बुटवल । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार बिहीबार देशभर पूर्ण बदली रही धेरै स्थानमा ठूलो वर्षा भएको छ । विशेष गरी लुम्बिनी प्रदेशसहित प्रदेश १, बागमती, गण्डकीमा भारी वर्षा भएको महाशाखाको भनाई छ ।
महाशाखाका अनुसार अझै केही दिन देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । बुधबार रातिदेखि बिहीबारसम्मको वर्षाले देशका ठूला, मझौला र साना नदीहरूको बहाव उच्च भएको छ ।
शुक्रबार लुम्बिनी प्रदेशसहित प्रदेश १, बागमती, गण्डकीका केही स्थानमा स्थानमा भारी वर्षाको खतरा कायमै रहेको जनाइएको छ । शनिबार पनि यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको क्रम निरन्तर रहने भएको छ ।
बिहीबारदेखि तराई जाने नदी तिनाउसहित बागमती, कमला, कन्काई, पूर्वी राप्तीमा उच्च बहाव हुने महाशाखाको प्रक्षेपण छ । उच्च बहाब भएका नदी छेउछाउका वासिन्दाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाका प्रमुख विक्रम जुवाले अनुरोध गरेका छन् ।
पछिल्लो समय चितवनको माडी र नवलपरासीको नवलपुर क्षेत्रमा भारी वर्षा भएको रेकर्ड भएको छ । जसका कारण ती क्षेत्रका स्थानीय नदीमा उच्च बहाव बढेर गाउँ पस्ने खतरा भएकाले तटीय क्षेत्रमा सावधानी अपनाउनुपर्नेमा जोड दिइएको छ ।
तीन महिनासम्म मनसुन सक्रिय रहने
यस वर्ष मनसुनको पूरै अवधि वर्षामय हुने अनुमान मौसमविद्ले गरेका छन् । मनसुन सुरु भएको एक महिना लगातार वर्षा हुँदा पनि ‘मनसुन ब्रेक’ नभएको यो वर्षको मनसुनी वर्षाले लगातार तीन महिनासम्म नै आफ्नो प्रभाव जमाउन सक्ने अनुमान मौसमविद्हरूको छ ।
मौसमविद् शान्ति कँडेलले भनिन्, ‘मनसुन सुरु भएको केही समयपछि मनसुनी वर्षा ब्रेक हुनुपर्ने हो तर यस वर्ष त्यो देखिएको छैन ।’ उनका अनुसार केही दिनका लागि वर्षा ठ्याम्मै रोकिएर आकाश खुल्ने गरेको विगतका मौसमी प्रवृत्तिले देखाएका छन् । यो वर्ष मनसुन ‘ब्रेक नभई’नै दोस्रो महिनाको उकालो चढिसकेको छ ।
विगतका वर्षमा हप्ता वा पन्ध्र दिनको आसपासमा मनसुन ब्रेक हुने गरेको थियो । यस वर्ष एक महिनासम्म पनि वर्षा रोकिएको छैन । मौसमविद्ले भनेजस्तै एकाध घण्टा घाम झुल्किए पनि मौसममा सुधार भएर चकमन्न घाम नलागेको एक महिना बढी भइसकेको छ ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार मौसम पूरै खुल्नेभन्दा पनि शुक्रबारदेखि हल्कादेखि मध्यम वर्षाको अवस्थामा परिणत हुनेछ । उनले भने,‘हल्का सुधार त देखिन्छ तर वर्षा नै रोकिने सम्भावना कम छ ।’