हुन त विष्णुप्रसाद पौडेल यहाँको मात्र नभई मुलुककैे नेता हो । पार्टीमा संकट आइपरेको समयमा होस् या राज्य प्रणालीमा सुधार ल्याउने विषयमा होस् ।समृद्धिका खाका बनाउँदा होस् वा पार्टीमा विसंगति विरुद्ध लड्दा होस्,उनको खाँचो अहिलेसम्म परिरहेको छ ।
उनी ओलीपछिका दोस्रो नेता हुन् र मुलुककै सम्भावित प्रधानमन्त्री पनि हुन् । उनले दुई दुई पटक अर्थमन्त्री हुँदा आफ्नो योग्यताको राम्रो पहिचान दिएका छन् । त्यसैले हामीले उनको आवश्यकतालाई मध्यनजर गरेर यो निर्वाचनमा संघीय साँसदमा जिताएर पठाउँदैछौं । उनलाई तत्काल अर्थमन्त्री बन्नको लागि कैयांै अर्थविद, उद्योगपति र व्यवसायीहरुले लबिङ्ग गर्न थालिसकेका छन् । यो रुपन्देहीबासीको लागि खुसी र गौरवको सन्देश हो । यसो भएमा बृहद् लुम्बिनी मेघासिटीको सपना पूरा गर्न सम्भव छ ।
जनसंख्याविदहरुले आगामी बीस वर्षमा रुपन्देहीको जनसंख्या बढेर चालीस लाख हुने अनुमान प्रक्षेपण गरेका छन् । त्यो अहिले काठमाण्डौ उपत्याकामा रहेको जनसंख्या बराबर हो । काठमाण्डौ प्लानेड सिटी हैन । त्यो आवश्यकताले जन्माएरस्वतःस्फूर्त बनेको सिटी हो । त्यसैले त्यहाँ धेरै कुरा अव्यवस्थित देखिन्छ । तथापि अनेक उपाय गरी अहिले राज्यले धेरै सुधार गरेको छ । अहिले काठमाण्डौका हरेक नदीहरुमा करिडोर निर्माण गरिएको छ । नदीकटानबाट रोक्ने काम भएको छ । वातावरणीय प्रदूषण्बाट रोक्ने काम भएको छ । काठमाण्डौ राम्रो बन्दैछ ।
त्यसैले हाम्रो बृहद लुम्बिनी मेघासिटीको संरचना अहिलेदेखि सोंच्नु पर्छ । किनकि यो क्षेत्र खाली छ, आवाद भइसकेको छैन । गुरुयोजना बनाउन सकिन्छ । त्यसैले यसको गुरुयोजनासहितको डिपिआर बनाउँदा विश्वका लेटेस्ट सहरहरु बराबर बनाउन सकिन्छ । तर विश्वका अन्य सहरहरुको हुबहु नक्कल सम्भव छैन । हाम्रो भूगोल, जनसँख्याको चाँप, बहुजातीय, बहुधार्मिक, बहुसँँस्कृतिक समाज र तिनीहरु बीचको भाइचारालाई हेरेर सबैको पहिचान र सम्मानलाई पनि केन्द्रमा राखेर गुरुयोजना बनाउनु पर्छ र त्यसैको आधारमा डिपिआर बनाउनु पर्छ । नेपाली विशिष्टतामा बनाउनु आवश्यक छ । बृहद लुम्बिनी नेपाली विशिष्टतामा बन्दैछ । अब हेरौ बृहद लुम्बिनी मेघासिटी कस्तो छ त ?
