लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) लुम्बिनी बनाउन आफू आएको भन्दै सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको छ । उहाँले लुम्बिनी आफ्नो धार्मिक आस्थाको धरोहर भएको भन्दै स्थानीय, बुद्धिजिवी, पत्रकार र अन्य विभिन्न संघसंस्थालाई समेत साथ र सहयोग गर्न अपिल गर्नुभयो ।
लुम्बिनीमा रूपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारहरूसँग विहिबार परिचयात्मक तथा भेटघाट कार्यक्रम गर्दै उहाँले यस्तो बतउनुभएको हो । ‘मेरो धार्मिक आस्थाको ठाउँ हो लुम्बिनी, ईतिहास बनाउन सँकु भनेर आएको छु’ उपाध्यक्ष डा. लामाले भन्नुभयो, ‘मायादेवीको कसम खाएर भनेको छु, लुम्बिनीमा लिने होईन दिन आएको छु ।’
उपाध्यक्ष लामाले लुम्बिनी गुरुयोजना आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आफ्नो कार्यकालमा गुरुयोजना सम्पन्न गर्ने र मायादेवी मन्दिर निर्माण गर्ने उद्देश्य रहेको बताउनुभयो । मायादेवी नयाँ डिजाइन र आकर्षक बनाउनुपर्ने उहाँको भनाई थियो ।
गुरुयोजनाको बाँकी काम, बुद्ध सर्किट निर्माण, रामग्राम, तिलौराकोट र देवदहको पुरातात्विक क्षेत्रको संरक्षण र विकासका लागि काम गर्ने गरी आफू आएकाले सहयोग गर्न पत्रकारहरुसँग उपाध्यक्ष डा. लामाले आग्रह गर्नुभयो । ‘म लुम्बिनी बनाउन लड्छु, जुध्छु, भिड्छु तर, नैतिकता गुमाउँदिन’ उहाले भन्नुभयो । उहाँले लुम्बिनी गुरुयोजनाका सम्बन्धमा र कोषको कामका बारेमा विभिन्न प्रश्न र गुनासाहरु उठेको बताउँदै त्यसलाई सम्बोधन गर्ने गरी अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
संविधानसभा सदस्य, पूर्व अर्थराज्यमन्त्री समेत रहेका डा. लामाले आफ्नो क्षमतालाई लुम्बिनी बनाउन खर्चिने बताउनुभयो । उहाँले आफूले जीवन नै बुद्ध धर्मका लागि अर्पण गरेको बताउँदै बाँकी रहेको जीवन सत्कर्ममा लगाउने गरी काम गरेर देखाउन आफू लुम्बिनीको उपाध्यक्ष बनेको बताउनुभयो ।
विश्वका विभिन्न मुलुकबाट लुम्बिनी आउन चाहनहरुलाई अनुलुकुल वातावरण बनाउने बताउनुभयो । उहाँले लुम्बिनीमा बौद्ध धर्म गुरुहरुको मोलम (पूजा) जस्ता धार्मिक गतिविधि बढाएर बौद्ध पर्यटकहरुलाई आर्कषित गर्ने योजना रहेको सुनाउनुभयो । ‘यो वर्ष मोलुम (पूजा) का कार्यक्रमहरु तय भइसकेको छ’ उपाध्यक्ष लामाले भन्नुभयो । उहाँले रामग्राम र तिलौराकोटमा पनि पूजा, ध्यान र बत्ति बाल्ने ठाउँ तुरुन्तै निर्माण गर्ने बताउनुभयो । धार्मिक कार्यक्रमलाई लुम्बिनीमा बढाउने गरी योजना बनाइएको समेत उहाँले बताउनुभयो । उहाँले धार्मिक गतिविधिसँगै पर्यटकहरुको बसाइ लम्बिने विश्वास व्यक्त गर्नुभयो ।
उपाध्यक्ष लामाले रूपन्देही, कपिलवस्तु र नवलपरासीमा रहेका बौद्ध क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाएको बताउनुभयो । उहाँले बौद्ध क्षेत्रको विकासका लागि आवश्यक रकम जुटाउन विश्व समुदायमा पुग्ने समेत बताउनुभयो । ‘अब ६/७ अर्बको रकम जुटाएर गुरूयोजना सकाउनु छ, अहिले देशको बजेटमा नि समस्या छ’ उपाध्यक्ष लामाले भन्नुभयो, ‘म बुद्ध धर्मको विश्व समुदायसँगै जोडिएको छु केही समयमा त्यो फोरममा म जानेछु र स्रोत जुटाउने कोसिस गर्नेछु ।’
