बुटवल–बुटवल उपमहानगरपालिकाले विभिन्न वडामा गरि छ सय ५० लालपुर्जा वितरण गरिएको छ । वर्षौंअघि नापजाँच भएर त्यत्तिकै रोकिएका साविकका मोतिपुर र सेमलारका गाउँब्लक जग्गाको लालपूर्जा वितरण गरिएको हो ।
बुटवलका वडा नंं. १४, १५, १६, १७ र १८ का विभिन्न टोलमा पुर्जाविहीन अवस्थामा रहेका छ सय ५० घर परिवारलाई उपमहानगरपालिका गोश्वारा नापी कार्यालयको सहकार्यमा लालपुर्जा वितरण गरेको हो ।
बुधबार बुटवल वडा नं. १४ को बेलभरिया र वडा नं. १८ को मोतिपुर दुबौलीमा मात्रै करिब एक सय ५० घर परिवारलाई लालपुर्जा वितरण गरिएको छ । यसअघि बुटवलकै वडा नं. १५ मा ४८ परिवार, वडा नं. १६ मा ६३ परिवार, वडा नं. १७ मा ९० तथा वडा नं. १८ मा १४७ परिवारलाई पुर्जा वितरण गरिसकिएको छ ।
बुटवल–१४ को सेमलार बेलभरिया र मोतीपुरको दुबैलीमा बुधबार एक संक्षिप्त कार्यक्रमका बीच उपमहानगरका प्रमुख शिवराज सुवेदीले त्यस क्षेत्रका ५८ जना घरपरिवारलाई लालपुर्जा वितरण गरे ।
उक्त वडामा यसअघि एक सय ५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिसकिएको छ । बुटवल १८ को दुबौलीमा बुधबारै ८७ वटा लालपुर्जा वितरण गरिएको थियो ।
लालपुर्जा पाउनेमध्येका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१४ का ८० वर्षीय रामप्रसाद उपाध्याय र ७४ वर्षीय प्रभु थारु, वडा नं. १८ का ७५ वर्षीय चित्रकुट थारु र असिया थारुलाई लालपुर्जा हस्तान्तरण गर्दै उपमहानगरपालिकाका प्रमुख सुवेदीले मोतिपुर र सेमलार क्षेत्रलाई नयाँ बुटवलका नमुना बस्तीका रुपमा विकास गर्नेगरि योजना बनिरहेको बताए ।
ती क्षेत्रमा आधुनिक, योजनाबद्ध र व्यवस्थित बस्तीका रुपमा विकास गर्न प्राविधिक अध्यय्न पूरा भइसकेको उनको भनाइ थियो ।
प्राविधिक टोलीको अध्यय्नपछि खेतीयोग्य, आवासयोग्य र खुला क्षेत्रका लागि जग्गा यकिन गर्दै आधुनिक बस्तीका रुपमा विकास गरिने प्रमुख सुवेदीले बताए ।
सो क्रममा उपप्रमुख गुमादेवी आचार्य, नगर प्रवक्ता रामप्रसाद रेग्मी, वडाअध्यक्षहरु १४ का दधिराम न्यौपाने, १८ का हुमनाथ आचार्य र गोश्वारा नापी कार्यालयका टोली प्रमुख यमप्रसाद पाण्डेसहित त्यहाँका जनप्रतिनिधि र अगुवाहरुको सहभागितामा स्वास्थ्य सुरक्षाको मापदण्डसहित लालपुर्जा वितरण गरिएको थियो ।
बुटवल उपमहानगरमा जनप्रतिनिधि चुनिएयता गाउँ ब्लक जग्गामा रहेका करिब पाँच सय परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
२०२७ सालदेखि कैयन पटक नापजाँच भएर पनि जग्गाको स्वामित्व पाउन नसकेका बुटवलका विभिन्न वडाका बासिन्दालाई जनप्रतिनिधि निर्वाचित भएसंगै नापी कार्यालयको समन्वय र सहकार्यमा लालपुर्जा वितरण गरिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।
बुटवलमा अव्यवस्थित बसोबासीको लगत संकलन र नापजाँचको कामसमेत चलिरहेको छ ।
बेलभरिया र मोतिपुरको दुवौलीमा आयोजित पुर्जा वितरण कार्यक्रममा बोल्दै उपप्रमुख गुमादेवी आचार्यले बुटवल उपमहानगरपालिकाले सहरी कृषि प्रवद्र्धनका साथै उत्पादनमूलक क्षेत्रमा जोडिएर व्यवसायिक काम गर्न आग्रह गरिन् ।
अनुगमन समितिका संयोजक समेत रहेकी उपप्रमुख आचार्यले उपमहानगरले सीप सिकाउने, सीपको सदाुपयोग गर्न सहयोग गर्ने र अनुदानकासमेत व्यवस्था गर्ने बताउँदै पछाडि पारिएका समुदाय र महिलालाई उच्च प्राथमिकतामा राखिएको बताइन् ।
कार्यक्रममा नापी कार्यालय रुपन्देहीका २ नम्बर टोलीप्रमुख यमप्रसाद पाण्डेले वर्षैदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रदान गर्न जनप्रतिनिधिको समन्वयकारी र नेतृत्वदायी भूमिकाले सहज भएको बताए ।