बुटवल । काठमाडौँबाट बुटवल पुर्याइदिने भन्दै वीरगञ्ज लगेर एक युवतीलाई बाटोमा पटक–पटक बलात्कार गरेको आरोपमा दुई जना ट्रक चालकलाइ प्रहरीले पक्राउ गरेको छ ।
ना.५ ख २८७० नम्बरको ट्रक चालक पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्ने ३० वर्षीय सुनिल महतो र ना.६ ख ३३६९ नम्बरको ट्रक चालक पोखरिया नगरपालिका–६ बस्ने २५ वर्षीय शिवबालक महतोलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।
असार २७ गते काठमाडौँको कलंकीबाट बुटवल जाने भनी दुई वर्षीय छोरासहित सुनिलले चलाएको ना.५ ख २८७० नम्बरको ट्रकमा चढेकी ती युवतीलाई बिरगञ्ज पुर्याइएको थियो । रूकुम घर भएकी १९ वर्षीया ती युवतीलाई यात्राको क्रममा जाममा परेको र सोही बखत सुनिलले उनलाई ट्रकमै बलात्कार गरेका प्रहरीले जनाएको छ ।
त्यसपछि उनलाई चितवनको रामनगर पुर्याइएको र बुटवल जाने ट्रक भनेर २९ गते दिउँसो १ बजे शिवबालकले चलाएको अर्को ना.६ ख ३३६९ नम्बरको ट्रक चढाएर वीरगञ्जतर्फ लगेको खुलेको प्रहरीले जानकारी दिएको हो ।
जबर्जस्ती करणी गरेपछि शिवबालकले ३० गते वीरगञ्ज–१७ स्थित ड्राईपोर्टमा युवतीलाई ट्रकबाट ओराली अलपत्र पारेका थिए। चालक शिवबालकले बुटवल जाने भनी वीरगञ्जतर्फ ल्याइ आफूले, सहचालकले र अर्को एक व्यक्ति समेतले ती युवतीलाई पटक–पटक जबरजस्ती करणी गरेका बयान दिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाविरुद्द जबर्जस्ती करणी कसूरमा मुद्दा दर्ता गरि थप अनुसन्धान अगाडि बढाइएको छ ।