बृहद् लुम्बिनी मेघासिटीकोगुरुयोजना बनाउँदा सहरी क्षेत्र, कृषि क्षेत्र, औद्योगिक क्षेत्र, वन क्षेत्र, सीमसार क्षेत्र छुट्याएर बनाइँदैछ । यही प्रक्रियाका आधारमा भूउपयोग तथा पूर्वाधार विकासमा आजैदेखि ध्यान पुराउनु पर्छ । यो विषयमा विष्णुप्रसाद पौडेल र उहाँको विज्ञ टिमको परिकल्पना निकै महत्वपूर्ण छ । हामी यसलाई विश्वका महत्वपूर्ण सहरहरुभन्दा आधुनिक सहर बनाउन सक्छौं । यस काममा एशियाली विकास बैंकले पहल थालिसकेको छ ।
विज्ञहरुले रुपन्देही, नवलपरासी कपिलवस्तु जिल्ला र पाल्पाको तिनाउ गाउँपालिकालाई समेत जोडेर पश्चिम क्षेत्र आर्थिक करिडोर खासगरी पर्यटनमा आधारित करिडोर बनाउन निश्कर्ष निकालेपछि बृहद् लुम्बिनी मेघासिटीको गुरुयोजनाप्रक्रिया आगाडि बढेको छ । त्यो विषयलाई यो वर्षदेखि प्रतिबद्धता पत्रमा समावेश गरिएको छ ।
एशियाली विकास बैंकको सहयोगमा नेपालका पाँचवटा क्षेत्रमा आर्थिक केन्द्र बनाउने सम्भावनासहित सहरी विकास मन्त्रालयले २ वर्ष अघिदेखि अध्ययन थालेको थियो । अध्ययन भएका पाँचवटा क्षेत्रहरुमध्ये तत्कालका लागि विराटनगर, धरान, इनरुवा, दमकसम्मको क्षेत्रलाई ओेैद्योगिक आर्थिक करिडोर र पश्चिममा बर्दघाटदेखि शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहद् लुम्बिनी पर्यटन केन्द्रका रुपमा विकास गर्न सकिने निष्कर्ष निकालेको हो । आर्थिक करिडोरको अध्ययनसँगै ती क्षेत्रहरुको गुरुयोजना निर्माणको प्रक्रिया समेत अगाडि बढाइएको छ । अब गुरुयोजना तयार भएकोले डिपिआरको लागि परामर्शदातासमेत छनौट भएको छ । यति महान सपना र त्यसको तयारी भइरहँदा आम जनतामा यसको प्रारुपको विषयमा जानकारी नहुनु विडम्बना हो ।
बृहद लुम्बिनी गुरुयोजना भित्र ४० जति योजनाहरु छानिएको छ । ती चालीस योजनामध्ये १२ जति योजनाहरुको डिपिआर बनाउने तयारी छ । यसमा सहर, सडक,पुललगायतका योजना छनोट गरिएका छन् । यस मेघासिटीभित्र दशवटा आधुनिक सहर बनाउने लक्ष्य रहेको छ । सरकारको लक्ष्य योजनाहरुको डिपिआर सक्ने र एडिबीसँग सम्झौता गरी तत्काल कार्यान्वयन गर्ने रहेको छ । यो काम सहरी विकास मन्त्रालयले गर्नेछ । अहिलेसम्मका आयोजनाहरु जनताको आवश्यकता र मागको आधारमा निर्माण भएका हुन् । अब अन्तरराष्ट्रिय विज्ञहरुको सल्लाहमा पर्यावरण मैत्री सहर निर्माण गरिनेछ । यसमा हामीलाई एडिबीले सघाउने छ । एडिबीले अन्तरराष्ट्रिय एयरपोर्ट निर्माण गर्ने त्यससँग सडक सन्जाल बनाउने र पर्यटकीय क्षेत्रहरुबाट अरबौ कमाउन सकिने योजना बनाएको छ । एडिबी ऋण मात्र दिदैन, भोलिका दिनहरुमा त्यो ऋण तिर्नसक्ने आधारको क्षेत्र छनोट गरी लगानी गर्छ । यसमा खर्बौ लगानी हुन्छ । आम्दानी पनि त्यही अनुपातमा हुन्छ । त्यसैले पूवाधार बनाउँदा लगानी गर्न डराउनु हुँदैन ।
