काठमाडौं । नेपालले चीनसँग खरिद गरेको "४० लाख मात्रा खोप"मध्ये पहिलो खेपमा ८ लाख डोज खोप शुक्रवार आइपुगेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ।
त्यसका लागि नेपाल वायुसेवा निगमको विमान बिहीवार नेपालबाट उडेको थियो।
यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको हो । उक्त कम्पनीसँग ४० लाख डोज खोप खरिदको सम्झौता भएको छ । खोप ल्याउने जिम्मा पाएको निगमले भाडाबापत सरकारसँग प्रतिघण्टा १४ हजार डलर हाराहारीका दरले भाडा लिने छ ।
निगमको वाइडबडी विमान अब असार ३१ र साउन ७ मा बाँकी खोप ल्याउन बेइजिङ जाने तालिका छ । चीन जानुअघि निगमको वाइडबडीले बिहीबार बिहान इजरायलबाट करिब १८ टन स्वास्थ्य सामग्री चार्टर गरेर काठमाडौं ल्याएको थियो ।
चीनबाट खरिद गरी ल्याइएको खोप ५५ देखि ६२ वर्ष उमेर समूहका नागरिकलाई लगाउने सरकारको तयारी छ । यसअघि ६२ वर्षभन्दा माथिल्लो उमेर समूहलाई भारतबाट आएको कोभिसिल्ड र चीनको भेरोसेल खोप लगाइएको थियो ।
चीन सरकारले अनुदानमा दिएको १० लाख डोज खोप काठमाडौं उपत्यकामा ६० वर्षमाथिका र बाहिरी जिल्लामा ६२ भन्दामाथिका नागरिकलाई लगाइसकिएको छ । हिमाली जिल्ला र काठमाडौं उपत्यकामा १८ वर्षमाथिका केहीले पनि खोप लगाएका छन् ।
५५ वर्षमाथिका ३७ लाखमध्ये करिब १७ लाखलाई खोप लगाइसकेको विभागले जनाएको छ ।