बुटवल - रुपन्देहीमा पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि सोमबार रातीबाट सकिँदै छ । गत असार १४ गते सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेर निषेधाज्ञा खुकुलो पारिएको थियो ।
मंगलबारबाट निषेधाज्ञाको स्वरुप कस्तो गराउने भन्ने बारेमा निर्णय गर्न जिल्ला स्तरिय कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठक बस्न लागेको हो । बैठक दिउसो एक बजे बस्दै छ ।
बैठकमा नीजि तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली कायमै राख्ने कि हटाउने भन्ने एजेण्डा रहेको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । ‘निषेधाज्ञा भन्ने भाषा कायमै रहन्छ । अघिल्लो सूचना भन्दा केही खुकुलो हुन्छ । सवारी साधनमा जोर विजोर प्रणाली हटाउने कि भन्ने छलफलको एजेण्डा चाँही छ।' उनले भने 'काठमाण्डौमा जोर विजोर हटाएपछि हामीले पनि नराख्ने कि भन्ने छ कुरा उठेको छ। निर्णय के होला, एक बजेको बैठक पछि थाह हुन्छ।’
कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि बैशाख १६ गतेदेखी रुपन्देहीमा निषेधाज्ञा लगाइएको थियो । संक्रमण घट्दै गएपछि असारको सुरुवातदेखी निषेधाज्ञा क्रमश खुकुलो पार्दै लगिएको छ ।