बुटवल । प्रदेश ५ को लोकसेवा आयोगका पदाधिकारी सिफारिश समितिका एकजना सदस्यले आफ्नै बुहारीलाई सिफारिश गरेपछि आलोचना भएको छ ।
मुख्यमन्त्रीको अध्यक्षतामा रहेको ३ सदस्यीय सिफारिश समितिका सदस्य प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता बलदेव शर्मा पोखरेलले आफ्नी बुहारी राहेल पोखरेललाई आयोगको सदस्य बनाएपछि आलोचना भएको हो ।
अनियमितताको आशंकाका कारण प्रदेश सभाले दिएको गाडी नचढ्ने निर्णय गरेर चर्चा कमाएका पोखरेल बुहारीलाई सदस्य बनाउने घटनामा मुछिएका हुन् ।
उनको यो कदमको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । धेरैले उनले पनि आफन्तलाई नै पोस्न खोजेको भन्दै आलोचना गरेका छन् ।
मेरा कागजात फर्जी होइनन् : राहेल
सदस्यमा नियुक्त भएकी राहेल पोखरेलले भने आफ्ना कागजातहरु फर्जी नभएको दाबी गरेकी छिन् । ‘मसँग भएका जति पनि कागजात छन् ती सबै सक्कली हुन्, मैले पढेर पास गरेका कागजात हुन्, मेरो अनुभवको प्रमाणपत्रमा त्यहाँ कसरी त्यस्तो पर्यो मलाई थाहा छैन, उनले भनिन्–यो कुरा त म त्यहाँको सचिवालयलाई सोध्न चाहन्छु, मैले ठीक पठाएका कागजात कसरी त्यसरी पेश भए ?’
उनले आफु २०५७ सालमा पशुपति उच्चमावि कोटिहवाबाट एसएलसी, २०६० सालमा पशुपति उच्च माविबाटै १२, सन् २००९ मा भैरहवा बहुमुखी क्याम्पस भैरहवाबाट स्नातक र सन् २०१६ मा भैरहवा बहुमुखी क्याम्पसबाटै समाजशास्त्रमा स्नातकोत्तर गरेको बताइन् । ‘मेरो कुरा विश्वास लाग्दैन भने मेरो रजिष्ट्रेशन नम्बर ६–२५२–१९४–२००३ हो गएर हेर्नुस्,–उनी भन्छिन्–मेरो विषयमा विवाद निकाल्नकै लागि यसरी लागेको हो भन्ने मलाई लागेको छ ।’
उनले आफुलाई लोकसेवा आयोगको सदस्यमा सिफारिश गर्ने भन्ने कुरा घरमा नभएको र घरबाट अर्कै व्यक्तिको लिएर गएको बताइन् । ‘घरबाट जाँदा बुवाले अर्कै व्यक्तिको कागजहरु लिएर जानुभएको थियो, पछि त्यहाँ गएपछि कसले के भनेर उहाँलाई आफ्नै बुहारी राख्नुपर्छ भने अनि मेरा कागजातहरु मागिएका हुन्, हतारमा कागज मागे, मैले जे जे छन् पठाएँ, त्यहाँ लगेर गडबड गरेर हामीहरुलाई विवादमा पार्ने प्रयास भएको छ ।’
बुहारीको हुँदैन, अरु नाम ल्याउनुस् भनेको भए अर्कै दिन्थेँ : पोखरेल
पोखरेलले मुख्यमन्त्री र सभामुखको पनि सहमतिमा बुहारीलाई सिफारिश गरेको दाबी गरेका छन् । ‘सभामुख बैठकमा आउनुभएको थिएन, मुख्यमन्त्रीले फोन गरेर सबै कुरा सुनाउनुभयो, सभामुखले तपाइँहरुले गर्ने निर्णयमा मेरो सहमति छ भन्नुभएको हो,–उनी भन्छन्–महिला पनि हुने, बुहारी हुँदैमा के फरक पर्छ र भनेरै नाम दिएँ, अरु थुप्रै नेताहरुले श्रीमती, छोरी बुहारीहरुलाई मन्त्री, नेता बनाएका छन्, मैले बुहारी बनाउन किन नहुने भनेर नाम भनेको हुँ, त्यतिबेलै असहमति जनाएको भए पछि अरुकै नाम दिन्थेँ, अहिले आएर यसरी नचाहिने कुरा आउँछन् भन्ने लागेको थिएन ।’
उनी आफ्नी बुहारीको योग्यतामा भने कुनै समस्या नरहेको दाबी गर्छन् । ‘उनले स्नातकोत्तर गरेकी छन्, जो जो आएर छानबीन गर्नुपर्ने हो गरे हुन्छ, अख्तियारले गर्न मन लागेपनि गरोस्, उनी भन्छन्–त्यसबेला हतारमा बायोडाटा, फोटोकपी गर्दा के के बिग्रिएछन्, खास डकुमेन्टमा समस्या छैन, जसले हेर्न मन लागेपनि हेरुन् ।’
उनले आफुले बुहारीलाई नभइ अरुलाई सदस्य बनाउनका लागि कागजात बोकेर बैठकमा गएको बताए । ‘मैले एकजना पूर्व प्रमुख जिल्ला अधिकारीको कागजहरु लिएर गएको थिएँ, तर त्यहाँ गएपछि मुख्यमन्त्रीले तपाइँले अर्को मान्छे दिनुपर्यो, महिला दिनुस् भन्नुभयो–उनको भनाई छ–मैले अरु महिलाको नाम झ्याप्प आएन, योग्यता पुगेको पनि हुनुपर्यो, मेरी बुहारी छ भनेँ, हुन्छ त्यसो भए ठीकै छ भन्ने कुरा भयो, अनि सिफारिश गर्ने निर्णय भएको हो ।’