रुपन्देही । रुपन्देहीका विभिन्न स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । शुक्रबार अधिबेशन गरी आर्थिक वर्ष २०७९÷८० का लागि बजेट प्रस्तुत गरिएको छ ।
बुटवल उपमहानगरपालिकाले रु २ अर्ब ३५ करोडको बजेट पेश गरेको छ । उपमहानगर नगर सभाको एघारौं अधिवेशनमा उपप्रमुख सावित्रादेवी अर्यालले पेश गर्नुभएको बजेटको अंशमा आन्तरिक आय ६० करोड, संघीय सरकारबाट समानीकरण अनुदानवापत् १ करोड ६१ लाख ३३ हजार, शशर्त अनुदान १ करोड ६० लाख, विशेष अनुदान ८० लाख र समपुरक अनुदान २ करोड ९९ लाख रहेको छ ।
यस्तै, राजस्व बाँडफाँटबाट ३१ करोड ९८ लाख र चालु आर्थिक वर्षको अघल्लिो वर्षबाट ल्याइएको रु ३४ करोड ५८ लाख रहेको छ ।
नगर सभामा बजेट पेश गर्दै उपप्रमुख अर्यालले बुटवल उपमहानगरले उपलब्ध श्रोत साधन, क्षमता र अवसरको परिचालन गरी आर्थिक विकासको गतिलाई निरन्तरता दिदै नगरबासीको जीवनस्तर उकास्न सामाजिक, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिने बताउनुभयो ।
यसपटक वडास्तरबाट परिचालन हुने बजेटको सीमालाई बढाएर रु १६ करोड ५० लाख पु¥याइएको उपप्रमुख अर्यालले बताउनुभयो । उपमहानगरपालिकाको बजेटले राजस्वका दरलाई वृद्धि नगरी विभिन्न क्षेत्रमा लाग्ने करमा छुट दिएको उहाँको भनाइ छ
उपमहानगरपालिकाले सम्पत्ति कर, बहालकर, हाटबजार बैठकी, इरिक्सा नवीकरण÷रुट इजाजत जस्ता कर तथा गैरकरका दरहरु कम्तीमा १० प्रतिशतसम्म न्यून गरेको र निश्चित समय निर्धारण गरी तोकिएको समयमा कर शुल्क बुझाउने करदातालाई १५ प्रतिशतसम्म छुट दिने भएको छ ।
यस्तै सम्पत्ति कर र भूमिकर २०७९ कात्तिक मसान्तसम्म बुझाउँदा निर्धारित खुद करमा १० प्रतिशत छुट दिने, पेशा व्यवसाय कर र घरबहाल करमा ५ देखि १५ प्रतिशतसम्म छुट दिने प्रस्ताव बजेटमा गरिएको छ ।
बुटवलले नवीकरण गर्न छुटेका व्यवसायहरुको नवीकरण गर्दा अगाडिको कर तथा जरिवानामा समेत छुट दिने भनेको छ ।
यस्तै, राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तारका क्रममा व्यवसाय सञ्चालन हुन नसकेर मर्कामा परेका राजमार्ग मोहडाका सटरका व्यवसायीहरुलाई व्यवसाय करमा थप ३५ प्रतिशत छुट उपमहानगरले दिने भएकोे छ ।
बुटवलले बजेटमार्फत जनतासँग प्रमुख, नगरप्रमुख ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम, क्षयरोगमुक्त अभियान, स्वस्थ जीवनशैलीका लागि योग, नगरबासीलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क गर्ने अवधारणा कार्यान्वयन गर्ने जस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेको उपप्रमुख अर्यालले बताउनुभयो ।
स्वच्छ खानेपानी, फोहोरमैला व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण, शैक्षिक गुणस्तर सुधारजस्ता कार्यक्रम बजेटमा परेका छन् ।
यस्तै, प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी, कृषि, पशुविकास, श्रम रोजगारी, वन वातावरण, सहकारी प्रवद्र्धन, पर्यटन विकास, छाडा चौपाया नियन्त्रण, रोजगारी सिर्जना जस्ता कार्यक्रमले पनि बजेटमा प्राथमिकता पाएका छन् ।