मेघासिटी बनाउँदा एकीकृतबस्ती र रुपान्तरणकारी पूर्वाधार निर्माणमा त्रिवेणी बर्दघाट, रामग्राम, बुटवल, तिलोत्तमा, देवदह, सिद्धार्थनगर लुम्बिनी, सैनामैना,मर्चवार, तौलिहवा, तिलौराकोट, कृष्णनगर, बहादुरगन्ज,चन्द्रोटा, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहद् लुम्बिनी मेघासिटी बनाउने लक्ष्य छ। कोरिएन प्रफेसर क्वाकले लुम्बिनीको गुरुयोजना नेपाल सरकारलाई बुझाई सकेका छन् । त्यो कार्यान्वयनमा जाने छ ।
बृहद् लुम्बिनी मेघासिटीको गुरुयोजना अनुसार नै अघि बढ्ने छ । तिलौराकोट रामग्राम, देवदह, सैनामैनालगायतका ऐतिहासिक एवं पुरातात्विक महत्वका बुद्धकालीन सम्पदा क्षेत्रको उत्खनन्, संरक्षण विकास गरिने योजना छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानास्थलसँग जोड्ने सडक सन्जाल, तिलौराकोटको उत्खनन गरी ३ हजार वर्ष पुरानो शैलीको सहर बनाउने, रामग्राम र सैनामैनामा पूरातात्विक तथा साँस्कृतिक सहर निर्माण गर्ने,प्रदूषणसहित विद्युतीय रेल सेवा सन्चालन गर्ने, साँस्कृतिक पुरातात्विक सम्पदाहरुको संरक्षण संवद्र्धन गर्ने, तिनाउ, कन्चन, रोहिणी दानव वाणगंगा, रामघाटलगायतका सबै नदीहरुको तटबन्धसहितको करिडोर सडक निर्माण गरी हरियाली पार्क निर्माण गर्ने योजना रहेका छन् ।उक्त गुरुयोजनामा आधारित सडकहरु उत्तर दक्षिण, पूर्व पश्चिम जाँदा एकघण्टामा पुगिने बनाइएको छ ।
पुनरचनापछि अहिले नेपालमा तीनप्रकारका सरकारहरु छन् । मेघा सिटीमा अलग अलग नगरपालिकहरु स्वायत्त रुपमा रहन्छन् । यी स्वायत्त सरकारहरु बिच समन्वय गरेर डिपिआरमा उल्लेख भए अनुसारको संरचनाको रोडम्याप बनाएपछि कार्यान्वयनमा जान सहज हुनेछ । आवश्यक परेमा बहुसाँस्कृतिक, बहुभाषिक, बहुजातीय सहर भएकोले भाषिक,जातीय, तथा साँस्कृतिक क्लष्टरहरु पनि छुट्याउन सक्छौं । बहुजातीय चाडपर्व, भेषभूषाकला, साहित्य, संस्कृतिहरुको व्यवस्थित विकास गर्न सक्छौं । यस्तो गर्न विभिन्न जातीय संग्राहलयहरु बनाउने योजना छ । बृहद् लुम्बिनी मेघासिटीकै लागि विशाल कृषि उपज संकलन केन्द्र कर्साघाटमा बनिरहेको छ । बिसाल सीमसार क्षेत्रहरु खसगरी जगदीशपुर तालजस्ता अन्य सबै तालहरुको पूर्ण संरक्षण हुनेछ । यो मेघा सिटीको लागि रामापिथेकस जियोलोजिकल पार्क बनाउने योजना छ । यसपार्कमार्फत वन्य जन्तुहरुको संरक्षण वानस्पतिक विविधताको संरक्षणको लागि विशेष रुपमा सोंचिएको छ ।
