रुपन्देही । बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ । बुटवल– १० रामनगरस्थित बुटवल मण्डपमा नेपालको झण्डा आकारमा एक हजार क्षमताको सभाहल सहितको सम्मेलन केन्द्र निर्माण गरिएको हो ।
अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी आकर्षक भौतिक संरचना तयार पारिएको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख धर्मेन्द्र पन्थीले जानकारी दिनुभयो । “लिफ्ट सुविधासहित अपांगतामैत्री संरचना तयार भएको छ, उहाँले भन्नुभयो, “सभाहलमा फर्निचर, एअर कण्डिसन राख्नेदेखि रङरोगन र विद्युत जडानको काम काम सकिएको छ ”, उहाँ भन्नुहुन्छ ।
अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी आकर्षक भौतिक संरचना तयार पारिएको उहाँले बताउनुभयो । विद्युतका लागि छुट्टै सब–स्टेशन राखिएको छ । ६३० केभीए क्षमताको विद्युत ट्रान्सफर्मर राखिएको छ । सभाहल अगाडि पानीका फोहरासहितको पोखरी निर्माण गरिएको छ । प्रवेश हुने र बाहिरिने गरी ५ वटा अलग–अलग आकर्षक गेट निर्माण गरिएको छ ।
विशिष्ट प्रवेशद्वार र सर्भिस गेट पनि बनाइएको छ । बाँकी ३ वटा गेटमध्ये २ वटाबाट सम्मेलन केन्द्र प्रवेश गर्ने र एउटाबाट बाहिरिने व्यवस्था मिलाइएको छ । बाल उद्यान, कफी सप, रिफ्रेस हल, रजिष्ट्रेशन र टिकट काउण्टरसमेत बनाइएको छ । हलमा ८७२ वटा फिक्स कुर्सी जडान गरिएको छ ।
यो सम्मेलन केन्द्र निर्माणका लागि दुई चरणमा निर्माण पूरा गर्ने गरी २०७१ सालमा ठेक्का सम्झौता गरिएको थियो । सम्झौतामा २०७८ पुस मसान्तसम्म सभाहल बनाइसक्ने उल्लेख भएपनि कोरोना महामारिको प्रभावका कारण केही ढिला भएको हो ।
दोस्रो चरणमा २०७४ सालमा सम्झौता गरी २०७६ कात्तिकसम्मको समयावधि तोकेर काम भएको थियो । पछि २०७९ साल कात्तिकसम्म म्याद थप गरिएको थियो । थप भएको म्यादअगावै २०७८ असारमै निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख पन्थीले बताउनुभयो ।
सम्मेलन केन्द्रको पहिलो चरणको कामलाई रु २३ करोड र दोस्रो चरणको कामलाई रु ८० करोड गरी रु एक अर्ब ३ करोडमा ठेक्का सम्झौता गरिएको आयोजना प्रमुख पन्थीले बताउनुभयो ।
नेपालको झण्डा आकारमा तयार गरिएको सम्मेलन केन्द्र झण्डाको माथिल्लो भागको सूर्यअंकित डिजाइनमा निर्माण गरिएको छ भने दोस्रो चरणमा निर्माण गरिएको भवन झण्डाको तल्लो चन्द्रअंकित डिजाइनमा तयार गरिएको छ ।
पहिलो चरणमा रविना समानान्तर चन्द्र सूर्य जेभी कम्पनीले निर्माणको काम गरेको थियो भने दोस्रो चरणमा आशिष निर्माण सेवाले जिम्मेवारी लिएको थियो । आशिष निर्माण सेवाले २०७४ देखि दोस्रो चरणको काम अघि बढाउने भनिएपनि ०७६ देखि मात्रै काम शुरु भएको थियो ।
पहिलो चरणमा एक हजार क्षमताको मुख्य सभा हल रहेको भवन, दुइटा लेक्चर हल, ६ वटा मिटिङ हल, भिआइपी, भिडिओ अडियो, ट्रान्सलेटर लगायतका कक्ष निर्माण भएका छन् ।
दोस्रो चरणमा निर्माण भएको चन्द्र आकारको भवनमा दुइटा ५०–५० र दुइटा १–१ सय क्षमताका हल छन् । दोस्रो चरणमा सभा हल परिसरको हरियालीसहितको बाटो, फुटपाथ, क्यान्टिन ब्लक, शौचालय, कर्मचारीको लागि तिनतलाको छुट्टै आवास गृह, पार्किङ स्थल, पोखरी, बगैंचालगायतका संरचना निर्माण गरिएको छ ।
साढे दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी २०७१ साल माघ १५ गते सम्मेलन केन्द्रको पहिलो चरणको ठेक्का सम्झौता गरिएको थियो । पहिलो चरणमा रूख कटानमा ढिलाइ हुँदा र नाकाबन्दीका कारण निर्माण सामग्री अभाव भएपछि निर्माणको काम सुस्ताएको थियो ।