आधारभुत स्वास्थ्य सेवा निःशुल्क बनाउन स्वास्थ्य संस्थाको स्तरोन्नति, सबै वडामा स्वास्थ्य संस्था स्थापना तथा स्वास्थ्य सेवा प्रवाह गर्दै सुविधा सम्पन्न १५ बेडको नगर अस्पतालका लागि बजेट परेको छ ।
यस्तै आयुवेदिक अस्पताल स्थापना, ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँच, मधुमेह, उच्च रक्तचाप, नियमित सेवनका औषधिहरु वितरण, चौमासिक परामर्शका लागि जनतासँग प्रमुख कार्यक्रम, नवजात शिशु, आमा र बालबालिकाको पोषणलक्षित उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गर्ने नीति नगरले लिने भएको छ ।
सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा डिप्लोमा तहको प्यारामेडिकलका विषयहरु अध्यापन गराउन प्रक्रिया अघि बढाउने, बुटवल टेक्निकल इन्स्टिच्युटमा स्नातक तहको अध्ययनका लागि पहल गर्ने, अटो भिलेजमा डिप्लोमा तहको अटो इन्जिनियरिङ कलेज सञ्चालनका लागि पहल गर्न बजेट छुट्याइएको छ ।
लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा विकास गर्ने, माध्यमिक तहका विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब स्थापना गर्ने, सामुदायिक विद्यालयहरुको एकीकृत वेभसाइट निर्माण गर्ने, नगरभित्रका सामुदायिक विद्यालयहरुमा निशुल्क सेनेटरी प्याड वितरण गर्ने नीति नगरले अघि सारेको छ ।
सिद्धार्थनगर नगरपालिकाको बजेट रु १ अर्ब ३४ करोड
सिद्धार्थनगर नगरपालिकाले रु १ अर्ब ३४ करोड ५४ लाख ३५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
आगामी आर्थिक वर्ष २०७९÷८० को अनुमानित आय व्यय विवरण सार्वजनिक गर्दै उपप्रमुख उमा अधिकारीले संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त अनुदान, राजस्व बाँडफाँड, समपूरक अनुदान, विशेष अनुदान, दातृ निकायबाट प्राप्त रकम, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम, आन्तरिक आयबाट समेतबाट गरि १ अर्ब ३४ करोड ५४ लाख ३५ हजार हुने अनुमान गरेको छ ।
उपप्रमुख अधिकारीले बजेट तथा कार्यक्रमका मुख्य उद्देश्यहरु मानव विकासलाई केन्द्रमा राखी नगरको दैनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने, वातावरण संरक्षण र पूर्वाधार दीगोपना हुने गरी निर्माण गर्ने, विकासका संवाहकको समुचित परिचालनद्वारा आर्थिक विकास, सन्तुलित र समावेशी विकासमा टेवा पुर्याउने रहेको बताउनुभयो ।
नगरपालिकाले जेष्ठ नागरिक आश्रय÷ मिलन केन्द्र स्थापना गर्न १० लाख र सडक मानवमुक्त नगर बनाउन रु ३ लाख बजेट बिनियोजन गरेको छ । यस्तै छाडा चौपाया ब्यवस्थापन गर्न कान्जी हाउस निर्माणका लागि रु १ करोड बिनियोजन गरिएको छ ।
बोटानिकल गार्डेनको डिपिआर निर्माणको लागि रु २० लाख र निर्माणाधिन नगर पालिकाको लागि रु ५ करोड ८० लाख बिनियोजन गरिएको छ । यसैगरि नगर पालिकाले पशुपन्छी विकासतर्फ गाई भैसिको स्वच्छ दुध उत्पादन, चापाकटर वितरण, विभिन्न खोप सेवा, कृत्रिम गर्भाधानका लागि सामग्री तथा तरल नाइट्रोजन खरीद तथा ढुवानी, घाँसको बिउँ वितरण, नश्ल सुधारका लागि बोका वितरण, भकारो सुधार, गोठ सुधार, रोग नियन्त्रण तथा बाख्रापालन तालिम, माछाको भुरा तथा दाना वितरण, मिनरल तथा भिटामिन वितरण कार्यक्रम र कुकुर बन्ध्याकरणका लागि एकमुष्ठ रु ४६ लाख ७५ हजार विनियोजन गरेको छ ।
