बुटवल-बुटवल उपमहानगरपालिकाले बजेट खर्चको क्षेत्रगत अवस्थामा उलेख्य प्रगति हाँसिल गरेको छ ।
आर्थिक वर्ष २०७७-०७८ मा सबै निर्देशनहरूको पालना गर्दा आर्थिक, सामाजिक पूर्वाधार र सुशासनको क्षेत्रमा ८० प्रतिशतसम्म बजेट खर्च गरेको छ । त्यस्तै उपमहानगरपालिकाले राजश्वमा लक्ष्यभन्दा बढी संकलन गर्न सफल भएको छ ।
उपमहानगरपालिकाले चालूतर्फ ६८.५४, पूँजीगतर्फ पनि ६८.५४ प्रतिशत बजेट खर्च गरेको छ । त्यस्तै आर्थिक विकासतर्फ ६५ सामाजिक विकासतर्फ ८७, पूर्वाधारतर्फ ४६, सुशासनतर्फ ५० र प्रशासनिक खर्चतर्फ ७६ प्रतिशतसम्म खर्च भएको उपमहानगरपालिकाका वित्त व्यवस्थापन महाशाखा प्रमुख विष्णु खनालले जानकारी दिए ।
खनालले भने, ‘महामारीले केही योजनाको बजेट कम खर्च भए पनि नगरपालिकाले सबै क्षेत्रमा प्रगति राम्रो छ ।’ उपमहानगरपालिकाले घरबहाल करबाट १३ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।
त्यस्तै सम्पति करबाट ७ करोड र नदीजन्य पद्धार्थ विक्रीबाट ६ करोड ६ लाख रूपैयाँ संकलन गरेको खनालले बताए । नगरपालिकाको राजश्व संकलनको प्रमुख स्रोत घरबहाल कर रहेको छ ।
आव २०७७-०७८ मा क्रमागत भई आएका योजना २८९ वटा थिए । कूल स्वीकृत योजना मध्ये ५५३ कार्यान्वन भए आएका गरी कूल ८४२ योजना पुगेका थिए । त्यसमध्ये ४२१ वटा सम्पन्न भएका छन् । उपमहानगर प्रमुख शिवराज सुवेदीले शिक्षा, स्वास्थ्य र शहरी विकास र पूर्वाधार विकास गर्दै डिजिटल बुटवलको योजनाका रूपमा अगाडि बढेको बताए ।
नगरपालिकाले राजश्वको दरमा वृद्धि नगरी सम्पति र भूमि करको पहिलो चौमासिकसम्म बुझाउँदा १५ प्रतिशतसम्म छुट दिने सुवेदीले बताए ।
सुवेदीले उपमहानगरपालिकाले संघ र प्रदेश सरकार मार्फत विभिन्न शिर्षकमा प्राप्त भएका योजना मात्र नभई उपमहानगरपालिका आफ्नै श्रोतमा संचालित योजनाहरु पनि कोरोना महामारीका कारण प्रभावित बनेको बताए ।
बुटवल उपमहानगरपालिका कार्यालयले आफ्नो सम्पूर्ण ध्यान कोरोना महामारीको नियन्त्रणमा लगाउंदा विकास निर्माण केही असर पर्न पुगेको नगर प्रमुख सुवेदीको भनाइ छ ।
कोरोना संक्रमण कम देखिएका १४ देखि १९ सम्मका वडाहरुको भौतिक प्रगति ९० प्रतिशत भन्दा माथी हुंदा कोरोना संक्रमण धेरै फैलिएका वडाहरुको प्रगती भने कम भएको सुवेदीको भनाइ छ ।
नगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले कोरोनाले अभिभावक गुमाएका बालबालिकाहरुलाई माध्यामिक तहसम्मको शिक्षा पूरा गर्न लाग्ने खर्चको व्यवस्थापन नगरपालिकाले गर्ने बताए । शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले चालू आवका लागि नगरपालिकाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा १८ प्रतिशत बजेट विनियोजन गरेको बताए । उक्त बजेट अन्य सबै पालिकाहरुको तुलनामा धेरै रहेको नगरपालिकाको दावी छ ।