बुुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले दीर्घ सेवा गरेका सञ्चारकर्मीहरुलाई मासिक भत्ताको व्यवस्था गर्न माग गरेको छ ।
बुधबार सम्पन्न महासंघको बार्षिक साधरणसभाले पत्रकारिता पेशामा लागेर ३० वर्ष बिताएका वा ६० वर्ष पुुगेका पत्रकारलाई मासिक रुपमा भत्ताको व्यवस्था गर्न माग गरेको हो ।
साधरणसभाले दीर्घसेवा सुविधासँगै न्यूूनतम पारिश्रमिक कार्यान्वयन तथा कोरोनाका वाहनामा विदामा राखेका पत्रकारलाई फर्काउने लगायतका ११ बुँदे निर्णय गरेको छ । न्यूनतम पारिश्रमिक पूर्ण रुपमा लागू नभएकोमा गम्भिर चिन्ता व्यक्त गर्दै पूर्ण रुपमा लागू गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
सभाले कोभिड संक्रमित पत्रकारहरुको कोरोना विमा उपलब्ध गराउन ढिलाई भएकाले तत्तकाल विमा रकम उपलब्ध गराउन सम्बन्धित पक्षसँग जोडदार माग गरेको छ । साधरणसभाले सञ्चार साधनमा अनुदान, प्रोत्साहनका लागि पहल गर्न विभिन्न तहका सरकारलाई आग्रह गर्ने, साना तथा स्वरोजगार सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई प्रेस प्रतिनिधि परिचयपत्र प्रदान गर्ने प्रावधान खुकुलो पानुपर्ने लगातयका निर्णय गरेको छ । महासंघ रुपन्देहीका पूर्व अध्यक्ष दीपक ज्ञवाली संयोजक, ऋषि आजाद र कल्पना तिवारी सदस्य रहेको समितिले ११ बुँदे प्रस्ताव तयार पारेको थियो ।
बन्दसत्रले सचिव रामप्रसाद आचार्य र कोषाध्यक्ष स्वस्तिक श्रेष्ठको प्रतिवेदन पारित गरेको छ । बन्दसत्रमा महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एंव केन्द्रीय प्रतिनिधि विनोद पहाडी, अध्यक्ष मण्डलका संयोजक डिआर घिमिरे, महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसि लगायतले बोलेका थिए । अध्यक्ष मण्डलमा संयोजकमा डिआर घिमिरे, सदस्यमा भरत केसी र माया गौतम रहेका थिए ।