बुटवल । बाबुको मृत्युपछि आमा सरस्वतीसँगै किरियामा बसेका दुई छोरी विद्या र भावनालाई समवेदना दिन आउनेको घुईंचो छ । सहपाठी र आफन्त मात्रै होइन विद्या र भावनाको यो अभियानलाई प्रोत्साहन सहित साथ समर्थन दिन यहाँका सामाजिक अभियान्ता, मानवअधिकारवादीलगायत विभिन्न समुदायका मानिसहरु भेटघाटमा आइरहेका छन् । त्यसरी आउने सवैले विद्या र भावनाको यो अदम्य साहसका लागि धन्यवाद दिन्छन् र फर्किन्छन् ।
बुवाआमाको मृत्युपछि छोरा नै किरियापुत्री बस्नुपर्ने मान्यतालाई तोड्दै बुटवल उपमहानगरपालिका —१३ बेलबासका यी दिदी–बहिनी दिवंगत बुवाको किरियापुत्री बसेका हुन् । विगत १ वर्षदेखि क्यान्सर रोगबाट ग्रसित स्थानीय समाजसेवी ५२ वर्षीय हरिप्रसाद खनालको मङ्सिर ३ गते शनिवार निधन भएको हो ।
खनालको निधनपछि २२ वर्षीया विद्या र २० वर्षीया भावनाले बुवाको दागवत्ति दिने र आफै किरियामा बस्ने निर्णय लिनुभयो । आमा सरस्वतीले गहभरी आंसु पार्दै स्वीकृतिको टाउको हल्लाउनुभयो ।
अधिकांश आफन्तले छोरीहरुको निर्णयलाई समर्थन जनाए । “कतिपय नजिककै आफन्तहरुले शुरुमा समर्थन जनाउन सक्नुभएन अहिले उहांँहरु पनि खुसी नै हुनुहुन्छ” – २२ वर्षीया विद्याले भन्नुभयो । छोरीले किरिया गर्नुहुँदैन भन्ने समाजको गलत मान्यतालाई चिर्दै आफुहरु किरियामा बसेको विद्याले बताउनुभयो ।
“सानैदेखि बुवाले छोरा छोरी समान हुन् भन्ने सिकाउनुभयो । बुवाले दिएको सँस्कार अनुसार नै हामी किरियामा बसेको छौँ”, विद्या भन्नुहुन्छ । सन्तान भनेकै दुई छोरी भएकाले बुवाले गरेको माया र त्यागप्रति सम्मान गर्दै किरिया बस्ने निर्णय लिएको भावनाले बताउनुहुन्छ । बाबुको किरिया गर्न पाउँदा दुबैजनालाई गर्व लागेको छ ।
छोरीहरु बाबुको किरियामा बसेपछि मृतक खनालकी पत्नी सरस्वतीलाई पनि आत्मसन्तुष्टी मिलेको छ । “मनमा पिडा छ तर छोरीहरु सँगै हुँदा मन भुलाउन सकेकी छु ”, सरस्वती भन्नुहुन्छ ।
बाबु बिरामी भएदेखि स्याहार सुसारमा निकै खटेका विद्या र भावनाको व्यवहार र बुवाप्रतिको सम्मानले छोरा भएनन् भन्ने सोंच सरस्वतीमा कहिल्यै पलाएन । “बुवा बिरामी हुँदा एकदिन साथ छोडेनन्, मृत्युपछि पनि धार्मिक विधिअनुसार नै कपाल खौरेर किरिया बसे, यिनीहरुको हिम्मत देखेर शोकलाई शक्तिमा बदल्ने साहस मिलेको छ”, सरस्वती भन्नुहुन्छ ।
समाजमा प्रायः छोराहरु नै बाबुको किरिया बस्नुपर्छ भन्ने रुढीबादी र गलत संस्कार छ तर विद्या र भावनाले गलत सँस्कार तोडेर नयाँ सन्देश दिनुभएको छ भन्नुहुन्छ, छिमेकी शान्ता खनाल । “छोरीले बाबुको मलामी जानु हुँदैन र किरिया गर्नु हुँदैन भन्ने गलत मान्यता छ, तर यी छोरीहरुले समाजलाई नयाँ सन्देश दिएका छन्”, खनाल भन्नुहुन्छ ।
छोरीहरु किरिया बसेको थाहा पाएपछि अधिकारका क्षेत्रमा काम गर्ने कही संस्था र सामाजिक अगुवाहरु घरमै पुगेर विद्या र भावनालाई स्याबासी दिए ।
एउटै कोखबाट जन्मिएका छोरीले बुवाआमाको किरिया गर्न नमिल्ने भन्ने हुँदैन, अब समाजको सोंच परिवर्तनका लागि विद्या र भावना जस्ता छोरीको आवश्यक छ भन्नुहन्छ, मानव अधिकारका लागि महिला, एकल महिला समूहका अध्यक्ष राधिका श्रेष्ठ । छोरीहरु किरिया बसेको थाहा पाएर घरमै पुगेर स्याबासी दिएको उहाँ बताउनुहुन्छ ।
