भैरहवा- रुपन्देहीको सिद्धार्थनगर–८ नारायणपथमा रहेको सुन्दर्स ग्लास एण्ड फ्रेम हाउसमा शनिबार राती भएको आगालागी ८ घण्टा पछि नियन्त्रणमा आएको छ ।
रातको करिब ९ बजे विद्युत सट भई लागेको आगो नगरपालिकासहित छिमेकी पालिकाहरुबाट आएका एक दर्जनभन्दा धेरै दमकलहरु परिचालन गरी नियन्त्रणमा ल्याइएको हो ।
बुटवल, भैरहवा विमानस्थल,लुम्बिनी, सैनामैना, तौलिहवा, रामग्राम, बर्दघाट, नेपाल आयल निगम लगायतका दमकलले विहान ४ बजे पछि मात्र आगो नियन्त्रणमा लिएका थिए ।
भूई तल्लामा अगाडि फ्रेम र सिसाको पसल तथा पछाडी प्लाइउडको ठूलो गोदाम रहेको थियो । माथिल्लो तल्लामा गोदाम सहित परिवार पनि बस्दै आएका थिए । हाल भैरहवामा पानी परेकोले परिवारहरु बाहिर नै रात गुजार्नु परेको थियो । घर भत्किने डरले कोही पनि घर भित्र प्रवेश गर्न सकेका छैनन् ।
आगालगी भएपछि परिवारको सकुशल उद्वार गरेपनि बाँधिरहेको कुकुर भने मरेको छ ।
पसलका साथै घरायसी समान, मोटरसाइकल, नगद रकम समेत सबै पूर्ण रुपले जलेर नष्ट भएको छ । पसलको विमा थियो वा थिएन भन्ने स्पष्ट जानकारी आएको छैन ।
आगालागीबाट अनुमानित करिब ८ करोड बढी मुल्य बराबरको क्षति भएको सुन्दर हार्डवेयरका संचालक आकाश अग्रहरीले जानकारी दिए ।