सैनामैनाको बजेट रु १ अर्व २१ करोड ८२ लाख
सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि रु १ अर्व २१ करोड ८२ लाख २४ हजारको बजेट सार्वजनिक गरेको छ । प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ रु ७४ करोड २९ लाख २६ हजार तथा पुँजीगत खर्चतर्फ रु ४७ करोड ५२ लाख ९८ हजार विनियोजन गरिएको छ ।
बजेटमा आन्तरिक श्रोततर्फ १३ करोड ६८ लाख, नेपाल सरकारको सशर्त अनुदानतर्फ ३७ करोड ३३ लाख, वित्तिय समानीकरण अनुदानतर्फ १३ करोड ७९ लाख, समपुरक अनुदानतर्फ १ करोड, विशेष अनुदान १ करोड ५० लाख, प्रदेश सरकारतर्फ वित्तिय समानीकरण अनुदानतर्फ ७५ लाख ४३ हजार, राजस्व बाँडफाँडतर्फ १ करोड ९४ लाख, सशर्त अनुदानतर्फ १ करोड ९९ लाख ९८ हजार र बचततर्फ ६ करोड ७६ लाख ७० हजार विनियोजन भएको छ ।
यो बजेट चालू आर्थिक बर्ष २०७८÷०७९ को भन्दा करिब ५० लाखले कम हो । सैनामैना नगरपालिकाले २०७८÷०७९ लागि १ अर्व २२ करोड १९ लाख ४३ हजार ३४१ रुपैयाको बजेट प्रस्तुत गरेको थियो ।
सैनामैना नगरपालिका उपप्रमुख विना रानाले प्रस्तुत गर्नुभएको बजेटमा पूर्वाधार विकास, कृषि, र अधुरा आयोजना सम्पन्न गर्ने अभियानसहित पर्यटन र शिक्षा क्षेत्रलाई प्राथमिकता दिइएको छ ।
बजेटमध्ये पूर्वाधार विकासमा सवैभन्दा बढी ३६ करोड ३ लाख विनियोजन गरिएको छ भने शिक्षातर्फ २४ करोड ४२ लाख ९६ हजार विनियोजन गरिएको छ । त्यसैगरी कृषिमा २ करोड ६१ लख ९२ हजार, पशुविकासतर्फ १ करोड ९५ लाख ४२ हजार, पर्यटनतर्फ ५ करोड ४८ लाख, बन तथा वातावरणतर्फ १ करोड ७३ लाख र खानेपानी सरसफाईतर्फ २ करोड ६९ लाख विनियोजन गरिएको छ ।
बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता दिदै विगतका अधुरा आयोजना पूरा गर्ने, संघ र प्रदेशको सहलगानीमा निर्माण हुने ठूला तथा महत्वपूर्ण आयोजनामा बजेटको सुनिश्चित गरी निर्माण कार्यलाई निरन्तरता दिने, सैनामैनाका चारवटा पुराना थारु गाउँलाई नमूना उज्यालो गाउँ बनाउने, औद्योगिक ग्राम निर्माण, बोलबम पार्क निर्माण गर्ने, एसियाली विकास बैंकको सहलगानीमा सैनामैना चक्रपथको सालझण्डी खण्ड सहित ११ वटा रणनैतिक सडक निर्माण गर्ने उल्लेख छ ।
त्यसैगरी सामुदायिक विद्यालयमा दिदै आएको निशुल्क सेनेटरी प्याड अवदेखि संस्थागत विद्यालयका छात्रालाई पनि उपलव्ध गराउने, कक्षासम्मका विद्यार्थीलाई दिदै आएको खाजामा नगरपालिकाले ५ रुपियाँ थप गरेर उपलव्ध गराउने, सिकाई सामाग्री तथा डिजिटल सामाग्रीको व्यवस्था गर्ने र नगरको स्थानीय पाठ्यक्रम निर्माण गर्ने बजेटमा उल्लेख छ ।
कृषितर्फ ५० प्रतिशत अनुदानमा बीउ उपलव्ध गराउने, चिस्यान केन्द्रको निर्माण गर्ने, कृषकलाई विशेष सहुलियत दिने गड्यौला मल उत्पादन गर्ने किसानलाई अनुदान दिने बजेटमा उल्लेख छ ।
त्यसैगरी सैनामैनामा एक सय शैयाको ट्रमा सेन्टर निर्माण गर्ने, सर्पदंश अस्पताल संचालन गर्ने, सैनामैना १ मुर्गियामा निर्माण भइरहेको १५ शैंयाको अस्पताल सञ्चालनमा ल्याउने, नगरका सिमसार क्षेत्रको पहिचान गरि विकास गर्ने, सिप विकासमा माध्यमबाट सिमान्तकृत समुदायलाई रोजगारीमा जोड्ने कार्यक्रम बजेटमा समाबेश छ ।