‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको अराजक अभिव्यक्तिको आलोचना सुरु भएको छ।
सामाजिक सञ्जालमा प्रायः उत्तेजक स्टाटस लेखिरहने मेयर बालेन्द्रले शनिबार राति लेख्नुभएको थियो ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’
तर स्टाटसमा उहांले सन्दर्भ खुलाउनुभएको छैन ।
नेकपा एमालेका नेता विष्णु रिजालका अनुसार शनिबारका दिन मेयर शाहकी श्रीमतीले सरकारी गाडी चढ्दा प्रहरीले सोधपुछ गरेको थियो। त्यही रिसमा मेयर शाहले ‘सिंहदरबार जलाइदिने’ धम्की दिएका हुन्।
्
‘शनिबारको दिन (मेयर शाहकी) श्रीमतीले सरकारी गाडी चढेकोमा प्रहरीले सोधपुछ गर्दा सिंहदबार जलाइदिने महानगरका मेयरको स्ट्याटस’, एमाले केन्द्रीय सदस्य रिजालले आइतबार बिहान चिन्ता प्रकट गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनि त्यसमा लाखौँ लाइक, हजारौँ कमेन्ट र सेयर! ‘नयाँ’ले समाजलाई कहाँ लैजान खोज्दैछन्? अनि मानिसहरू कहाँ जान चाहिरहेका छन्? यस ‘मास हिस्टेरिया’को अन्तिम परिणति के होला?’
सामाजिक सञ्जालमा सार्वजनिक घटनाक्रमअनुसार शनिबार राति भक्तपुरतर्फबाट काठमाडौं आउँदै गरेको एउटा सरकारी नम्बरको गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर पास देखाउन भन्छन्। शनिबार पनि सरकारी गाडी चलाउन पास आवश्यक हुन्छ। तर गाडीमा सवार मेयर बालेन्द्र शाहकी श्रीमतीले पास देखाउनुभएन । ट्राफिक प्रहरीले अबदेखि बिदाको दिन पास लिएर मात्र सरकारी गाडी चलाउन चेतावनी दिनुभयो । उहां घर पुगेर श्रीमान्लाई घटना सुनाएपछि मेयर शाह आक्रोशित हुनुभयो र त्यस्तो स्टाटस लेख्नुभयो ।