यो बिल्कुल दीर्घकालीन योजना हो । दीर्घकालीन योजनालाई तत्कालीन योजनाजस्तो ठानेर प्रचार गर्ने र छिटो भएन भनेर राजनीतिक दल र तिनका नेताहरुलाई गाली गलौच गरिहाल्नु मनासिव हैन । बीस पच्चीस वर्ष पछि आवश्यक तिनाउँ पथान्तर योजना आजैदेखि किन बनेन भनेर हल्ला गर्नु हुँदैन । यस्ता कुराहरुबाट हामी जोगिदै जानु पर्छ । गण्डकी तिनाउ पथान्तर (डाइभर्सन)लाई प्रतिबद्धता पत्रमा लेख्न छोडिएको छैन । त्यो दीर्घकालीन लक्ष्यसहितको विशाल योजना हो । त्यो योजना छोड्न पनि हुँदैन । गण्डकीपारिको सरकारलाई देखाएर दिदै दिन्न भन्दै हल्ला गर्नेहरुले सीमा नदीहरुमा आधा पानीको हक लाग्छ भन्ने सम्झनु पर्छ । त्यस्तै यो सहर पनि तत्काल बनिहाल्ने हैन, तर अहिलेदेखि गुरुयोजना बनाउँदै गयौ भने संघ प्रदेश र स्थानीय सरकार पनि त्यसै गुरुयोजनामामा आधारित डिपिआरसहितको रोडम्यापमा टेक्दै अघि जानेछ । आगामी बीस वर्षमा उक्त मेघा सिटी बन्न सम्भव छ ।
यस सहरलाई राजधानी लगायत अन्तरराष्ट्रिय सहरहरुसँग जोड्ने गरी अरु सुविधासम्पन्न अन्तरराष्ट्रिय विमानास्थल सञ्चालन गरिने लक्ष्य रहेको छ । दोस्रो चरणमा भैरहवा एयरपोर्टमा अन्तरराष्ट्रिय टर्मिनल भवन, समानान्तर ट्याक्सी वे, बनाउँदै नेपाली उत्पादनलाई अन्य मुलुकमा निर्यात गर्न सजिलो बनाउने लक्ष्य छ ।अनि यस सहरको उत्तरपट्टि पूर्वपश्चिम लोक मार्गबाट नारायणघाट, बुटवल, गोरुसिङगे चन्द्रौटासम्म जोड्ने ६ लेनको चौडा सडक बनाउन डिपिआर बन्दैछ । दाउन्नेमा पनि सुरुङ्ग मार्ग बनाउने प्रस्ताव गरिएको छ । त्यसरी नै शान्ति सहरलाई पोखरासम्म जोड्नको लागि विभिन्न ठाउँमा सुरुङ्गसहितको डेडिकेटेड डबल लेनको सडक विस्तार गरिने लक्ष्य छ । विद्युतीय रेल मार्गको डिपिआर बनिरहेको छ । यसले बृहद् लुम्बिनी मेघासिटीलाई ठूलो टेवा पुराउन सक्छ । त्यसरी नै सीमान्त क्षेत्रमा पूर्वपश्चिम हुँदै बन्दै रहेको हुलाकी राजमार्गले शान्ति सहरलाई पूर्वपश्चिम जोड्नेछ ।सीमान्त क्षेत्रको विकासमा यो मेरुदण्ड बन्ने छ । बुटवलको तिनाउ नदीमा एउटा विश्वस्तरको नमुना पुल सिङ्गनेचर ब्रिज बनाइनेछ ।
अब हामी निजी क्षेत्रबाट बन्दै रहेका केबुलकारबाट सहजै नुवाकोट र वसन्तपुरको हिल स्टेशनमा जान सक्छौं । त्यसले यो क्षेत्रमा लाखौ पर्यटकहरु ओइरिनेछन् । बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, लुम्बिनीमा आधुनिक ट्राफिक लाइट जडान गरिनेछ । यातायातका साधनहरुमा जिपियस प्रणाली जडान गरिनेछ । यातायातको विकासका साथ आवश्यकताका आधारमा बस टर्मिनलहरु बन्नेछन् । तत्कालका लागि तिलोत्तमा र सैनामैनामा बस पार्कहरुको निर्माण गरिनेछ ।यी सब कामहरु स्थानीय र प्रदेश सरकारको पहलबाट हुन सक्छन् । आगामी बीस वर्षमा त हामीले नचिताएको काम पूरा गर्नेछौं । यसमा निजी क्षेत्रको सहभागिताले पनि हामीलाई जुरुक्क उठाउने छ ।
