बुटवल - बुटवलमा ट्राफिक एवं पार्किङ व्यवस्थापनका लागि विभिन्न संघ संस्थाहरुले १०३ वटा ट्राफिक संकेत वोर्ड प्रदान गरेका छन् । शहरका बढी भीडभाड हुने क्षेत्रमा राखिने ति बोर्डहरु विभिन्न टोल विकास संस्था र व्यवसायीहरुले उपलब्ध गराएका हुन् ।
अमरबुद्ध टोलविकास संस्थाले २१ वटा, वीपी चोक टोल विकास संस्थाबाट १० वटा, अमर तिनाउ टोल विकास संस्थाबाट १५ वटा, राममन्दिर टोल विकास संस्थाबाट १५ वटा, शोनी सोरुम अमरपथबाट १५ वटा, सिद्धार्थ हार्डवयरबाट १६ वटा र द फेन्सी स्पोर्टले १६ वटा पार्किङ बोर्ड प्रदान गरेका हुन् ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलमा ती ट्राफिक संकेतसहितका वोर्ड आइतबार हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रसिंह थापाले बुटवलको बढ्दो जनसंख्या र शहरीकरणलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापनका लागि थप कडाईका साथ लाग्ने वताए।
थापाले दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि सबैले आ–आफ्नो क्षत्रबाट सहयोगको अपेक्षा समेत राखेको उल्लेख गरे। उपमहानगरका विभिन्न १२ ठाउँमा राखिएका सिसिटिभी क्यामेराहरु बन्द रहँदा ट्राफिक व्यवस्थामा समस्या हुनुका साथै सुरक्षा प्रदानमा समेत असर परेको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेले बताए । बन्द भएका क्यामेराहरु पुनःसञ्चालनमा ल्याउनका लागि करिब ५ लाख लागत अनुमान गरिएको छ ।