बुटवल–बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि बासको अलग्गै व्यवस्था गरिएको छ ।
रुपन्देही कोटहीमाइका कोरोना संक्रमित एक युवालाई भर्ना गरिएपछि संक्रमण नफैलियोस भनेर सोही दिनबाट स्वास्थ्यकर्मीहरुको लागि अलग्गै बासको व्यवस्था गरिएको हो ।
शुक्रबार भारतबाट आएका ती युवाको पिसीआर रिपोर्टमा कोरोना संक्रमण देखिएपछि धागो कारखानाको आइसोलेसनमा ल्याइएको थियो ।
अस्पतालमा भर्ना भएपछि सम्भावित जोखिम रोकथामको लागि त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुलाई होटलमा राखिएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले बताए । ‘उहाँहरु घर जान पाउनुहुन्न बासको लागि छुट्टै होटलको व्यवस्था गरिएको छ–उनले भने ।
धागो कारखानाको कोरोना अस्पतालमा ८ जना स्वास्थ्यकर्मीहरु खटिएका छन् । जसमा एक जना कन्सल्टेण्ट, एक जना मेडिकल अफिसर, ४ जना नर्सिङ स्टाफ, २ जना पारामेडिक्स, एक जना सरसफाइका कर्मचारी रहेका छन् ।
एक हप्ता लगातार ड्युटी गरेपछि अहिलेको टोली २ हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने डा. सुदर्शन थापाले बताए । ‘एक हप्ता ड्युटी गरेपछि उहाँहरुको ठाउँमा सेट ड्युटीको लागि अर्को टोली जान्छ–उनले भने–अहिलेको सिफ्टको टोली २ हप्ता क्वारेन्टाइनमा बस्नुपर्दछ, क्वारेन्टाइनमा बसेपछि मात्र उहाँ घर जानुहुन्छ ।’
संक्रमितको निगरानीको लागि एक जना मेडिकल अफिसर २४सै घण्टा त्यहाँ खटेका छन् । ‘हामी कन्सल्टेण्ट राउण्डको समयमा जान्छौं । बीचमा परिआएको खण्डमा मेडिकल अफिसर र उहाँको टिम छ’–डा थापाले भने । बिरामीको नजिक जाँदा पिपिइ सेट सहित जानुपर्ने हुन्छ । अहिले कोरोना विशेष अस्पतालमा कोटहीमाइका युवक मात्र रहेका छन् । कोरोना अस्पतालमा बस्ने यी सहित ४० जना पुगेका छन् ।
ज्वरो लगायतका लक्षण देखिएपछि अरु ३९ जनालाई यहाँ ल्याइएको थियो । ती मध्ये पाल्पा रिब्दीकोट घरभइ रुपन्देहीको सैनामैना बस्ने बाबुराम थापाको कोरोना अस्पतालमा मृत्यू भएको थियो ।
पिसिआर परिक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको थिएन । भर्ना भएका अन्य ३८ जनामा पनि कोरोना संक्रमण नभएको पाइएपछि डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमण देखिएका कोटहीमाइका युवकमा अरु रोगको लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको डा. सुदर्शन थापाले बताए ।