बुटवल–विगतमा चुरेपहाड नजिक तिनाउ नदीको दायाँ किनारमा सानो बजारको रुपमा बटौली रहेको थियो। अहिले बुटवल उपमहनगरपालिका वडा नम्बर १ र २ रहेको क्षेत्र त्यसबेलाको बटौली बजार हो। बटौली बजारमा पहाडी जिल्लाहरुबाट किनमेल गर्न आउँथे। पहाडबाट आउनेले घिउ लिएर आउँथे।
पहाडबाट ल्याएको घिउ यहाँका व्यापारीलाई बेचेर नुन, तेल कपडा लगायतका सामान किनेर लैजान्थे। बटौलीमा पहाडबाट आएको घिउ भारतको बनारस, कलकत्ता लगायतका शहरमा पुग्दथ्यो। माथिल्लो पुलको गणेशथानदेखी जितगढी सम्म बटौली बजार थियो। कात्तिकदेखि फागुनसम्म बटौलीबजारमा भिड लाग्दथ्यो।
सामान लिएर आएका गधा, खच्चरका साथै मधेशमा चल्ने लडीयाको ताँती नै हुन्थ्यो। खस्यौली भनिने अहिलेको मुख्य बजारतर्फ भने बस्तीहरु थिएन। विपिचोक, अमरपथ क्षेत्र तिर केही टहराहरु थिए।
जहाँ भारतबाट आएका लाहुरेहरु आउँदा बास बस्थे। बटौली बजारलाई २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखियो। पञ्चायती व्यवस्था सुरु भएपछि भने यसलाई बुटवल–खस्यौली नगरपञ्चायत भन्न थालियो।
२०४६ साल पछि बुटवल नगरपालिका उल्लेख भयो। २०७१ साल मंसिरमा उपमहानगरपालिकामा स्तरोन्नती भएको हो। अहिले यो पश्चिम नेपालकै प्रमख शहर हो ।
मुलुकको नयाँ संघिय संरचना बनेपछि बुटवल तत्कालिन पाँच नम्बर प्रदेशको मुकाम पनि भएको थियो। तर २०७७ साल असोज २० गते प्रदेश सभाबाट लुम्बिनी प्रदेश नामाकरणसँगै प्रदेशको राजधानी दाङको देउखुरी तोकिएको छ। तर प्रदेशका मन्त्रालय लगायतका संरचना अहिले पनि बुटवलमै छन्।
मुन्निलालदेखि शिवलालसम्मको नेतृत्व
तत्कालीन बुटवल खस्यौली नगरपालिकाको पहिलो नेतृत्व मुन्निलाल शाक्यले (२०१६–२०१७ साल) गरे । शाक्यपछि ओमशंकर श्रेष्ठ (२०१९–२०२३ साल), परीक्षितप्रसाद लाकौल (२०२४–२०२६ साल), सरस्वतीप्रसाद शेरचन (२०२६–२०२८ साल र पुनः २०३३ देखि २०३६ साल), हरिबहादुर सिंह (पहिलो पटक २०२८मा प्रधानपञ्चमा र यो सहित चार–पटकसम्म प्रधानपञ्च), सूर्यलाल वि.सं. (२०३०), बृजमान श्रेष्ठ (२०३६ –२०३९) प्रधानपञ्च भए ।
प्रजातन्त्र पुनस्थापनापछि भएको स्थानीय चुनावमा सू्र्यप्रसाद प्रधान (२०४९–२०५३) र भोज प्रसाद श्रेष्ठ (२०५४–२०५९) नगरप्रमुख भए ।
सूर्यबहादुर थापा सरकारबाट मनोनित भएर २०६० सालमा पुनाराम पोखरेलले पनि नगरप्रमुख भएर केही समय नेतृत्व गरे । माघ १९ पछिको शाही सरकारले गराएको नगरपालिका चुनावबाट रुपसिंह थापा थोरै समयको लागि नगरप्रमुख बनेपनि लोकतन्त्र स्थापना पछिको सरकारले निर्वाचनलाई नै खारेज गरेको थियो ।
