काठमाडौं-प्रदेश १ को सरकारबाट बाहिरिएसँगै संघ र प्रदेश सभामा सबैभन्दा ठूलो दलको रुपमा नेतृत्वमा रहेको नेकपा एमाले शुन्यमा झरेको छ।
२०७४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि चारवटा प्रदेश सरकारको नेतृत्व गरेको नेकपा एमाले प्रदेश १ मा सत्ताबाट बहिर्गमन भएसँगै शुन्यमा झरेको हो।
एमालेले केन्द्रसँगै सातमध्ये चार वटा प्रदेश सरकारको नेतृत्व गरेकोमा चारवटै प्रदेशमा सत्ताभन्दा बाहिर पुगेको छ।
यसअघि गण्डकी, लुम्बिनी र बागमती प्रदेश सरकारको नेतृत्व गुमाइसकेको एमालेले सोमबार प्रदेश १ सरकारको नेतृत्व पनि गुमायो।
यसअघि यी चारवटै प्रदेशमा एमालेको एक्लै बहुमतको सरकार बनेका थिए। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार विश्वासको मतमा छलफल हुनुअघि नै प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिएपछि भने एमाले पूर्ण प्रतिपक्षीको भूमिकामा पुगेको छ।
एमाले र माओवादी मिलेर बनेको नेकपामा आएको विवादपछिको विभाजन र त्यसपछि एमालेको माधव नेपाल समूहले छुट्टै पार्टी गठन गरेपछि केन्द्रदेखि प्रदेशमा समेत ठूलो दलका रूपमा रहे पनि अल्पमतमा परेपछि सत्ताबाट बाहिरिएको हो।
तत्कालीन नेकपामा केपी ओलीले शक्ति बाँडफाँड र अधिकार दिन कन्ज्युस्याइँ गर्दै आफु अनुकुल गर्न थालेपछि नेकपामा विवाद चुलिएको थियो। सोही विवादका कारण उत्पन्न राजनीतिक घटनाक्रमका कारण एमाले संघ र प्रदेशमा प्रतिपक्षीको भूमिकामा पुगेको छ।