यो बृहद् लुम्बिनी मेघासिटीमा रहेको कृषि क्षेत्रको व्यवस्थित विकासको लागि तिनाउ नदीले सम्भव छैन । हामीलाई खानेपानीको लागि मात्र करोडौं लिटर पानी चाहिन्छ । अनि सिंचाईको आवश्यकता पनि हुनेछ । यसको लागि विष्णुप्रसादपौडेल र उहाँको टिमले गण्डकी डाइभर्सनको कुरा अगाडि सारेको छ । त्यसबाट आउने पानी चुरेको फेदीबाट एउटा पूर्वतिर र एउटा पश्चिमतिर जाने नहर बन्ने छ । यो विशाल सहरको बीच बीचमा विशाल तलाउहरु पनि बन्ने छन् । नदीहरुमा ड्याम बाँधेर पानीको आवश्यकता पूरा गर्न सकिन्छ । पर्यटकहरुलाई स्टिमर चलाएर आनन्द दिन सकिन्छ । सोह्र छत्तीस कुलाहरुमा ¥याफ्टिङ्ग सन्चालन गर्न सकिन्छ । हालमा ठूला ठूला तालहरुलाई अरु व्यवस्थित बनाउनु पर्छ । शुद्ध खानीपानीको लागि गण्डकी डाइभर्सन निकै उपयोगी हुनेछ । यो क्षेत्र हामीले सोंचेभन्दा निकै सुन्दर बन्नेछ ।
यस सहरमा लुम्बिनी बौद्ध विश्व विद्यालय, महेन्द्र संस्कृत विश्व विद्यालय, त्रिभुवन विश्व विद्यालयका साखाहरुका साथैबहु प्राविधिकि विश्व विद्यालय, वाणिज्य विश्व विद्यालय, बहुविषयक मेडिकल कलेजहुनु पर्छ । त्यसको लागि आजैदेखि डिपिआर बनाउनु आवश्यक छ । डिपिआर बनाउँदै कार्यान्वयन गर्दै जाने कामले हामी अबको बीस वर्षमा ४० वटै योजनाहरु कार्यान्वयन गर्दै लक्ष्यमा पुग्न सक्छौं ।
यसको लागि अब केही वर्षभित्र कस्तो बन्दैछ, लुम्बिनी मेघा सिटी ?भनेर जान्न र हेर्नको लागि थ्रिडी हाउस बन्ने छ । त्यहाँ गएर हेरेपछि बीस वर्षमा बन्ने बृहद लुम्बिनी मेघा सिटीको परिदर्शन गर्न सकिन्छ । त्यो हाउस बुटवलमा राखिनेछ । त्यसैको लागि टिकट काटेर लाखौले हेर्नेछन् ।हरेक परियोजनाहरुबाट आम्दानी लिन सक्ने व्यवसायिक दृष्टिकोण बनाउन सक्ने हो भने उक्त संरचनाहरु आफै बाँच्छन् । यसबाट विश्वासनीयता पनि बढ्न थाल्छ । सबै तहका सरकारहरुलाई मार्गदर्शन हुन्छ । समृद्धि टाढा छैन हाम्रै पालामा आउँछ ।
अन्त्यमा बृहद् लुम्बिनी मेघासिटी संसारभरका पर्यटकहरुको सहज आगमन हुने सहर हुनेछ । यो सहर शान्तिको सहर भएकोले विश्वयुद्धहरुमा पनि शान्त र ढुक्कका साथ बस्न सकिनेछ । त्यसैले यसको गुरुयोजना तत्काल बनाउँदै प्रदेश सरकार,स्थानीय सरकारको लागि मार्गचित्रको रुपमा लैजानु पर्छ । तिनै प्रकारका सरकारहरुले आआफ्नो क्षेत्रमा गुरुयोजना अनुसार डिपिआर बनाएर कार्यान्वयन गर्न सक्यांै भने हामीले आगामी बीस वर्षमा यो पर्यटनको लागि संसारको सबैभन्दा सहज गन्तव्यकोअत्याधुनिक सहर बन्नेनिश्चित छ । यसबाट हामी सौभाग्यशाली बन्न सक्छौं ।