रुपन्देही – लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा आउने भएका छन् । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा लुम्विनीलाई विशेष प्राथमिकता दिएर एसियाली विकास बैंकको सहयोगमा लुम्विनीमा विजुली बस ल्याइएको थियो ।
सञ्चालनको मोडालिटी तय गर्न नसक्दा यी विजुली गाडी विगत तीन वर्षदेखि थन्किरहेका थिए । बस खरिद हुनु भन्दा अगाडी देखि नै लुम्विनी विकास कोषले यसको सञ्चालनको मोडालिटी बनाउन नीजि क्षेत्रका यातायात ब्यवसायीलाई समेत बोलाएर छलफल गरेपनि उनीहरुले बस चलाउन नदिने धम्की दिएका थिए । त्यसपछि लुम्विनी विकास कोष हच्किएको थियो ।
दशैंको अवसर पारेर तत्कालका लागि बस सञ्चालन गर्ने तयारी गरिएपनि लुम्विनी विकास कोषले बस सञ्चालनका लागि दीर्घकालिन कार्यविधि भने अझै टुंगाएको छैन ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा भैरहवामा बसेको लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका सङ्घ–संस्थाको बैठकले बिहीवारदेखि नै तत्काललाई पाँच वटा बस सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
तत्कालका लागि पाँच वटा बस विभिन्न रुटमा चलाउने र आवश्यक चालक नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपलब्ध गराउने निर्णय भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराइले जानकारी दिनुुभयो । थन्किएका बस निःशुल्करूपमा सञ्चालनमा आएसँगै चाडपर्वका बेला आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।
तत्काललाई बेलहियादेखि गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी, रामग्रामदेखि बेलहिया हुँदै लुम्बिनी, बुटवलबाट भैरहवा हुँदै लुम्बिनी, लुम्बिनी हुँदै तिलौराकोटसम्म बस सञ्चालन हुने छन् । कोषले सबै बिजुली बस तथा भ्यान यही असोज १५ गतेदेखि परीक्षण सञ्चालनमा पनि ल्याउने भएको छ ।
मङ्गलवार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभए पनि दशैँको उपलक्ष्यमा केही दिन चार्जिङ स्टेशन र गाडीको मेशिनरी परीक्षणस्वरूप अफिसियल यान्त्रिक परीक्षणका लागि बिजुली गाडी सञ्चालन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । १२ करोड रुपैयाँका पाँच वटा बस र १४ वटा भ्यान (ट्याक्सी) एडीबीले तीन वर्षअघि दिएको थियो ।
अहिले सबै गाडी कोष परिसरको विद्युतीय बसपार्कमा थन्किएका छन । गाडी चार्ज गर्न लुम्बिनीमै दुई वर्षअघि सोलार प्लान्ट समेत जडान भएको छ । तर बस सञ्चालन नहुंदा त्यो परियोजना समेत खेर गइरहेको छ ।
गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएसंगै लुम्विनी घुम्ने पर्यटकहरुको संख्या उल्लेख्य बढ्ने प्रक्षेपण गर्दै तत्कालिन केपी ओली सरकारले एडिवीसंग विद्युतीय बस अनुदान सहयोगका लागि पत्र लेखेको थियो ।