१५ वर्ष जनप्रतिनिधि विहीन भएको हालको बुटवल उपमहानगरपालिकामा २०७४ साल असारमा भएको निर्वाचनबाट शिवराज सुवेदी मेयर र गोमादेवी आचार्य उपमेर भएका छन् ।
बटौली, खस्यौलीदेखि नयाँ बुटवलसम्म
विगतमा अहिलेको मुख्य बजार भन्दा तिनाउ पारी थियो बटौली बजार । २० को दशकतिर वारी खस्यौलीमा पनि बजार र बस्ती बस्न थाले । २०३५ सालमा बटौली क्षेत्रमा रहेको नगरपालिकाको कार्यालय पनि अहिलको कार्यालय भएको ठाउँ हाटबजारलाइनमा सर्यो ।
खस्यौलीमा पूर्वाधारहरु थापिदैँ गएपछि बजारले बुटवल शहरको रुप लियो। बुटवलबाट दक्षिण र पश्चिम बस्ती विस्तार हुँदै गयो। पछिल्लो समय बुटवल मुलुकको महत्वपूर्ण अनि पूर्वाधारयुक्त शहरको रुपमा स्थापित भएको छ।
६ लेनका फराकिला सडक, निर्माणाधिन अन्तराष्टिय सम्मेलन केन्द्रले बुटवलको प्रतिष्ठा बदल्दै छ। देवीनगर, मगरघाटमा बनेका पक्की पुलले विभिन्न ठाउँमा जाने मार्गलाई सहज बनाएको छ।
बुटवलका ३ खण्ड
भूगोल र विकासक्रमका आधारमा बुटवललाई ३ खण्डमा यसरी छुट्याएर हेर्न सकिन्छ ।
पूरानो बजार अर्थात बटौली क्षेत्र
हाम्रा बाबुबाजेले विगतमा बजार गर्न आउने ठाउँ हो पुरानो बुटवल अहिले यो १ र २ नम्बर वडामा पर्दछ । अझै पनि पुरानो बुटवलमा थुपै पुराना र ऐतिहासिक घरहरु छन्। ति घरहरु जीर्ण देखिन्छन् । ऐतिहासिक र पुरातात्विक स्थान भएकाले यो ठाउँलाई बुटवलको पर्यटकीय केन्द्रको रुपमा विकास पनि गर्न सकिन्छ।
तिनाउपारी केही उचाइमा मणिमुकुन्द सेन उद्यान अर्थात फूलबारी पार्क छ। तिनाउ पुलकै सामुन्ने नेपालले अंग्रजलाई पराजित गरेको स्थान जितगढी छ। यी दुई ठाउँ बाहेक सिंगो बटौली क्षेत्रलाई खुल्ला संग्रालयको रुपमा विकास गर्न सकिन्छ। तर यस तर्फ स्थानीय चुनाबपछि आएको जनप्रतिनिधिबाट हुनपर्ने जति पहलमा ढिलाइ भएको छ।
पुराना घरलाई त्यही रुपमा जोगाएर व्यवस्थित गर्ने हो भने बटौलीको पहिचान कायम गर्न सकिन्छ। तर दिन प्रतिदिन बनिरहेका नयाँ घरका कारण बटौलीको पहिचान मासिने खतरा छ। बुटवलका स्थापित व्यवसायीका अभैm पनि पुराना घरहरु छन्। तर उनीहरु त्यहाँ बस्दैनन्।
मुख्य व्यापारिक क्षेत्र
२०२० पछि पारी बटौलीमा रहेको बजार वारी खस्यौलीमा आयो। अमरपथ राममन्दीरलाईन वारीका सुरुका बजार क्षेत्र हुन्। अहिले गोलपार्कदेखि योगीकुटीसम्म अर्थात बुटवलको ३ देखि ११ सम्मका वडा बुटवलको मुख्य व्यापारिक क्षेत्र अन्तर्गत पर्दछ।
यो ठाउँमा घना बस्ती छ। त्यसमध्ये बुटवल ११ सबै भन्दा बढी जनसंख्या भएको वडा पनि हो। यस वडामा सुकुम्बासी तथा अव्यस्थित बसोबासको समस्या पनि उत्तिकै रहेको छ। बसपार्क, क्याम्पस, अस्पताल, प्रदेश स्तरीय विभिन्न कार्यालय लगायतका पूर्वाधारहरु यसै क्षेत्रमा रहेका छन्।