उपाध्यक्ष लामाले कोषलाई सबै पक्षमा पारदर्शिता बनाउने प्रमुख उद्देश्य रहेको बताउँदै त्यसमा साथ दिन पत्रकारलाई अनुरोध गर्नुभयो । लुम्बिनीको जमिन, स्रोत, कर्मचारी, स्थानीय सहयोग सबै पारदर्शी बनाउने भन्दै उनले आफू कमाउन नभई लुम्बिनी बनाउन आएकाले सबैको साथ र सहयोग चाहिएको बताउनुभयो । उपाध्यक्ष लामाले गुरुयोजनामा केही परिमार्जन गर्नुपर्ने अवस्था देखिएको बताउँदै त्यसका लागि युनेस्को, विभागीय मन्त्रालय र सरोकारवाला निकायसँग परामर्शमा गरिने बताउनुभयो । ‘४५ वर्षअघि केन्जो टाँगेले बनाएको योजना हो, अहिले धेरै अवस्था फेरिएको छ, त्यसका कारण पनि परिमार्जन जरुरी छ’, उहाँले भन्नुभयो।
उहाँले बुद्धजन्मस्थल लुम्बिनी वरिपरिका स्थानीयहरुलाई अपनत्व बनाउने गरी काम गर्ने समेत बताउनुभयो । उहाँले यसका लागि प्रत्येक महिना स्थानीय समुदाय, संघसंस्था, पत्रकारहरुको संस्था समेतको उपस्थितीमा छलफल गर्ने बताउनुभयो । उहाँले लुम्बिनी विकास कोषले रामग्राम, तिलौराकोट र देवदहलाई बढि केन्द्रीत गरी योजना बनाएर काम गर्ने समेत बताउनुभयो ।
उहाँले जिम्मेवारी समाल्ने वितिकै रामग्राम र त्यसपछि तिलौराकोट पुगेको बताउँदै बुद्धजन्मस्थल मात्रै केन्द्रीत नहुने बताउनुभयो । उहाँले बोर्ड सदस्यहरुलाई पनि जिम्मेवारी प्रदान गरेर सामूहिक रुपमा अघि बढ्ने योजना रहेको बताउनुभयो । पदाधिकारी र कर्मचारीविच नै बेमेल रहेको भन्दै पत्रकारहरुको जिज्ञासामा सकभर मिलाएर लैजाने कोसिस रहेको बताउनुभयो । ‘नमिल्नुपर्ने कुनै कारण छैन, ऐनले जिम्मेवारी स्पष्ट तोकेको छ, त्यही अनुसार अगाडि बढ्ने हो’ उपाध्यक्ष लामाले भन्नुभयो । उहाँले सबैको साझा सहयोगले मायादेवि मन्दिर, बुद्व सर्किट बनाउने गरि अगाडि बढने बताउनुभयो । उहाँले कर्मचारीहरुले लुम्बिनी बनाउनका लागि धेरै काम गरेको बताउँदै केही कमजोरीलाई सुधार गर्दै जाने बताउनुभयो । उहाँले कार्यालयमा कुर्चि खाली नराख्न निर्देशन दिईसकेको समेत बताउनुभयो । उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले नवनियुक्त उपाध्यक्षलाई लुम्बिनी बनाउने सन्दर्भमा सिंगो टिमको साथ सहयोग रहने बताउनुभयो । उहाँले लुम्बिनी विकास कोषले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम दुई जना उपाध्यक्षको भिजन अनुसार आएको बताउनुभयो । सदस्य सचिव शाक्यले प्राचिन शाक्य गणराज्य कपिलबस्तुको तिलौराकोट दरवारलाई विश्व सम्पदा सूचीमा सूचीकरणको तयारी भइरहेको समेत बताउनुभयो । उक्त अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नवलपरासीका अध्यक्ष हरि शर्मा, कपिलबस्तुका अध्यक्ष किरणमान ब्रज्रचार्य सहित पत्रकारहरुले लुम्बिनीका बिषयमा प्रश्न र सुझाव राखेका थिए ।
पत्रकार सम्मेलनमा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य नेत्रबहादुर शाही, विश्वराज पौडेल, परिषद सदस्य गोपिकृष्ण शर्मा, श्रीराम यादव, सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राई लगायतको उपस्थिती रहेको थियो । कार्यक्र प्रेस कन्सल्ट्यान्ट विनोद परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।