गुल्मी । गुल्मी जिल्लामा करोडौका सरकारी गाडी प्रयोग विहिन बन्दै गएका छन । सामान्य मर्मत गरेर चलाउन सकिने सरकारी गाडीहरु समेत मर्मत नगर्दा प्रयोगविहीन भएका हुन ।
कतिपय सामान्य मर्मत गर्दा चलाउन सकिने र लिलाम गर्दासमेत राम्रो मूल्य पर्ने अवस्थाका गाडी सरकारी कार्यालयकै बेवास्ताले कामै नलाग्ने अवस्थामा पुगेका छन । मर्मत वा लिलाम नहुँदा साढे सात करोडका सरकारी गाडी काम नलाग्ने बन्दै गएका हुन । राम्रा र सवैभन्दा धेरै सरकारी गाडी जिल्ला समन्वय समितीको परिसरमा रहेका छन । यहाँ ५ सरकारी सवारीका साधनहरु लामो समयदेखि सामान्य मर्मत तथा लिलाममा विक्रि नगरि चारवटा ल्यान्डरोभर कम्पनीका गाडी र एउटा मोटरसाइल बिग्रिएका छन । तत्कालीन जिविसका मात्रै करिब ६ करोडका चार गाडीहरु कवाडीका मुल्यमा समेत विक्रि नगरेर यत्तिकै थन्काइएको छ ।
रिसरमा रहेका गाडीहरुमध्ये एउटा बनाए बन्ने अवस्थामा रहेको छ । जिविसलाई ०६० सालमा गार्डेपले ल्याडरोभर कम्पनीका दुई गाडी दिएको थियो । ती गाडीको खरिद मिति समेत जिन्सी किताबमा उल्लेख छैन । तत्कालीन मूल्य ४० लाख रुपैया रहेको बताइएपनि अहिलेको बजार मूल्य डेढ करोड रहेको छ । सोही कार्यालयमा नम्बर प्लेट नै नभएका ल्याडरोभर कम्पनीका अन्य दुई गाडी समेत रहेका छन ।
तर यहाँ रहेका यी पुराना सवारीका साधनको कार्यालयमा गाडी हस्तान्तर वा थन्किएको कुनै अभिलेख छैन । यस्तै डिभिजन वन कार्यालय गुल्मीमा दुई मोटरसाइकल बिग्रिएको अवस्थामा रहेका छन । कार्यालयको कुनामा भएकाले बिग्रिएको मोटरसाइकल सहजै देखिँदैन । मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्थामा भएपनि यसतर्फ पनि कार्यालयले कुनै चासो देखाएको छैन । वरु नयाँ मोटरसाईकल खरिद गरेर कर्मचारीहरुले प्रयोग गदै आएका छन ।
यस्तै नेपाल टेलिकमको भवनअगाडि बुल डोजर वर्षौदेखि अलपत्र अवस्थामा थन्किएको छ । लामो समय जिल्ला समन्वय समितीकै परिसरमा रहेको उक्त डोजर केही बर्ष अगािड नेपाल टेलिकमको परिसरमा सारिएको हो । अहिलेसम्म कुनै कार्यालय वा व्यक्तिले डोजरको दाबी नगरेको कार्यालय प्रमुख रुकमांगत सापकोटाले जानकारी दिए । सडक विभागको डोजर हुन सक्ने प्रमुख सापकोटाले बताए । फलामको चेनवाला बुल डोजरको मूल्य अहिले एक करोड पर्ने डोजरचालक मेघराज नेपालीले बताए ।
यता जिल्लाकै एक मात्र सरकारी अस्पता जिल्ला अस्पतालमा दुईवटा एम्वुलेस वर्षौदेखि थन्किएका छन । लामो समयदेखि अस्पताल एम्बुलेन्स विहीन हुदाँ समेत मर्मत गरेर प्रयोग ल्याइएको छैन । कार्यालय एम्बुलेन्स आवश्यक भएमा अन्यलाई गुहारेर काम चलाउने गरिएपनि थन्किएका एम्बुलेन्स गरेर सञ्चालनमा ल्याउने कुनै प्रयास गरिएको छैन । अस्पताल परिसरमै सुजुकी कम्पनीको लु.१ झ २७९ नम्बरको एम्बुलेन्स सात वर्ष पहिले सिमीचौरमा दुर्घटना भएदेखि एम्बुलेन्स अस्पतालमै थन्किएको अस्पताल प्रमुख उत्तम पच्याले बताए ।
अर्को लु.१ झ २३५ नम्बरको एम्बुलेन्सको कम्पनी पत्ता लाग्दैन । दुवै एम्बुलेन्सको खरिद मिति र मूल्यबारे अस्पताल बेखबर छ । अस्पताल प्रमुख डाक्टर पच्याले पहिलेदेखि नै बिग्रेका एम्बुलेन्स रहेको र नयाँ एम्बुलेन्स खरिद प्रक्रिया सुरु नै नभएको प्रतिक्रिया दिए । उनले अस्पताललाई एम्बुलेन्स अत्यावश्यक भए पनि अहिले अन्य संस्थाका एम्बुलेन्सले सेवा दिइरहेको हुँदा बिरामी मर्कामा भने नपरेको उनले बताए । करौडौका सरकारी साधनहरु मर्मत नगरि लामो समयदेखि थन्काएर कार्यालयहरुले नयाँ गाडी खरिद गरेर प्रयोगमा ल्याउनु कर्मचारीहरुको खेलचारी भएको नागरिक समाजका अध्यक्ष पदम पाण्डेले बताए । मर्मत गरेर प्रयोगमा त ल्याएनन ल्याएनन पाण्डे भन्छन“-कवाडीको मुल्यमा लिलाम गरेर यसैको रकमवाट अन्य गाडी त खरिद गर्न सकिन्थ्यो ।” उनले सरकारी कर्मचारीको काम कहिले जाला घाम भन्ने यस्तै भएर उखान वनाएको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले आफुहरू निर्वाचितभन्दा धेरै वर्ष पहिलेदेखि गाडी अहिलेकै अवस्थामा भएकाले केन्द्रबाटै गाडीको उचित व्यवस्थापन गर्नुपर्ने धारणा ब्यक्त गरे । लामो समयदेखि नै यहाँ यी गाडीहरु थन्किएका हामीले देखेका हौ -उनले भने“ जिल्लावाट पहल गरेर मिल्ने भए ब्यवस्थापनमा लाग्छौ ।” आर्थिक कार्यविधी नियमावली २०६४ को परिच्छेद ७ मा लिलाम बिक्रि सम्बन्धी व्यवस्था गरिएको छ । जसमा काम नलाग्ने देखिएका मालसामानहरु लिलाम विक्री गर्ने, मर्मत गर्नुपर्ने दायित्व सम्बन्धित कार्यालय प्रमुखको हुने उल्लेख गरिएको छ । तर गुल्मीका कुनै कार्यालय प्रमुखहरुले त्यो परिच्छेद हेरेका छैनन् । यस बिषयमा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भने आफु भर्खरै जिल्ला आएकाले सवै बुझेर बताउने बताए । के रहेछ म सवै बुझ्न भ्याएको छैन उनी भन्छन-“सवै कार्यालयमा रहेका पुराना सवारीका साधनहरुको ब्यवस्थापन हुन्छ ।”