बारा । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताउनुभएको छ।
बिहीबार दिउँसो जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी गराउन बाराको गडीमाइमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।
उहाँले भन्नुभयो, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ। म तपाईँहरूसामु प्रतिबद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्य सम्बन्धि काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ। गढीमाइलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल हुनेछ।
गढीमाई विकास समिति बनाएर यसको संरक्षण र प्रवर्धन गरिनेछ। कोभिडको बेला बन्द भएको नाका सुचारु गरिनेछ। विद्युतीय सिँचाइ प्रणालीमार्फत सिँचाइको व्यवस्था गरिनेछ। उपेन्द्रजीको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिनेछ।’