बुटवल–पाल्पाको तिनाउ गाउँपालिका दोभान बस्नुहुने विष्णुप्रसाद पाण्डे आफ्नो गाडीमा यात्रा गर्दा बुटवलमा बुधबार दिउसो दुई ठाउँमा जाममा परे।
‘माथितिर आउँदै गर्दा राजमार्ग चौराहमा र मिलनचोकमा केहीबेर रोकिनुपर्यो’–उनले भने–‘एक डेढ महिना यता बाटोमा गाडीहरुको निकै भीड छ।’
कोरोना संक्रमणको कारण ३ महिना जति सडक सुनसान थियो। असारबाट क्रमश सडकमा सवारीको चहलपहल बढ्न थाल्यो । अहिलेको सवारी चाप गत चैत्र अघिको भन्दा बढी देखिएकोे पाण्डे बताउँछन्। ‘लकडाउन सुरु नहुँदै चैत्र भन्दा अगाडि यस्तो सवारी चाँप भए जस्तो लाग्दैन’–उनले भने।
नेपाल रेडक्रस सोसाइटीका लुम्बिनी प्रदेशका महासचिव तथा शिक्षक कृष्ण पंगेनी दिनहुँजसो बुटवल र सैनामैना ओहोर दोहोर गर्छन्। पश्चिम तर्फ जाँदै गर्दा उनले पनि सवारी चाप बढेको महसुस गरेका छन्। ‘अहिले त निकै भिडभाड छ। नीजि गाडी त बढी नै देखिन्छ, त्यसबाहेक ढुवानीका गाडी पनि निकै बढेको देखिन्छ’–पंगेनीले भने।
लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले पनि बुटवलले पनि पछिल्लो समय सवारी चाप निकै बढेको बताएको छ।
केही महिना अघि लकडाउन खुकुलो भएसँगै दिनप्रति क्रमश सवारी साधन बढेको कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए। ‘लकडाउन नहुँदैको अवस्था भन्दा पनि अहिले बढी चाँप छ’–उनले भने ‘चैत्र भन्दा अगाडी सामान्य अवस्था थियो। अहिले बीचमा नहिँडेका मान्छे सबै यात्रा र भेटघाट गर्न थाले।’
बुटवलको राजमार्ग चौराह, मिलनचोक र पुष्पलाल पार्कमा विहान र अपरान्ह सवारी चाप भइरहने डिएसपी पाण्डेले बताए।
‘बिहान ९ बजेदेखी ११ बजेसम्म र दिउसो साढे ३ बजेदेखी साढे ५ बजेसम्म जाम हुने गरेको छ’–उनले भने–‘अहिले स्कुलका गाडी चलेका छैनन्। ती पनि चले भने पनि अझै चाँप बढ्छ।’
कोरोना संक्रमण भन्दा अगाडिको अवस्था भन्दा पनि अहिले सवारी चाप बढी हुनुमा अन्य केही कारणहरु छन्।
विवाहको मौसम
बुटवलका सडकमा सवारी चाप भएको अर्को कारण विवाहको सिजन पनि हो। कोरोना संक्रमण र लकडाउनको कारण गत वैशाख र जेठमा विवाहका कार्यक्रम निकै कम भए।
त्यसबेला हुन नपाएका वैवाहिक कार्यक्रम अहिले मंसिरमा भएका छन््। आगामी माघ–फागुनमा पनि विवाहका लगन छैन। त्यसैले पनि विवाहका कार्यक्रम झन बढेको छ।
विवाहका कार्यक्रममा हुने ओहोर दोहोरले सडकमा भीडभाड गराएको छ। ‘अहिले प्रत्येक दिन विवाह र पार्टी भइरहेको छ । चाप बढ्नु एउटा मुख्य कारण यो पनि हो’–डिएसपी पाण्डेले भने ‘विवाहमा अहिले निस्फीक्री भेटघाट गर्न थालेका छन्।’
निजी सवारीको बिक्री बढ्यो
सडकमा सवारी चाप बढ्नुको मुख्य कारण निजी सवारी साधन हो । लकडाउन खुकुलो भएसँग धेरै समय सार्वजनिक गाडीहरु चलेनन्। चलेपछि पनि धेरै यात्रुहरु चढ्न डराए।
निजी सवारीहरुको बिक्री पनि यो समयमा बढेको छ। बुटवलमा हिरो मोटरसाइकलको डिलर हिमालय अटो ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक भेषराज पाण्डेले लकडाउन खुकुलो भएसँग मोटरसाइकिलको विक्रि ह्वात्तै बढेको बताए।
