बुटवल-आज क्रिसमस । इशाई धर्मावलम्बीहरुले आफ्ना पैगंबर जिसस क्राइस्टको जन्म भएको दिनका रुपमा आजलाई मनाइरहेका छन् ।
पहिलो शताब्दीमा तत्कालिन रोमन राम्राज्यको जुडेयामा धर्मको प्रवर्तन भएपनि त्यसको २० वटा शताब्दीपछि नेपालको बुटवल सहरमा तिनाउ तटलाई बासस्थान बनाएका सुकुम्बासी वस्तीका अधिकांश दलित समूदायले पनि उत्तिकै श्रद्धाका साथ क्राइस्टको जन्मदिन मनाइरहेका छन् ।
यहाँका धेरै वयस्क र वृद्ध दलितहरु जन्मदैं क्रिस्चियन थिएनन् । हिन्दू वर्ण व्यवस्था उपज सामाजिक अनुक्रमको पिँधमा राखिएका दलितहरुले जातीय उत्पीडनबाट बाँच्न धर्म परिवर्तन गरेका हुन् । तर, के धर्म परिवर्तन पछि उनीहरु विभेदमुक्त भए ?
यस्तो छ, तिनाउ किनारका दलित क्रिस्चियनहरुको अनुभवः
बुटवल–११ मजुवाकी ५५ बर्षीय रुपा बिकका लागि कुनैबेला मन्दिर सबथोक थियो । त्यहाँ उनले पुज्ने देवता थिए, उनको आस्था थियो । दिनहुँ मन्दिर जान्थिन् रे ! तर, मन्दिरमा देवता देख्न पाउँथिनन्, किनभने तल्लो जात भनेर उनलाई भित्र जान दिइन्थेन । ‘पुजाको थाली बाहिर राख्नुपथ्र्यो । अरुले नै फूल चडाइदिन्थे । बाहिरबाटै रित्तो थाली लिएर फर्कनुपथ्र्यो’ उनी सम्झिन्छिन् ।
मन्दिर गएर भगवान पुज्न नपाएपछि उनले भगवान नै फेरिन् । २०६४ साउनमा धर्म परिवर्तन गरेर इसाई बनेपछि उनी नियमित चर्च जान्छिन् ।
चर्चमा उनलाई कसैले भित्र जान नदिने हुन् कि भन्ने डर छैन । बरु सबै जातजातिका मानिसहरुसँग समूहमा प्रार्थना गर्छिन् । उनीहरु सँगै मिलेर प्रसाद खान्छिन् । ‘चर्चमा जात भन्ने नै छैन । त्यहाँ सबै बराबरी छौं । एकै ठाउँमा प्रार्थना गर्छौ । एक अर्काले पकाएको खान्छौं,’ उनी भन्छिन्–‘चर्चभित्र सुरक्षित महसुस हुन्छ ।’
बुटवल–११ बुद्धनगरको शिवालय टोलकी ६० बर्षीया सुमित्रादेवी दमाईको बालापन विभेद र अपमानमा नै बित्यो । क्षेत्री र मगर समूदायमा दलित बालिकाको रुपमा हुर्केकी उनलाई त्यहाँका उच्च जात भनिएका मानिसहरुले विभेदका नमिठा अनुभूतिहरु दिए । ‘मेरा साथीहरुमा मगर र क्षेत्री धेरै थिए । साथीहरुका बाबुआमाले उनीहरुलाई साइली (सुमित्रालाई बोलाउने नाम) ले छोएको खानु हुदैंन भन्थे,’ बालापन सम्झदैं उनले भन्छिन्–‘खायो भने मुखमा किरा पर्छ, आन्द्रा कुहिएर झर्छ भनेर डराउन दिन्थे ।’
बाबुआमाले ढाँटेका पो हुन् कि भनेर साथीहरुले खानेकुरा छोइदिन भन्थे रे ! ‘मलाई डर लाग्थ्यो । मैले छोइदिन्थिन । गल्ती गर्नेलाई खुट्टामा ठेड्को लगाएर पल्टाइदिने गर्थे त्यतिबेला ।’ उनी भन्छिन् ।
