काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम र नियन्त्रणमा सबैको प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
पेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी गैरसरकारी संस्था नेटवर्क (एनएनएन) को आयोजनामा भएको ‘उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै उहाँले कुनै समय नेपालमा नामै नसुनेको डेङ्गुजस्ता रोग हिजोआज देशव्यापी रूपमा फैलिएको भन्दै सबैको प्रयासबाट यस्ता रोगको रोकथाम र नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोग निवारणको क्षेत्रमा हासिल भएका उपलब्धिलाई निरन्तरता दिन र यस प्रकारका रोगको रोकथामका लागि समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्न, शैक्षिक क्षेत्र एवं सञ्चारकर्मीसँग सहकार्य गर्दै यसलाई स्वास्थ्य सेवासँगै एकीकृत गरिन आवश्यक रहेको बताउनुभयो ।
उहाँले सम्मेलनले उपेक्षित उष्ण प्रदेशीय रोगको निवारणको क्षेत्रमा हासिल भएका केही उपलब्धि तथा प्राप्त अनुभवको आदान प्रदान गर्दै यस सम्बन्धमा देखिएका साझा चुनौती सामना गर्नका लागि आवश्यक उपायको खोजी गर्ने कार्यमा सफल हुने छ भन्ने विश्वास लिएको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले विश्व स्वास्थ्य सङ्गठनद्वारा उपेक्षित उष्ण प्रदेशीय रोगको सूचीमा सूचीकृत कुष्ठरोग, रेबिज, कालाजार, हात्तीपाइले, ट्रकोमा लगायतका रोग उन्मूलनका लागि नेपाल पनि लामो समयदेखि प्रयासरत रहेको जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले नेपालमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको बताउनुभयो । उहाँले पाँच वर्षमुनिका शिशु मृत्युदरमा कमी आएको बताउनुभयो । उहाँका अनुसार सन् २००५ मा एक हजार शिशुमा ६१ जना मृत्यु हुने गरेकोमा सन् २०१८ मा घटेर ३८ जना पुगेको छ । उहाँले ५२ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाबाट समुदायमा स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइरहेको बताउनुभयो ।
विश्वव्यापी कोरोना महामारीका कारण दुई वर्षदेखि भौतिक रूपमा हुन नसकेको यो सम्मेलन भर्चुअल माध्यमबाट हुने गरेकामा यस पटक नेपालमा ११ औँ वार्षिक सम्मेलनका रूपमा आयोजना गरिएको हो ।
सम्मेलनका क्रममा आयोजना हुने सामान्य स्वास्थ्य सेवा विषयको मुख्य सत्रमा नेपाल सरकारका उच्च अधिकारी र दक्षिण एसिया एवं पश्चिम अफ्रिकाका स्वास्थ्य क्षेत्रका उच्च व्यक्ति सहभागी हुनुहुनेछ ।
‘स्वास्थ्य प्रणालीमा उपेक्षित गृष्मकालीन रोग–नवीनतम, एकीकृत र सशक्तीकरण’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो सम्मेलनमा उपेक्षित उष्ण प्रदेशीय रोगका लागि विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१–२०३० को मार्गचित्रका बारेमा पनि गहन छलफल हुने बताइएको छ ।
विश्वलाई उपेक्षित उष्ण प्रदेशीय रोगबाट मुक्त राख्न नयाँ अवसर, साझेदारी र अवधारणाको खोजी गर्ने विषयमा पनि सहभागीलाई प्रोत्साहित गर्ने सम्मेलनको उद्देश्य रहेको छ ।