‘अघिल्ला वर्ष भन्दा यो वर्ष मोटरसाइकलको बिक्री बढेको छ’–उनले भने–‘तर अझै पनि माग अनुसारको आयात हुन सकेको छैन।’
उता होण्डा मोटरसाइकलको बिक्रेता अमृत इन्टरनेश्नलका सेल्स इन्चार्ज केशवराज ज्ञवालीले माग अनुसारको गाडी बिक्री गर्न नसकेको बताए।
‘दुई चक्केमा हिडे पछि सुरक्षित भइन्छ भनेर मोटरसाइकलको बिक्री बढेको छ। माग अनुसार दिन सकेका छैनौं’–उनले भने–‘डेढ सय जनाले बुकिङ गरेर पर्खेर बस्नुभएको छ।’
गाडी उत्पादकहरुले कोरोना संक्रमणका कारण बिक्री कम हुन्छ भनेर गाडीको उत्पादन नै कम गरेका थिए। सोचेंविपरित माग बढेको ज्ञवालीले बताए। दुई चक्केसँग चार चक्के निजी मोटरको माग र बिक्री पनि अहिले बढेको छ।
सहायक मार्गहरु अस्तव्यस्त
बुटवलका सडकमा सवारी चाप बढ्नुको अर्को कारण राजमार्गका सहायक सडकको अस्तव्यस्त अवस्थाले पनि हो। नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व जिल्ला अध्यक्ष काजीमान श्रेष्ठ मंगलबार आफु निकैबेर तिनकुनेमा जाममा परेको बताए।
‘मिलनचोकबाट गाडी हाले, खुल्छ कि भनेर एकछिन पर्खें, नखुलेपछि फेरि माथि गएर राजमार्गमा निस्केर चौराहबाट पसेको थिएँ’–उनले भने।
बुटवलको प्रदेश सभा भवनदेखि इट्टाभट्टी, मिलनचोक, कालिकानगर हुँदै योगीकुटी जाने सडक विस्तारको लागि मर्मत भइरहेको छ।
मर्मत र विस्तारको क्रममा भएका खाल्डाखुल्डी र धुलोको कारण सो सडकमा धेरै गाडी चलेका छैनन्।
त्यसको भार मुख्य सडकले भोग्नु परेको छ।
‘नगरभित्रका ५० प्रतिशत भित्री यस्तै खाल्टाखुल्टी छ। त्यसले पनि मुख्य सडकमा जाम गराएको छ।’–श्रेष्ठले भने। सवारी चाप बढेसँगै सडकमा सवारी दुर्घटनाको संख्या पनि बढिरहेको छ।
सवारी चाप व्यवस्थापन गर्न प्रयास
सवारी चापको असर कम गर्न आफूहरुले प्रयास गरिरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए। उनले बिहान र साँझको पिक आवरमा सवारी व्यवस्थापन गर्न जनशक्ति बढाएको बताए।
‘दुई जना खटाएको ठाउँमा पिक आवरमा ५ जना खटाउँछौं’–उनले भने–‘जाम बढ्यो भने टिप्पर लगायतका मालबाहक सवारीलाई पिक आवरमा केही समय रोक्छौं। तर अहिले त्यसो गर्न परिहालेको छैन।’
बुटवल उपमहानगरपालिकाले पनि सवारी चापको असर रोक्न प्रदेश ट्राफिक प्रहरीसँग निरन्तर समन्वय गरेको जनाएको छ।
उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले ट्राफिकसँग समन्वय गर्ने र पूर्वाधारका काम छिटो गराउन लागिपरेको बताए।
‘इ–रिक्सालाई नियमन गरेका छौ, कतै सवारी चाप भए अर्को रुटबाट सवारी पठाउन ट्राफिक प्रहरीलाई भनेका छौं’–उनले भने–‘कोभिडका कारण रोकिएका सडक पूर्वाधारका काम अहिले भइरहेको छ, त्यसको लागि हामीले निरन्तर अनुगमन गरेर छिटो काम सक्न उपभोक्ता समितिलाई निर्देशन दिएका छौं।’
त्यस बाहेक दीर्घकालिन रुपले पनि सवारी चापलाई व्यवस्थापन गर्ने बारे योजना बनाएको रेग्मीले बताए।