“दुबैले गलत संस्कार तोड्ने साहस गरे, मनमा पीडा भए पनि साहस गरेर दागबत्ती दिए र छोरी हुनुको कर्तव्य पूरा गरे, यो निकै ठूलो कुरा हो”, श्रेष्ठ भन्नुहुन्छ ।
अहिले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । यो अभियानमा साँस्कृतिक विभेद विरुद्ध बहस चलिरहेको सन्दर्भमा छोरीहरुले कपाल खौरिएर बाबुको किरिया गर्नु साँस्कृतिक विभेद अन्त्यको क्रान्ति हो भन्छन् अधिकारकर्मीहरु ।
बुवाको किरिया गरेर विद्या र भावनाले पितृसत्तात्मक समाजलाई चुनौती दिएको कदम नेपालका कोषाध्यक्ष सुष्मा अर्यालको भनाइ छ । “बाबुआमाका लागि सन्तानप्रतिको माया बराबर हुन्छ । त्यसैले छोरा होस् वा छोरी बुवाआमाप्रतिको कर्तव्य पनि एउटै हो”, अर्याल भन्नुहुन्छ अब समाज परिवर्तन हुदैछ, छोराले गर्नसक्ने काम छोरीले पनि गर्न सक्छन् ।”
समाज परिवर्तनशील भएकाले अब धार्मिक परम्परालाई पनि परिस्कृत गर्दै लैजानुपर्ने उहाँको राय छ ।
सानैदेखि छोराले नै बाबुको किरिया गर्नुपर्छ भन्ने मान्यताबाट हुर्किएकाहरुलाई सुरुमा असहज लाग्नु स्वभाविक भएपनि पछि विस्तारै सबैले सहजरुपमा लिएका छन् । “सुरुमा उनीहरूको निर्णयमा पनि आफन्तले अचम्म माने तर, छोराको जस्तै छोरीको पनि कर्तव्य हो भन्ने बुझेका छन्”, मृतकका आफन्त कौशिला आचार्य भन्नुहुन्छ ।
बाबुको मृत्युपछि कपाल खौरिएरै किरिया बसेका कारण धेरैले विद्या र भावनाको प्रशंसा गरेका छन् ।
धार्मीक ग्रन्थहरुमा पनि बुवाआमाको मृत्युपछि छोराले नै किरिया गर्नुपर्छ भन्ने कतै उल्लेख नभएको स्थानीय पुरोहित शुशील खनाल बताउनुहुुन्छ । “बिहे नगरुञ्जेल छोरीको कर्म नचलेको मानिन्छ र बिहे गरेपछि अर्को गोत्र हुन्छ त्यसैले छोराले किरिया गर्ने प्रचलन छ”, खनाल भन्नुहुन्छ, “तर दागबत्ति दिन नमिल्ने र किरिया गर्नै नमिल्ने भन्ने छैन ।”
छोरीहरुमाथि गरिने साँस्कृतिक विभेदको अन्त्यका लागि अभियान नै चलाउनुपर्ने बताउनुहुन्छ अधिकारकर्मी अधिवक्ता इन्दिरा आचार्य । एकातिर धार्मिक परम्परा र संस्कारलाई पनि निरन्तरता दिँदै जाने, अर्कोतिर छोरा र छोरीमा संस्कारजन्य विभेद पनि कायम गर्दै जाने कारणले गर्दा पनि हिन्दु धर्म र परम्पराप्रति औँला ठडिने क्रम बढेको उहाँको दाबी छ ।
बदलिँदो युगअनुसार आज छोरासरह छोरीहरूले पनि समान कानुनी अधिकार पाएका छन्, समान आर्थिक, राजनीतिक र सामाजिक अधिकारका लागि छोरीहरू लडेर महत्वपूर्ण उपलब्धि हासिल गरिरहेका छन् तर धार्मिक र संस्कारजन्य अधिकारका निम्ति छोरीहरूले अझै सशक्त लडाइँ लड्नु आवश्यक देखिएको आचार्यको भनाइ छ ।
मध्ययुगीन सामन्तवादी समाजदेखि नै स्त्रीलाई मानिस नै नगन्ने संकीर्ण र सामन्ती सोचलाई मूल मन्त्र ठान्दै आएको एउटा वर्गले मूल वैदिक शास्त्रको अपव्याख्या गरेर विभिन्न धार्मिक संस्कारमा छोरा र छोरीमा विभेद सिर्जना गरिदिएको छ । यस्तो विभेदको अन्त्यका लागि विद्या र भावनाले जस्तै परिवर्तनको सन्देश दिन आवश्यक रहेको आचार्यको भनाइ छ ।