण देखियो। मेरो आँखाले झ्यालबाट बाहिर नियालिरहेका थिए। एकैपटक आइमाईहरु काखमा केटाकेटी बोकेर दौडिदै आएको देखेँ। ए के हो हेर त ! भनेर साथीहरुलाई पठाउन मात्र के भ्याएको थिएँ।
उताबाट हातमा खुँडा, खुकुरी, लाठी भाला बोकेर मानिसहरु आइरहेका छन्। आइमाईहरु डरले तपाईँहरु के गर्ने हो ! भन्न थाले। मैले भनेँ, –“तपाईँहरु जानुस् हामी जे गर्नुछ गर्छौँ।”
सभा सुरु नहुँदै उनीहरुले हामी बसेको घर घेरिहाले। गिरीजीको ट्याक्टर तोडफोड गरे। डेढसयजति मानिसलाई खाना खुवाउने भनेर थाल कचौरा ल्याएका थिए। ती सबै बोकेर लगे। अनि घर जलाइदिने भन्न थाले। माथि बसेका छौँ। तल ढोका फोड्न भनेर हान्न थाले। ड्याम ड्याम आवाज आइरहेको थियो।
आइमाई र केटाकेटी आएर फेरि सोधे–“तपाईँहरु कता जानुहुन्छ?”
मैले भनें,–“तपाईँहरु जानुस आफू बच्नुस हाम्रो चिन्ता नगर्नुस्।”
मैले भने,–“गिरीजी तपाईँको घरमा बन्दुक हुनुपर्ने होइन? छ कि छैन?”
उहाँले भन्नुभयो–“छ गिरिजाबाबु।”
मैले भने,– “निकाल्नुस् न त यही बेला हो बन्दुक निकाल्ने।”
उहाँले सोध्नुभयो,–“कसले चलाउँछ त यो बन्दुक?”
मैले भनें,–“म हानिदिन्छु। खाली फायर गर्ने त हो नि।”
दुई नाले बन्दुक रहेछ झिकेर दिनुभयो। मैले पड्काउन खोजेको त पड्किंदै पड्किएन।
मैले भनेँ,–“गिरीजी अब यो बन्दुक राख्नुस् पड्किएन भन्ने थाहा पाए भने त झन आक्रमण गर्छन्।”
एकछिन पछि त मानिसहरु ढोका तोडेर हामी भएको ठाउँमा आउन खोजे। कोही आगो लगाउ भनेर कराउन थाले। क्षणभरमै धुँवाको मुस्लो आइपुग्यो। अनि मैले जोडले कराएर भनें,–“ए गिरीजी बन्दुक छ। निकाल्नुस्। अब चाहिँ बन्दुक नै ठोक्नुपर्छ, भएन। ल्याउनुस् त गोली हानौँ।”
त्यति भनेपछि तल एकदुई जना कराएको सुनियो,–“ए यो घरमा त बन्दुक छ है। भाग भाग”
अनि सबै भागे। हामी तल झर्दा त आँगन रगताम्य थियो।
साथीहरु को कहाँ छन् ? थाहा थिएन। आलोकजी रगताम्य भएर छट्पटाइरहनु भएको थियो ।
साथीहरु कोही खेतमा, कोही कतै रगताम्य भएर लडेका।
गोपालमान श्रेष्ठजीसँग भने,–गोपालमानजी तपाईँको ट्रक छ। तपाईँ ट्रक आउने ठाउँसम्म ट्रक लिएर आउनुस्।”
उहाँ अलिअलि डराउनु भएको थियो।
मैले भनेँ,–“यस्तो बेलामा जानैपर्छ। बरु साथी लिएर जानुस्।”
एकजना साथी लिएर उहाँ राजमार्गसम्म पैदल जानुभयो। यता गिरीजीले १०–१५ वटा बयलगाडा खोजेर त्यसैमा घाइतेलाई हालेर राजमार्गसम्म पुर्याइयो। त्यहाँबाट ट्रकमा राखेर बुटवल अस्पताल लगियो। त्यो बेला रामकृष्ण ताम्राकारजीले पनि खुब मेहनत गरेको हो।
घाइतेहरुले अस्पताल भरिएको थियो। कतिलाई भुइँमा राखेर उपचार गरियो। डाक्टरहरुले निःशुल्क उपचार गरे।
तैपनि यादवनाथ आलोकजीलाई बचाउन सकिएन।
जाने बेलैमा यादवनाथ आलोकले त भनेका थिए,–“गिरिजादाजु त्यहाँ नजाऊँ मण्डलेहरुले मार्ने योजना बनाएका छन्।” मैले नै ‘म जान्छु, तपाईँ नजानुस’ भनेको थिएँ। मैले भनेको थिएँ,–“निर्णय गरिसकेको कुरा म फिर्ता गर्दिन। जसलाई डर लाग्छ नगए हुन्छ।”
अन्ततः उहाँलाई बचाउन सकिएन। आज पनि मलाई त्यो घट्ना सम्झँदा अत्यन्त पीडा हुन्छ।
हुन त जीवनमा यस्ता धेरै घटना भए। तर संगठन निर्माणका क्रममा हिँडेका बेला मेरो जीवनमा भएको यो नै सबैभन्दा ठूलो घटना हो।
मलाई मार्ने योजना नै रहेछ। घटना हुँदा प्रहरी तैनाथ त थिए तर तिनीहरु मुकदर्शक बसे। हामीले प्रतिकार गरेको भए उनीहरुले नै हामीलाई गोली हान्ने थिए।
पछि हामीलाई मार्न आएका सुकुम्बासीहरुलाई मैले किन हामीलाई मार्न खोजेको? भनेर सोधेको थिएँ।
उनीहरुले भनेका थिए,–“हामीलाई हजुरको हत्या गर्न भनेर पैसा दिएका थिए।”
मैले भनेँ– “त्यति पैसामै मलाई मार्ने थियौ त?”
उनीहरुले भने,–“त्यो बेला त हुन्छ भनियो तर गाह्रो हुने रहेछ।”
काठमाडौ फर्किएपछि राजा वीरेन्द्रसँग मेरो भेट भयो।
भेटमा मैले भनेँ,–“सरकार एकातिर मलाई देशभर घुम्न भन्ने अनि अर्कोतिर मार्न लगाउने ? यस्तो अत्याचार गरेर सरकारले राज्य चलाउँछु भन्ने सोँचिबक्सेको छ भने सरकार त्यो राजतन्त्रको लागि समेत दुर्भाग्यपूर्ण हुनेछ।”
राजाले भने,–“म हेर्छु के भएको रहेछ ? अनि त्यहाँको अञ्चलाधीशलाई हटाए। राजालाई थाहा नदिएर मण्डलेहरुले त्यो घटना गराएको भन्ने पनि गरियो। तर राजालाई थाहा नहुने प्रश्नै उठ्दैन।
पछि घटनामा भएको अत्याचारको बारेमा मानवअधिकारवादी, वकिलहरुको टोलीले प्रतिवेदन नै सार्वजनिक गरेको थियो।
जगत नेपालद्वारा लिखित ‘आफ्नै कुरा गिरिजाप्रसाद कोइराला’ पुस्तकबाट साभार ।