बुटवल- लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्रका तीन वटा मुख्य नदिको जलाधार व्यवस्थापन योजना तयार गर्ने भएको छ। उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले तिनाउ, राप्ती र बबइ नदिको जलाधार व्यवस्थापन योजना तयार गर्ने प्रक्रिया अघि बढाएको छ। योजना तयार गर्न टेण्डर प्रक्रियाबाट परामर्शदाता कम्पनीको छनोट गरेको छ।
छनोट भएको काठमाडाैँकाे एनइएसएस–जीइस–आइइएस जेभिसँग एक हप्ता भित्र सम्झौता हुने मन्त्रालयका प्रवक्ता दिपक ज्ञवालीले बताए। पहिरो नियन्त्रण, गल्छि नियन्त्रण र मुल संरक्षणको लागि जलाधार योजना बनाउन लागिएको उनको भनाइ छ। ‘पहिरो नियन्त्रण भनेर जहाँ देख्यो त्यही केन्द्रीत हुने काम मात्र भएको थियो। अब चाँही अलि बृहत्तर रुपमा जाउँ भनेर योजना बनाउन लागेको हो।’ ज्ञवालीले भने ‘कुन ठाउँमा छिया परेको छ। कुन ठाउँमा तत्काल एक्सन गर्नुपर्छ भन्ने खालको पहिरो नियन्त्रण, गल्छि संरक्षण र मुल नियन्त्रणको योजना बनाउँछौं।’
अध्ययन टोलीले नदिमा गएर क्षतिग्रस्त ठाउँहरुको अध्ययन गर्ने उनले बताए। चार महिना भित्र अध्ययन गरेर तीनवटै नदि प्रणालीको तीन वटा छुट्टा छुट्टै विस्तृत योजना बुझाउनु पर्ने मन्त्रालयका प्रवक्ता ज्ञवालीले बताए। ‘नदि नियन्त्रणको लागि पछिसम्म काम गर्न पनि सजिलो होस भनेर योजना बनाएको हो।’ उनले भने ‘योजना बनेपछि क्रमश बजेट छुट्याएर काम अघि बढाउँछौं।’ पाल्पा र रुपन्देही भएर बग्ने तिनाउ नदिले विभिन्न ठाउँमा कटान गर्ने गरेको छ।
राप्ती नदिबाट पनि विभिन्न ठाउँमा क्षति हुने गरेको छ। बबइ नदिका कारण बर्दियाका अधिकांस क्षेत्र बर्सेनी डुवानमा पर्ने गरेका छन्। जलाधार व्यवस्थापन योजनाले कटान र डुबानबाट हुने क्षति कम गर्न सघाउन पु¥याउने उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयको अपेक्षा छ।