खस्यौली-रुपन्देहीको सैनामैना नगरपालिकाले वैकल्पिक विधिबाट सोह्रश्राद्ध अर्थात् पितृपूजन कर्म गर्न आग्रह गरेको छ। नगरपालिकामा रहेका प्रतिनिधिमूलक पण्डितहरुको आज भएको भेलाले यस वर्ष जजमानका घरघरमा गएर श्रोह्रश्राद्ध नगर्ने निर्णय गरेको छ।
कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा देखिएपछि नगरपालिकाले सोह्रश्राद्धलाई भर्चुअल, अनलाइन वा अडियोका माध्यमबाट गर्न अनुरोध गरेको छ।
स्रोह्रश्राद्धमा घरघरमा पण्डित बोलाएर पितृपक्षलाई तर्पण दिने परम्परागत प्रचलन छ। नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीको उपस्थितिमा भएको भेलाले नगरपालिकाका जुनसुकै वडा, टोल र गल्लीमा कोरोनाको सङ्क्रमण हुने सम्भावना भएकाले न्यूनीकरणका लागि वैकल्पिक विधिमा जान बाध्य भएको जनाएको छ।
विभिन्न स्थानका पुरोहितमा समेत कोरोना सङ्क्रमण भेटिएको र सोह्रश्राद्धमा एक पुरोहित एक दिनमै धेरै ठाउँ जाने अवस्था रहेकाले वैकल्पिक विधि अपनाउन आग्रह गरिएको जनाइएको छ।
उनले पुरोहित वा घरमा आउने आफन्तजनबाट समेत सङ्क्रमण हुने सम्भावना भएकाले पुरोहितलाई घरमा नबोलाउन र आफन्तजनलाई समेत घरमा नबोलाउन आग्रह गरे।
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्रश्राद्ध अर्थात् पितृपक्ष यस वर्ष भदौ १७ गतेदेखि शुरु हुँदैछ। पितृपक्षको पहिलो दिन प्रतिपदा तिथि श्राद्ध गरिन्छ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो।
सक्नेले यस पक्षका सोह्रै तिथिमा श्राद्ध गर्नुपर्छ। नसक्नेले पञ्चमीदेखि औँशीसम्म र यति पनि नसक्नेले पिताका तिथिमा श्राद्ध गर्नुपर्ने शास्त्रीय वचन छ।
पं विष्णु ज्ञवालीले वैदिक सनातन धर्मअनुसार राष्ट्रलाई र विश्व मानवलाई सङ्कट परेका बेला पर्व, उत्सव वा सोह्रश्राद्ध जस्ता कर्म वैकल्पिक विधिबाट गर्न सबै पुरोहित सहमत भएको बताए। उनले शास्त्रीय मतलाई आधार मानेर पनि अहिलेको अवस्थामा सोह्रश्राद्ध गर्न वैकल्पिक उपाय अवलम्बन गर्ने विषय सान्दर्भिक भएको स्पष्ट गरे।
यसअघि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वैकल्पिक विधिबाट सोह्रश्राद्ध गर्न आग्रह गरेको थियो। सैनामैना नगरपालिकामा केही दिनअघि मात्रै नौ जनामा कोरोना सङ्क्रमण भएपछि सङ्क्रमितको सङ्ख्या ५६ पुगेको छ। अहिलेसम्म रुपन्देहीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ।