काठमाडौं। काठमाडौँ उपत्यकामा मात्रै १३ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उपत्यकामा मात्रै १३ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा रहेकामध्ये सात जना आइसियु र चार जना भेन्टिलेटरमा उपचाररत छन्।
आइतबार २४ घण्टामा देशभरका प्रयोगशालाबाट १२ सय १६ जनाको कोरोना परीक्षण गर्दा ५५ जनामा कोरोना पुष्टि भएको थियो। सोही समयमा ११ जना सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ २६ हजार ९७६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले कोरोना नियन्त्रण गर्न सही तरिकाले मास्क लगाउन आग्रह गरे ।
पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गर्दै उनले काठमाडौँका स्थानीय तहले पनि आवश्यकता अनुसार विभिन्न ठाउँमा खोप प्रदान गरिरहेको जनाए ।
केही दिनअघि गरिएको अनुवांशिक अध्ययनमा नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखा परेको छ।
मन्त्रालयले सङ्क्रमणको लक्षण देखिने बित्तिकै परीक्षण गराउन र आइसोलेसनमा बस्न अनुरोधसमेत गरेको छ।