बुटवल–गत शुक्रबार प्रदेश मन्त्रीपरिषदको बैठकले दाङलाई प्रदेशको राजधानी बनाउने निर्णय गर्यो।
त्यसै दिन आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेश सभा बैठकमा राजधानी तथा नामाकरण सम्बन्धी प्रस्ताव पेश गरे। संसदमा प्रस्ताव आउनु भन्दा अघि प्रदेश सभा सदस्यहरुलाई कुनै सुइको समेत थिएन। कार्यसूची भन्दा भिन्न र अप्रत्यासित तरिकाले एजेण्डा प्रदेश सभामा पेश हुँदा सांसदहरु चकित परेका थिए।
प्रदेश सभामा दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पेश भएसँगै रुपन्देहीका सडक तात्यो। बुटवल, सैनामैना, तिलोत्तमा लगायतका ठाउँ ठाउँमा टायर बालेर विरोध भए। प्रदर्शन भए।
शनिबार नेपाली कांग्रेस रुपन्देहीले आन्दोलनको घोषणा नै गर्यो । त्यस दिन साँझै मशाल जुलुस निस्क्यो।
भोलिपल्ट आइतबार रुपन्देही बन्द भयो। यस क्षेत्रका व्यवसायीहरु पनि संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिए। उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालको संयोजकत्वमा संघर्ष समिति नै बनाएर प्रदर्शन भयो।
आइतबार साँझ कांग्रेसका कार्यकर्ताले मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा समेत प्रहार गरे। ढुंगा प्रहार गरेको आरोपमा ६ जना कार्यकर्ता पक्राउ परे।
दाङलाई बनाउने प्रस्तावमा सत्तारुढ नेकपा भित्रै पनि असन्तुष्टि चुलिएको थियो। संसदीय दलको बैठकमा १४ जना सांसदले फरक मत नै राखेर विरोध जनाए। तर पनि नेकपाले प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप नै लगायो।
सोमबार बसेको प्रदेश सभा पहिलो बैठकमा विपक्षी कांग्रेसका सांसदहरुले नाराबाजी गरे। नाराबाजी भएपछि केहीबेरमा अर्को बैठक बस्ने गरी प्रदेश सभाको बैठक स्थगित भएको थियो।
दोस्रो बैठक पनि तनावपूर्ण भयो। कांग्रेसका सांसदले नाराबाजी गर्दा गदै सभामुखले पूर्णबहादुर घर्तीले बैठकलाई अगाडि बढाए।
उनले आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई राजधानीको प्रस्तावमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिएका थिए।
अवरोधका बीच मन्त्री केसीले रोष्ट्रममा पुगी बोल्न थालेपछि विपक्षी सांसदहरुले नाराबाजी सहित कुर्सी, टेबुल र माइक तोडफोड गरे।
तोडफोड र नाराबाजी चल्दै गर्दा सभामुखले छलफलको सुरुवात गरेका थिए।
छलफलको सुरुमा बोल्दै सत्तारुढ नेकपाका प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले सरकारले के का आधारमा राजधानीको प्रस्ताव गरिएको भनी प्रश्न गरेका थिए।
रुपन्देहीका सांसद रहेका उनले लोकतान्त्रिक प्रक्रिया नअपनाइकन राजधानीको प्रस्ताव आएको भन्दै चर्को विरोध गरे।
सभामुखले समय सकिएको पटकपटक बताएपनि श्रेष्ठ बोलिरहेका थिए। माइक काटिए पछि पनि बोल्न माग गर्दै हात उठाएर उनी उभिरहे। नाराबाजीका बीच आधादर्जन बढी सांसदले छलफलमा भाग लिए।
नेकपाका अरु सांसदले बोल्न समय मागेपनि सभामुखले छलफल सकिएको घोषणा गर्दै प्रस्तावमा उठेका प्रश्नको जवाफ दिन आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई समय दिए।
संसदमा नाराबाजी गरेकालाई मन्त्री केसीले मर्यादापालकलाई नाराबाजी गर्ने सांसदलाई घिसारेर बाहिर निकाल् भनेको विवादित भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। मन्त्रीले जवाफ दिएपछि बैठक मंगलबारको लागि स्थगित भएको थियो।
प्रदेश सभामा छलफल चल्दै गर्दा यता सडकमा आन्दोलनकारीहरुले बुटवलको नेपालगञ्ज रोडमा धर्ना र प्रदर्शन गरेका थिए।
