बुटवल । बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा चालकसहित ७ जनाको मृत्यु भएको छ । ३० जना घाइते छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती सोनारी गाउँपालिका–८ शमशेरगन्जमा शुक्रबार राति यात्रुवाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दाङबाट बर्दियातर्फ गइरहेको ना ७ ख २३२१ नम्बरको बस सडक छेउमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त बसमा बर्दियाको ठाकुरबाबास्थित बेतनी सामुदायिक वन उपभोक्ता समूहको टोली सवार रहेको उहाँले बताउनुभयो ।
दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका ९ का ५० वर्षीय काशीराम थारू, ६० वर्षीय सानुराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५५ वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, र चालक ४५ वर्षीय जुगबहादुर चन्दको मृत्यु भएको हो । अर्का मृतक सहचालक करिब ३५ वर्षीय पुरुषको नामथर खुलेको छैन ।
घाइतेहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक डाँगीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।