बुटवल रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर ७ केवलानी रहेको ईलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गर्न पहल गरिएको छ । अहिले ख श्रेणीमा रहेको इलाका प्रहरी कार्यालयलाई क श्रेणीमा स्तरोन्नति गर्न तिलोत्तमा नगरपालिकाले आवश्यक पहल अघि बढाएको हो ।
तिलोत्तमा नगरपालिकाको भुगोल पनि ठूलो भएको र जनसंख्याको चाप दिनप्रतिदिन बढ्दै गएकाले क श्रेणीको ईलाका प्रहरी कार्यालय अपरिहार्य रहेको नगरपालिकाले जनाएको छ । बुधबार लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी मुकुन्दराज आचार्य नेतृत्वको प्रहरी अधिकारीको टोलीले इलाका प्रहरी कार्यालय केउलानीको स्थलगत अनुगमन गरेको छ ।
अनुगमनका क्रममा टोलीले प्रहरी कार्यालय परिसरमा पूर्वाधार विस्तारको सम्भावना, भौगोलिक अवस्थितको विषयमा स्थलगत निरीक्षण गर्नुको साथैं जनप्रतिनिधिहरुसंग छलफल गरेको छ । सो अवसरमा तिलोत्तमाकी कार्यवाहक नगरप्रमुख जगेश्वरदेवी चौधरीले जनसंख्याको चापको कारण प्रहरी कार्यालयको स्तरोन्नति अपरिहार्य रहेको बताइन् ।
त्यस्तै नेकपा एमालेका नेता यज्ञ गैरे, वडाध्यक्ष दुर्गाप्रसाद पाण्डे, प्रवक्ता सुरेन्द्र श्रीलगायतले पनि प्रहरी कार्यालय स्तरोन्नतिको आवश्यकता र औचित्यको बारेमा प्रकाश पारेका थिए ।
प्रदेश प्रहरी प्रमुख डीआइजी मुकुन्दराज आचार्यले प्रहरी कार्यालयको स्तरोन्नति गरी प्रहरी निरीक्षकको कमाण्डमा जनशक्ति व्यवस्थापन गर्ने आवश्यक आधार पर्याप्त देखिएकोले यस विषयमा माथिल्लो निकायमा जानकारी गराउने बताए ।
प्रहरी कार्यालय स्तरोन्नतिको लागि पहल गर्न नगरप्रमुख बासुदेव घिमिरे काठमाडौं काठमाडौँमा रहेका छन् । संघिय सरकारमा विष्णु पौडेल गृहमन्त्री समेत रहेकाले प्रहरी कार्यालयको स्तरोन्नतिको काम सहजताको साथ अघि बढेको नगर प्रमुख घिमिरेको भनाइ छ । जिल्ला सुरक्षा समिति रुपन्देहीको बैठकले स्तरोन्नतिको लागि आवश्यक निर्णय गरी गृह मन्त्रालय पठाइसकेको बताइएको छ ।