बुटवल । बुद्धजन्मस्थल लुम्बिनी स्थित राजकीय बुद्ध विहारमा सोमबार कथिन उत्सव सम्पन्न भएको छ ।
भिक्षुहरूको विनय अनुसार असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म तीन महिनासम्म बर्षाबास बसेका उपासक उपासिका तथा दाताबाट भिक्षुलाई नयाँ चिवर उपहार स्वरुप प्रदान गरेर कथिन चिवरदान उत्सव गरिएको हो ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाकी मिना गुप्ता र कपिलबस्तु तौलिहवाका विजयलक्ष्मी गुप्ताले कथिन चिवरदान गर्नुभएको हो । भिक्षुहरुले तीन महिना वर्षवास सम्पन्न गरेपछि उपासक उपासिकाबाट गरिने ‘कथिन चिवरदान’ लाई उत्सवका रुपमा मनाउने गरिन्छ । शाक्यमुनि गौतमबुद्ध पनि वर्षावास बसेको अनुयायीद्वारा विश्वास गरिन्छ । बौद्धधर्ममा लाग्नका लागि सम्बन्धित नीति नियमको पालना गरी विभिन्न अभ्यास गर्नुपर्ने हुन्छ ।
चिवरदान कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बुद्धका उपदेशहरुको पालना गर्दै लुम्बिनीमा यस्ता धार्मिक गतिविधिले समुदायलाई जोड्ने काम गरेको बताउनुभयो । उहाँले लुम्बिनी गुरुयोजना भित्र रहेका विहारहरुको धार्मिक गतिविधिले पर्यटन प्रवद्र्धनसँगै साँस्कृतिक प्रवद्र्धन गर्ने बताउनुभयो । कोषका तर्फबाट स्थानीय समुदायलाई जोड्ने गरी स्थानीयसँग लुम्बिनी भन्ने नीति लिइएको समेत कोषाध्यक्ष भट्टराईले बताउनुभयो ।
राजकीय बुद्ध विहार लुम्बिनीका प्रमुख भन्ते सागरधम्मले धर्मदेशना दिँदै भिक्षु जीवनमा कथिन उत्सवको ठुलो महत्व रहने बताउनुभयो । उहाँले ‘कथिन चिवर दान’ गर्नाले दातालाई कुनै पनि हानी नोक्सानी नहुने जनाउँदै शील समाधी र प्रज्ञाको भावना विकास हुने बताउनुभयो ।
उहाँले यस्ता उत्सवले सबै धर्मका समुदायलाई जोड्ने बताउँदै लुम्बिनीमा राजकीय विहारले विगत आठवर्षदेखि यसलाई निरन्तरता दिइएको बताउनुभयो । यो बौद्ध परम्परा मात्र नभइ व्यक्तिको जीवनपद्धती बदल्ने संस्कार हो भन्नुभयो ।
कार्यक्रममा लुम्बिनी बौद्ध महिला समितिका सल्लाहकार निरु गौतमले बुद्ध शिक्षालाई अंगालेर जीवन परिवर्तन गर्न यस्ता उत्सवहरु सहयोगी बन्ने बताउनुभयो । उहाँले बौद्ध परम्परा भए पनि यसले सबै जाती र सम्प्रदायका व्यक्तिलाई जोडने भएकाले यसको जगेर्ना गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।
अध्यक्ष विष्णुकुमारी बस्याल र सचिव इन्दिरा नेपालले बौद्ध शिक्षाबारे स्थानीयलाई जागरुक बनाउन विहारमा नियमित कार्यक्रम गर्दै आएको बताउनुभयो ।
सोही अवसरमा बुद्ध शिक्षा र बुद्धका उपदेशहरुको अभ्यास र प्रवद्र्धन गरेको भन्दै लुम्बिनी विकास कोषका लेखा प्रमुख भिम बस्नेत, बर्षाबास संयोजक माया गुरुङ, विराहा गीतका सर्जक चेतराम हरिजन र पर्यटन डिभिजन कार्यालयलाई सम्मान गरिएको थियो ।
‘कथिन चिवर दान’ उत्सवमा विभिन्न बौद्ध विहारका प्रमुख, भिक्षु भिक्षुणी, गुरुआमा, उपासक, उपासिका, लुम्बिनी विकास कोष, बौद्ध महिला र युवा समिति तथा विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
उक्त अवसरमा कथिन चिवरदान, अष्टपरिष्कार दान, चिवरदान, संघदान गरिएको थियो । बिहान श्रीलंका विहारबाट केन्द्रीय नहर, शान्तिदीप हुँदै राजकीय बुद्धविहारसम्म ¥याली निकालिएको थियो ।
