पाल्पा । पाल्पाको तानसेनमा बिहीबार ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकालिँदै छ । पश्चिम नेपालकै ठूलो जात्राको रुपमा रहेको श्री ७ रणउजेश्वरी भगवती जात्रा धुमधामले मनाउन लागिएको हो । नेपाल–अंग्रेज युद्धका बेला नेपाली फौजले जितगढी किल्लामा विजय हासिल गरेको सम्झनामा भगवती रथयात्रा निकाल्ने परम्परा छ ।
नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिरसिंह थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन सुरु गरेको जात्रा हरेक वर्ष यसरी नै मनाइँदै आइएको छ । वि.सं. १८७१ देखि १८७२ सम्म अंग्रेजसँगको युद्धमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले अंग्रेज फौजलाई जितगढी किल्लामा विजय हासिल गरेको थियो । यही किल्ला जितेको सम्झनामा वि.सं. १८७७ देखि पाल्पाको तानसेनमा भगवती जात्रा विजयोत्सवका रूपमा मनाउने प्रचलन सुरु भएको थियो ।
कर्णेल उजिरसिंहले बुटवल क्षेत्रको युद्धमा जानुअघि युद्धमा विजयी भएमा प्रत्येक वर्ष भगवतीको रथजात्रा गरी भगवतीको महिमा चारैतर्फ फैलाउने छु भनी भाकल गरेका थिए । दुई पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि उनले वि.सं. १८७२ देखि १८७६ सम्म गजुरसहितको ३ तले मन्दिर निर्माण गरी वि.सं. १९७७ सालदेखि विजयउत्सव मनाउन थालिएको जानकारहरु बताउँछन् । आधुनिक हातहतियारसहितको तालिम प्राप्त अंग्रेजी सेनासँग घरेलु हातहतियारको बलमा तत्कालीन नेपाली सेनाले युद्ध जितेको थियो । अंग्रेजलाई युद्धमा हराएकोले मन्दिरको नामसमेत रणउजिरेश्वरीबाट चर्चित रहँदै आएको छ ।
भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले दुई सय वर्षअघिदेखि भगवतीको रथयात्रा गर्ने प्रचलन कायम राख्दै यो वर्ष पनि रथयात्रा गर्न लागिएको जानकारी दिनुभयो । ‘ऐतिहासिक भगवतीको रथयात्राले भगवतीको महिमा फैलाउन सहयोग गर्ने छ भने नेपाली सेनाले विजय हासिल गरेको दिनको विशेष सम्झना दिलाउँछ ।’, उहाँले भन्नुभयो । भगवती रथयात्राका लागि आवश्यक सबै तयारी पूरा भएको समितिले जनाएको छ । यो वर्ष २०३औँपटक रथयात्रा निकाल्न लागिएको हो ।
समितिका अध्यक्ष महर्जनका अनुसार रथयात्राको प्रारम्भ साइत बिहीबार दिनको १२ः१५ देखि १२ः३० बजेसम्म छ । भगवतीको महिमा र रथयात्रा अवलोकन गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरी र नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप रानालगायत पाल्पा आउने कार्यक्रम रहेको अध्यक्ष महर्जनले बताउनुभयो ।
भगवती रथयात्राअन्तर्गत झाँकी, नाच, सालैजो, पञ्चेबाजा, भजनकीर्तन प्रस्तुतिसँगै रथलाई तानसेन बजार परिक्रमा गराइन्छ । अंग्रेजसँगको युद्धमा तत्कालीन रुपका नेपाली सेनाले बहादुरीका साथ लडेर अंग्रेजलाई पराजित गरेकोले पाल्पाली जनताको साथमा नेपाली सेनाको गोरखदल गण, जिल्ला प्रशासन, जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरुले निकै हर्षोल्लासका साथ यो जात्रा मनाउँदै आएका छन् । यो विजयउत्सव मन्दिर व्यवस्थापन समितिले चन्दा उठाएर मनाउँदै आएको छ । सरकारले भने राष्ट्रको शिर उचो गराउने विजयउत्सवलाई ध्यान दिएको छैन । नेपाल र अंग्रेजबिच भएका ५ वटा युद्धहरुमध्ये पाल्पाली सेनाले मात्र युद्धमा जित हासिल गरेको इतिहास रहेको छ ।
रथयात्रामा सजाइएको विशाल रथलाई मन्दिरको तीनपटक परिक्रमा गराई बजारका विभिन्न ठाउँमा पु¥याई भक्तजनहरुलाइ दर्शन गराइन्छ । शुभ साइतमा निकालिएको रथयात्रामा पञ्चेबाजा, भजन कीर्तन, झाँकीसहितको भगवतीको रथयात्रामा सेना, प्रहरी, कार्यालय प्रमुख, टोल विकास संस्था, विद्यार्थी, क्लब, आमा समूहलगायतको सहभागितामा बजार परिक्रमा गराई पुनः मन्दिरमा भित्र्याउने प्रचलन छ । भगवतीको दर्शन गरे आफ्ना मनोकांक्षा पूरा हुने भन्दै पाल्पा जिल्लाका विभिन्न गाउँहरुबाट रथयात्रामा सहभागि हुन आउने गर्दछन् । पछिल्लो समय जस्तो जात्रालुको सहभागिता कम रहेको स्थानीय बताउँछन् ।
यो पटक पाल्पासँगै स्याङ्जा, गुल्मी, अर्घाखाँची, रुपन्देहीलगायतका क्षेत्रबाट ३० हजार बढी भक्तजनले भगवती जात्राको अवलोकन गर्ने समितिले जनाएको छ । साथै रथयात्राको दिन बिहीबार बुटवलदेखि जाने भक्तजनहरुका लागि बुटवल बसपार्कस्थित पश्चिम नेपाल बस व्यवसायी समितिको टिकट काउण्टरबाट टिकट लिई तानसेन जाने र तानसेनबाट बुटवल फर्किनेका लागि भाडादरमा ५० प्रतिशत छुट गराइएको र तानसेनका होटलहरुमा पनि २० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिका सचिव प्रकाश डंगोलले बताउनुभयो । यसवर्ष जात्राका लागि सात लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यो जात्रालाई काठमाडौंपछिको दोस्रो ठूलो जात्राको रुपमा लिने गरिन्छ ।