काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र) सहितको ९ दलीय गठबन्धनमा सत्ता सञ्चालनका लागि मन्त्रालय संख्यामा समझदारी बनेको छ । सहमतिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेको जनाइएको छ । संभवत आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने नेताहरूको दाबी छ । मन्त्रिपरिषद् विस्तार र सपथबारे प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयलाई समेत अनौपचारिक जानकारी गराइसकेको छ ।
माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार कांग्रेस ८, माओवादी ५, जसपा २, एकीकृत समाजवादी २, लोसपा १, नागरिक उन्मुक्ति १, जनमत १ (राज्यमन्त्रीसहित), आमजनता १ र नेसपाले १ मन्त्रालय लिने सहमति भएको छ । माओवादी नेता श्रेष्ठले सम्हालिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एकीकृत समाजवादीलाई दिन प्रधानमन्त्री दाहाल सकारात्मक भएको जनाइएको छ । श्रेष्ठलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । गृहमा माओवादीकै अर्का नेता शक्ति बस्नेतको पनि दाबी छ । एकीकृत समाजवादीलाई अर्को मन्त्रालय कुन दिने भन्नेमा सहमति भइसकेको छैन । प्रधानमन्त्री दाहालले शिक्षा र कृषिमध्ये एक मन्त्रालय दिने प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीले बेदुराम भुसाल र प्रकाश ज्वालालाई मन्त्री बनाउने निर्णय गरिसकेको छ ।
गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षासहित ८ मन्त्रालय पाउने भएको छ । कांग्रेसले सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमध्ये एक पाउनुपर्ने अडान राखेको छ । यी दुई मन्त्रालयमा माओवादी र अन्य साना दलको पनि दाबी छ । कांग्रेसको भागमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, स्वास्थ्य, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुदमध्ये एक पर्न सक्ने सम्भावना छ । कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान समीकरण निर्माणमा भूमिका खेलेका उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीबाट सरकारको नेतृत्व गरेर पठाउने भएका छन् तर अर्थ मन्त्रालयको जिम्मेवारी पार्टी प्रवक्ता प्रकाशशरण महतलाई नै दिने भएका छन् । देउवाले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका महतलाई अर्थको जिम्मेवारी दिने वचन दिइसकेको कांग्रेस नेताहरू बताउँछन् । खड्काले पनि सोही मन्त्रालयमा दाबी गर्दै आएका थिए । उनी उपप्रधानसहित रक्षा मन्त्रालय लिएर सरकारमा सहभागी हुन सक्ने सम्भावना छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार आज नैं सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने तयारी छ ।