प्रदेश सभा भवन प्रवेश गर्ने ठाउँ नेपालगञ्ज रोडमा यस क्षेत्रका जनप्रतिनिधी, व्यवसायी तथा दलका कार्यकर्ताहरु बिहानै देखि धर्नामा बसेका थिए। उनीहरुले सडकमा कालो व्यानर राखेर राष्ट्रिय झण्डा सहित प्रदर्शन गरिरहेका थिए।
प्रर्दशनका क्रममा रुपन्देहीका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले प्रदेशका राजधानी सार्ने प्रस्तावमा मतदान नगर्न लुम्बिनी क्षेत्रका सांसदहरुलाई आग्रह गरेका थिए।
प्रदर्शनका क्रममा व्यवासायीहरुले पनि ह्वीप उल्लंघन गरेर भएपनि प्रदेशको राजधानी सार्न नदिन यस क्षेत्रका सांसदहरुलाई आग्रह गरेका थिए। सो अवसरमा कम्युनिष्ट पार्टी समर्थित व्यवसायीले जनभावना विपरित सांसदहरुले राजधानी सार्ने प्रस्तावको पक्षमा मत दिए आफूहरुले पार्टी छाड्ने चेतावनी दिएका थिए।
मंगलबार नेकपा निकट व्यवसायीहरुले पत्रकार सम्मेलन नै गरेर प्रस्ताव पारित भए पार्टीबाट अलग हुने घोषणा गरे।
पत्रकार सम्मेलनमा २ हजार बढी नेकपा निकट व्यवसायीले पार्टी परित्याग गरेको घोषणा गरेका थिए।
आफ्ना पार्टीका सांसदलाई राजधानी सार्ने प्रस्तावको विपक्षमा मतदान गर्न दबाब दिँदै उनीहरुले पार्टी विपक्षमा भोट नहालेमा पार्टी परित्याग गर्ने बताएका थिए।
कार्यक्रममा नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले कांग्रेसका सांसदले ह्वीप उल्लंघन गर्न हुने नेकपाले नहुने भनि प्रश्न गरेका थिए।
उनले अरु ठाउँको राजधानी अस्थायी तोकिएकै ठाउँमा कायम हुनुपर्ने यहाँको किन सार्नुपरेको भनी प्रश्न गरे। व्यवसायीहरुले पार्टी छोडेर स्वतन्त्र भएर बस्ने बताएका थिए।
तर व्यवसायीहरुले ह्वीप उल्लंघन गर्न दिएको दबाबले सांसदहरुलाई छोएन। रुपन्देहीका नेकपाका सांसदहरुले पं्रस्तावको पक्षमा मतदान गरेरै छाडे।
अन्ततः सत्तारुढ दलको मतले राजधानी दाङ सार्ने प्रस्ताव दुइ तिहाइ बहुमतले पारित भयो। राजधानी सर्ने प्रस्ताव पारित भएपछि नेपाली कांग्रेसले कालो दिन भएको बताएको छ। उसले साँझ व्ल्याक आउट समेत गरेको छ।
प्रदेश सभाबाट यसरी पास भयो राजधानी र नाम
झण्डै साढे २ वर्षको प्रतिक्षापछि प्रदेश ५ को नाम र स्थायी राजधानीको टुंगो लागेको छ। मंगलबार बसेको प्रदेश सभाले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी राख्ने टुंगो लगाएको हो।
आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा पेश गरेको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव दुइ तिहाइले पारित भएको हो।
प्रदेश सभामा भएको मतदानमा दाङको देउखुरीलाई राजधानी राख्ने प्रस्तावको पक्षमा ६९ मत र विपक्षमा १३ मत परेको थियो।
प्रदेश सभाका ८७ सांसद मध्ये ८२ जनाले मतदानमा भाग लिएका थिए। सत्तारुढ नेकपाका सबै सांसदले पक्षमा मतदान गरेका थिए।
नेपाली कांग्रेसका १९ जना सांसद मध्ये १३ जनाले विपक्षमा मतदान गरेका थिए। बाँकीले दाङको पक्षमा मत दिएका थिए। त्यसै गरी प्रदेशको नामाकरण लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत र ४ मत परेको थियो।
प्रस्ताव पारित भएको घोषणा गर्दै सभामुख पूर्णबहादुर घर्तीले अब ५ नम्बर प्रदेशलाई बिदाइ गरेर लुम्बिनी प्रदेशको पहिचान स्थापित गरेको बताए। उनले केही ढिला भएपनि परिपक्व निर्णय भएको उल्लेख गरे।
प्रस्तावका सम्बन्धमा ३ वटा संसोधन प्रस्ताव पेश भएको थियो। मूल प्रस्ताव पारित भएपछि संसोधन प्रस्ताव खारेज भएको सभामुख पूर्ण बहादुर घर्तीले बताए।
राजधानी र नामाकरणको टुंगो लगाएसँगै प्रदेश सभाको छैटौं अधिवेशन पनि अन्त्य भएको छ।