एक पटक भने उनी फसिन् । क्षेत्री थर भएकी साथीका बाबुआमा तानसेन गएका थिए । साथीहरुले उसकै घरमा गएर बस्ने योजना बनाए । राती आँटीमा सुतिरहेका बेला एक्कासी आमाबाबु घर फर्किए । दलितकी छोरी घरको आँटीमा सुतिरहेको थाहा पाए । अछुतले धुरी छोएको भनेर रडाको मच्यियो । उनी त्यहाँबाट सुटुक्क भागिन् । ‘त्यसपछि उनीहरुले घर चोख्याउन धेरै खर्च गरेर धुपबत्ती बालेका थिए,’ उनी सम्झन्छिन् ।
२०५६ सालमा उनले पनि क्रिस्चियन धर्म ग्रहण गरिन् । धर्म परिवर्तन गर्ने निर्णयसम्म पुग्न उनलाई अर्को एक घटनाले पनि सजिलो बनाएको थियो । बिहे गरेर पतिसँग रुपन्देहीको सालझण्डी आएपछि सुमित्रालाई जन्मिएकी कान्छी छोरी रोगले थला परेकी थिइन् । बैद्य, डाक्टर कसैले पनि उपचार गर्न सकेनन् । सुमित्राका अनुसार भाई र बुहारीले सुझाएपछि उनी चर्च जान र प्रार्थनामा सहभागी हुन थालिन् ।
‘त्यसपछि मेरो छोरीलाई एकैपटक निको भयो । अनि मलाई यो धर्मप्रति विश्वास बढ्यो,’ आस्थाकै कारण निको भएको ठान्ने सुमित्रा भन्छिन्–‘त्यसैमाथि चर्चभित्र कसैले मलाई तँ तल्लो जात भनेन । मेरो स्थान यहाँ पो रहेछ भन्ने लागेपछि धर्म परिवर्तन गरेकि हुँ ।’
यद्यपि चर्च बाहिर भने उनीप्रतिको विभेद हटेको छैन । बरु ‘गाई खाने धर्म’ मान्ने भनेर आफन्तहरुबाटै उपेक्षामा पर्छिन् बेलाबेलामा । धर्म परिवर्तन गर्दाताका पनि दलित भनेर थारु समूदायका व्यक्तिहरुले कुवाबाट पानी लिन नदिएको घटना पनि उनले बिर्सेकी छैनन् । हुन त अझैं पनि पनि उच्च जात भनिएका छिमेकीहरुको हेपाहा नजरलाई उनले महसुस गर्छिन्, तर केही बोल्न सक्दिनन् ।
‘चर्च बाहिर केही फरक छैन । म त्यही समाजमा छु, जहाँ म तल्लो जात की हुँ,’ उनी भन्छिन्–‘तर चर्च भित्र वातावरण अर्कै थियो । म अर्को मान्छेभन्दा फरक थिइनँ त्यहाँ । चर्च छिर्दा मेरो आत्मविश्वास बढ्थ्यो । यसले अझै चर्च प्रतिको मोह बढ्यो ।’
सुमित्रा निरक्षर हुन् । तर चर्च जान थालेपछि भने उनले पढ्न सिकेकी छन् । आफैं बाइबल पढ्न सक्छिन् । त्यसमा भएका केही पद्यहरु त उनलाई कण्ठ नै छ ।
सुन व्यवसायी तारा गहतराज पाल्पा छहरामा हुर्कदाँका सबै–सबै अनुभूतिहरु उनी र उनका परिवारप्रति जातका आधारमा भएका विभेदसँग जोडिएका छन् । बुटवल–११ तीनकुने पथमा आफ्नो घरमा बसेर बाल्यकालका विभेदपूर्ण दिनहरु सम्झँदा धर्म परिवर्तन गरेर ठीकै गरेँ जस्तो लाग्छ उनलाई । ‘चिया खान दिन्थे, खाएपछि गिलास सफा गरिदिएर राखिदिनुपथ्र्यो । गिलासको पानी सुकेपछि मात्रै गिलास भित्र लैजान्थे ।’-एक ब्राह्मण परिवार कहाँ जाँदाको अनुभव सम्झन्छन् उनले ।
हिन्दू वर्ण व्यवस्था उपज सामाजिक अनुक्रमको सबैभन्दा तल राखिएका उनी र उनका आफन्तहरुको अस्तित्व ठूला भनिएका जातका मानिसहरुले निक्र्यौल गर्थे । उनलाई यस्तो मन परेको थिएन । २० वर्ष अघि यो व्यवस्था नै नमान्ने हठ गर्दै धर्म परिवर्तन गरे । तर, गाउँमा रहेका उनका आफन्तहरुको भोगाइ अझैपनि ताराको बाल्यकालको भोगाई जस्तै छ ।