खुल्ला तथा उब्जाउ क्षेत्र
अहिलका बुटवलका १२ र १३ नम्बर वडा विगतमा तामनगर गाविस अन्तर्गत पर्दथ्यो। २०४९ सालको स्थानीय चुनावअघि तामनगर गाविसलाई बुटवलमा गाभियो।
त्यसैगरी २०७१ साल मंसिर महिनामा साविकका मोतिपुर र सेमलार गाविसलाई पनि गाभेर बुटवल उपमहानगरपालिका भयो। अहिले बुटवलको १२ नम्बर वडादेखि १९ सम्मको क्षेत्रलाई खुल्ला तथा उब्जाउ क्षेत्र मानिन्छ।
यस स्थानमा केही खेतीयोग्य जमिनहरु पनि छ। तर प्लटिङ र बसाइसराइ भएर आउनेहरुका कारण खेतीयोग्य जमिन मासिने क्रम पनि बढेको छ।
चुनौती र सम्भावना
सुकुम्बासी समस्या, सवारी चाप, तीब्र बसाइसराइ बुटवलका मुख्य चुनौती हुन्। बुटवलको ११ नम्बर वडामा बाक्लो सुकुम्बासी बस्ती छ। त्यसबाहेक अन्य वडामा पनि सुकुम्बासी बस्ती फैलिएको छ। प्रत्येक चुनावमा सुकुम्बासी समस्या समाधान चुनावी नारा बन्छन् समस्या अझै समाधान भएको छैन। यद्यपी सुकुम्बासीको लगत संकलन लगायतका केही प्रक्रिया अघि बढाएको उपमहानगरले जनाएको छ ।
बेला बेलामा बुटवलका सडकमा ट्राफिक जाम पनि भइरहन्छ। दिन प्रतिदिन निजी सवारीसाधन थपिएका छन्। तर पार्किङ गर्ने ठाउँको अभाव छ। डेढ दशक अघि बनेको बुटवल बसपार्क पनि साँघुरो भएको छ।
अध्ययन, जागिर र व्यवसायको लागि मानिसहरु बुटवलमा छन्। जागिर तथा व्यवसाय गरेर कतिपयले यही घर बनाएर बसेका छन्। बुटवलमा घर थपिने क्रम तिब्र छ। अहिले बुटवलमा खुल्ला ठाउँ देख्न मुस्किल पर्दछ। यी बाहेक बुटवलको दीपनगर, सुख्खानगर क्षेत्रमा खानेपानीको समस्या छ।
विवादका कारण फोहर व्यवस्थापनको योजना पनि अलपत्र परेको छ।
लुम्बिनी नजिकको बुटवलमा केही सम्भावना पनि छन्। बुद्धस्थल लुम्बिनीको विकास र भैरहवामा निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थलका कारण त्यसको प्रभाव बुटवलमा पनि पर्ने छ। डेढ दूईवर्षको अवधिमा बुटवलमा सयौ होटल व्यवसाय थपिएका छन्। स्तरीय होटल तथा रेष्टुरेण्ट थपिने क्रम बढ्दो छ।
बुटवलमा रहेको ऐतिहासिक जितगढी किल्ला, फूलबारी, सिद्धबाबा धाम, रामापिथेकस पर्यटकीय स्थल हुन्। यस्तै बटौली क्षेत्रलाई पुरानो चिनारी झल्काउने गरी व्यवस्थीत गर्ने हो भने यी ठाउँ पर्यटकीय आकर्षणका केन्द्र बन्न सक्छन्।
बुटवल मण्डपमा निर्माणाधीन अन्तराष्ट्रिय सभाहलले यो ठाउँको मुहार फेर्न सक्छ। अहिलेको बुटवल उपमहानगर महानरलाई महानगर बनाउने योजना पनि अघि सारिएको छ।