२०७८ पुस मसान्तसम्म निर्माणको अवधि रहे पनि सात महिना ढिला गरी सम्मेलन केन्द्र निर्माणको काम पूरा भएको हो ।
बुटवल मण्डपमा रहेको साढे १६ विघा जग्गामध्ये ९.६ विघा क्षेत्रफलमा निर्माण भएको सम्मेलन केन्द्र स्थलमा १३८ बोटविरुवा कटान गरिएकाले त्यसको पूर्ति गर्ने गरी ग्रिनरी बनाउने काम गरिएको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइका इन्जिनियर सुमन दर्लामीले बताउनुभयो ।
आयोजनाले सम्मेलन केन्द्र परिसरमा पर्ने आकाशे पानीलाई समेत त्यही जमिनमा रिचार्ज हुने गरी संरचना बनाइएको जनाएको छ । लुम्बिनी क्षेत्रमा पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तत्कालीन सरकारले ग्रेटर लुम्बिनीको अवधारणा अनुरूप देशकै ठूलो सम्मेलन केन्द्र निर्माणको योजना अघि सारेको थियो ।
योजना निर्माण गर्दा दोस्रो प्राथमिकतामा परेको सम्मेलन केन्द्र निर्माणको योजनालाई योजना आयोगबाट पहिलो प्राथमिकतामा पारी निर्माण प्रक्रियाको काम अघि बढाइएको थियो ।
बुटवल उपमहानगरपालिकाले संरक्षण गर्दै आएको बुटवल मण्डपमा पूर्वतर्फ बुटवल सम्मेलन केन्द्र र पश्चिमतर्फ अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने गरि २०६५ सालमा सरकारले निर्णय गरेको थियो । २०७६ जेठ १३ गते पूर्व अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरी सम्मेलन केन्द्रको काम अगाडि बढाइएको थियो ।
बुटवल मण्डपको १६ विघामध्ये पश्चिमतर्फको ६.४ विघा क्षेत्रमा एक अर्ब दुई करोडको लागतमा बुटवल प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ ।
शहरी विकास तथा भवन निर्माण विभागमार्फत् निर्माण भइरहेको प्रदर्शनी केन्द्र सरकारी स्तरको नेपालको सबैभन्दा ठूलो प्रदर्शनी केन्द्र रहेको दाबी गरिएको छ ।
२७ महिनामा निर्माण सम्पन्न गर्नेगरी गौरी–पार्वती जेभी कम्पनीले ठेक्का सम्झौता गरेको थियो । तर, प्रदर्शनी केन्द्रको काम भने निकै सुस्त छ । सम्झौता सकिन दुई महिना बाँकी रहँदा अहिलेसम्म करीब ६० प्रतिशत काम पूरा भएको छ । दुई महिनामा ४० प्रतिशत काम पूरा नहुने पक्का भएकाले ठेक्का सम्झौता रद्ध गर्नु वा थप गर्नुको विकल्प छैन ।
हाल प्रदर्शनी केन्द्रको ३ वटा ब्लकमा ट्रष्ट निर्माण तथा बी र सी ब्लककमा स्टिलको पिल्लर राख्ने काम भइरहेको छ ।
शुरुआतमै रुख कटानमा ढिलो सहमति पाएपछि काममा पनि असर गरेको थियो । त्यसलगत्तै कोरोना भाइरस महामारी र मूल्यवृद्धिका कारण प्रदर्शनी केन्द्र निर्माणमा ढिलाइ भएको इ. दर्लामी बताउनुहुन्छ ।
उहाँका अनुसार प्रदर्शनी केन्द्र स्थलमा ५ सय २५ वटा रूख कटान गर्नका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत गराउनै ७–८ महिना लागेको थियो ।
निर्माणाधीन प्रदर्शनी केन्द्रको तीन वटा ब्लकमा ८ सय ३८ स्टल सहभागी हुन सक्ने छन् । कवर्ड स्टल रहने भएकाले जुनसुकै मौसम र समयमा पनि प्रदर्शनी आयोजना गर्न सकिने छ ।
बाहिरबाट हेर्दा तीन वटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रलाई आवश्यकताअनुसार अलग–अलग गर्न मिल्ने गरी डिजाइन गरिएको छ ।
प्रदर्शनी केन्द्रमा एक पटकमा १० हजार जनाले अवलोकन गर्न सक्ने छन् भने २० हजार अटाउन सक्ने हल, दुई हजार जनाले एकै पटक खाजा खाना सक्ने गरी फुड कोर्ट निर्माण गरिँदै छ ।
यस्तै एक लाख १० हजार वर्गफिट क्षेत्रफलमा बाल उद्यान, चार सय मोटरसाइकल र चार सय चारपांग्रे गाडी पार्किङ गर्न मिल्ने गरी सभा हल र सम्मेलन केन्द्रको बीचमा पार्किङ स्थल तयार गरिएको छ ।