आफैले धर्मान्तरण गरेपनि तारालाई जातको आधारमा हुने विभेदको समाधान धर्म परिवर्तन हो जस्तो लाग्दैन । ‘यहाँ समस्या धर्मको होइन, मानवियताको हो । मैले धर्म परिवर्तन गरेपनी समाज परिवर्तन गरेको होइन । अनि विभेद कसरी अन्त्य होस् र !’ उनी भन्छन् ।
तारा नियमित प्रार्थना गर्न जाने बुद्धनगरको बेरिया चर्चमा बुद्धनगर र सिर्जना नगरका ६० जना अरु क्रिस्चियनहरु पनि जान्छन् । उनीहरु क्षेत्री, मगर, ब्राहमण तथा दलित समूदायका मानिसहरु हुन् । तीमध्ये कम्तीमा ४० जना दलित मात्रै हुन् ।
त्यहाँ मात्रै होइन, बुटवल ११ मा बनेका २० वटा चर्चमा प्रार्थना गर्न जाने मध्ये अधिकांश दलितहरु हुन् । चर्चको अभिलेख हेर्दा धर्मपरिवर्तन गर्नेमा सबैभन्दा धेरै दलितहरु छन् ।
‘धर्म परिवर्तनले व्यवस्था परिवर्तन हुदैंन’
त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका प्राध्यापक मधुसुदन सुवेदीका अनुसार धर्मपरिवर्तनको अन्तरनिहीत कारण हिन्दू परम्परामा भएको जातीय व्यवस्था नै हो, गरिबी र मिसनरी संस्थाहरुको उपस्थिति तत्कालीन कारण मात्रै हुन् ।
‘हिन्दूका धर्मग्रन्थहरुले मानव जातिलाई चार वर्णमा विभाजन गरेका छन् । यसको गलत अभ्यास गर्दै शताब्दीदेखि मानिस मानिसबिच विभेेद कुनै न कुनै रुपमा समाजका अवयवहरुमा धमनी झैं फैलिरह्यो,’ उनी भन्छन्,‘माथिल्लो भनिएका जातले तल्लो भनिएका जातहरुमाथि शासन गर्न सक्ने शासकीय स्वरुपको निर्माण भयो । अर्थव्यवस्था पनि त्यसका आधारमा विकसित हुदैं आयो ।’
जातीय उत्पीडनबाट मुक्ति पाउन दलितहरुले अँगालेको धर्म परिवर्तनको बाटो वर्ण व्यवस्था विरुद्ध देखिएको असन्तुष्टि भएपनि यो बाटोले समाजमा विद्यमान जातको आधारमा हुने विभेदको समस्यालाई निराकरण नगर्ने उनको कथन छ ।
वर्ण व्यवस्था धर्मसँग मात्रै नजोडिएको बरु यसकै आधारमा शासकीय स्वरुप र नेपालको अर्थव्यवस्था पनि विकसित हुँदैं आएकाले विभेद झ्वाट्टै हट्न नसकेको हो, भन्छन् उनी ।
‘माथिल्लो भनिएका जातहरुले तल्लो भनिएका जातहरुमाथि शासन गरे । उनीहरुको श्रमलाई आफ्नो आयआर्जनका लागि उपयोग गरे ।’ उनी भन्छन्–‘त्यसैले समस्या माथिल्लो जात भनिएकाहरुको मनोविज्ञानजडित छ ।’
जातको आधारमा हुने विभेदको अन्त्य ‘हामीले घोक्दै आएको चेतनाको विकास’ नै हो भन्दै प्राध्यापक मधुसुदन सुवेदीले चेतनाको विकासका लागि लोकतन्त्रको पूर्णानुभुति नै पहिलो सर्त रहेको तर्क अगाडि सार्छन् ।
‘विभेद विरुद्धका कानून निर्माण र त्यसको कठिबद्ध परिपालना एउटा समाधान हुन सक्छ,’ उनी भन्छन्–‘विभेदको अन्त्य नै लोकतान्त्रीक समाजको सूचक हो ।’