बुटवल । लुम्बिनी प्रदेशका चार वटा कोरोना अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीले थप ५० प्रतिशत जोखिम भत्ता पाउने भएका छन् ।
प्रदेशको मन्त्रिपरिषद्को आज मंगलबारको बैठकले चार वटा कोरोना अस्पतालमा कार्यरत चारसयभन्दा धेरै करार र स्थायी कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको हो ।
सकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री वैजनाथ चौधरीले कोरोना नियन्त्रण तथा रोकथाम कोषबाट जोखिम भत्ता प्रदान गरिने जानकारी दिए ।
यस्तै मन्त्रिपरिषद्ले प्रदेश सहकारी बोर्डमा दाङका सम्भु गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि नियुक्त भएका पाल्पाका धनेन्द्र गौतमले राजीनामा दिएपछि रिक्त भएको उक्त पदमा दाङका गौतमलाई नियक्त गरिएको हो ।
यसबाहेक सरकारले निजामतीमा रिक्त पदका लागि स्थायी पदपूर्ति गर्न प्रदेश लोक सेवा आयोगमा माग गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले प्रदेश तथ्याङ्क नियमावली, २०७८ लाई स्वीकृत गरेको छ । त्यस्तै घरजग्गा न्यूनतम मूल्य निर्धारण नियमावली, २०७८ लाई पनि स्वीकृत गरेको छ ।