यसबाहेक दुइटा मिटिङ हल, कफी सप, रजिष्ट्रेसन कक्ष, टिकट काउन्टरलगायत गरी रु एक अर्ब दुई करोडमा संरचना निर्माण हुने छन् । नेकपा एमालेले बुटवल महाधिवेशनमा निर्माण गरेको गणतन्त्र स्तम्भलाई पानीको फोहोरा सहितको प्लाजा एरियामा पुनःस्थापित गरिने इ. दर्लामीले बताउनुभयो ।
प्रदर्शनी केन्द्र निर्माणपछि यो स्थलमा मेला महोत्सव सञ्चालन गर्न व्यवसायी आतुर छन् । आयोजनालाई प्रदर्शनी केन्द्र निर्माणका लागि व्यवसायीले पटक पटक अनुरोध गर्ने गरेको इ दर्लामीले बताउनुभयो ।
वर्षौंदेखि सडक डिभिजन परिसर, बुटवल मण्डप र देविनगरको बगर लगायतका क्षेत्रमा औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्दै आएका यहाँका उद्योगी व्यवसायीले प्रदर्शनी केन्द्र निर्माणपछि यहाँको उत्पादनलाई बजारीकरण गर्नमा टेवा पुग्ने विश्वास गरेका छन् ।
आफ्नो व्यवसाय, उद्योग र उत्पादनको प्रचारका लागि यहाँका व्यवसायीहरु प्रदर्शनी केन्द्र निर्माणको पर्खाइँमा छन् भन्नुहुन्छ, बुटवल उद्योग वाणिज्य संघका अधयक्ष उज्वल कसजु । “प्रदर्शनी केन्द्र बनेपछि हामी हरेक महिना मेला लगाउँछौ, कहिले कृषि, कहिले पर्यटन, सौन्दर्य सामग्री जस्ता अलग अलगक सामाग्री र उत्पादनको प्रवद्र्धन गर्छौ ”, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजु भन्नुहुन्छ, “सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र निर्माणसँगै यो ठाउँ नै गुल्जार हुन्छ ।”
स्थायी प्रदर्शनी केन्द्र नहुँदा रूपन्देही उद्योग संघ, रूपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघलगायत संघसंस्थाले प्रदर्शनी तथा मेला सञ्चालनका लागि अस्थायी स्टल, प्रवेशद्धार र मञ्च निर्माणमा वर्षेनी झण्डै एक करोड खर्च गर्दै आएका थिए ।
कसले सञ्चालन गर्नेमा अन्यौल
बुटवलमा अन्तरराष्ट्रि सम्मेलन केन्द्र निर्माणको काम पूरा भएपनि यो संरचनाको जिम्मेवारी कसले लिने भन्ने विषयमा अन्यौल देखिएको छ ।
भौतिक संरचना निर्माण सम्पन्न भइसकेको सम्मेलन केन्द्र कसलाई हस्तान्तरण गर्ने भन्ने विषयमा टुंगो नलागेको आयोजना प्रमुख पन्थी बताउनुहुन्छ । संघ, प्रदेश र स्थानीय तह गरी तीन तहकै सरकारबीच यसको सञ्चालन र व्यवस्थापन कसले गर्ने भन्ने विषयमा छलफल भइरहेको छिट्टै टुंगो लाग्ने उहाँको विश्वास छ ।
संघीय सरकारको योजना र बजेटमा तयार भएको संरचना भएका कारण सम्मेलन केन्द्र सञ्चालनको मुख्य जिम्मेवारी शहरी विकास मन्त्रालयको भएको बताउनुहुन्छ, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे । “ सहरी विकासमन्त्रीले अनुगमन गरेर जानुभएको छ । केही दिनमै के गर्ने भन्ने निर्णय आउँला”, प्रमुख पाण्डेले भन्नुभयो, “यदी स्थानीय तहलाई जिम्मेवारी दिने हो भने हामी जिम्मेवारी लिन तयार छौँ ।”
सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्र सञ्चालन व्यवस्थापनको नेतृत्व उपमहानगरले गरे पनि नीजि क्षेत्रलाई जोडेर लैजादा भरपर्दो हुने उद्योगी व्यवसायीको सुझाव छ । स्थानीय सरकार र नीजि क्षेत्र मिलेर यसको सञ्चालन गर्न सके सबैमा जवाफदेहीता बढ्छ भन्नुहुन्छ, नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेल ।
“सरकारले संरक्षण गरेका संरचना कस्ता छन् भन्ने हामीले देखेकै छौँ । तसर्थ यी संरचनाको उचित व्यवस्थापन र सञ्चालनका लागि नीजि क्षेत्रलाई जोडेर जाँदा उपयुक्त हुन्छ, नीजि क्षेत्रलाई पनि जवाफदेहिताको भारी बाकाउँदा राम्रो हुन्छ”, अध्यक्ष पोखरेल भन्नुहुन्छ ।