भैरहवा । उद्घाटन भएको एक वर्ष बढी समय भइसक्दा पनि रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय सञ्चालनमा नआएको भन्दै नेकपा (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ कमिटीले सिद्धार्थनगर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । २०७८ चैत १५ गते उद्घाटन भएको वडा भवन हालसम्म पनि सञ्चालनमा नआएकोले सञ्चालनमा ल्याउन एमालेले माग गरेको हो ।
शुक्रबार नगर उपप्रमुख उमा अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै एमालेले स्थानीय तह निर्वाचन अघि नै सिद्धार्थनगर–६ स्थित पिपरहियामा निर्माण भइ उद्घाटन भइसकेको कार्यालयबाट वडाबासी तथा सेवाग्राहीलाई सेवा प्रदान गर्न माग गरेको छ ।
पार्टीको ‘मिसन ग्रासरुट अभियान’ अन्तर्गत् वडामा भइरहेका विभिन्न भेला तथा बैठकमा समेत वडा कार्यालय सम्बन्धमा निरन्तर प्रश्न उठिरहेको एमालेका वडा कमिटी अध्यक्ष राम दयाल गुप्ताले बताए । उनले भने, ‘संघीयताको मूल मर्मअनुसार नागरिकको नजिकबाट सेवा पाउनुपर्छ । तर, वडा नम्बर ६ का वडाबासी तथा सेवाग्राहीलाई सेवा लिन सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा जानुपरेको छ । ’
उद्घाटन भइसकेको वडा समितिको नयाँ भवन सञ्चालनमा आउनुपर्ने एमाले सिद्धार्थनगर–६ का सचिव मदन प्रसाद पौडेलले बताए । उनले जनताको मागलाई वेवास्ता गरी वडा कार्यालय वडा नम्बर ६ बाटै सञ्चालनमा ल्याउन ढिलाइ गरिए आन्दोलनका कार्यक्रम जान बाध्य हुने पौडेलले बताए ।
ध्यानाकर्षणपत्र बुझ्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सेवाग्राहीलाई नयाँ भवनबाट छिटो भन्दा छिटो सेवा प्रदान गर्न प्रयास भइरहेको बताइन् । उनले भनिन्, ‘वडा कार्यालय उद्घाटन हुँदा विवाद थिएन, तर, पछि पर्खाल निर्माण गर्ने क्रममा केही विवाद भयो । विवाद समाधानका लागि छलफल जारी छ । काम नभएको होइन, प्रयास भइरहेको छ ।’ जनताको आवाज उठाएको भन्दै एमाले सिद्धार्थनगर–६ वडा कमिटीलाई उनले धन्यवाद व्यक्त गरिन् ।
ध्यानाकर्षण पत्र बुझाउन एमाले सिद्धार्थनगर–६ का अध्यक्ष रामदयाल गुप्ता, सिद्धार्थनगर कमिटी सदस्य मोहम्मद अकिल मुसलमान, झब्बालाल कहार, वडा कमिटीका उपाध्यक्ष रामप्रसाद श्रेष्ठ, सचिव मदन प्रसाद पौडेल, उपसचिवद्वय आनन्द प्रसाद न्यौपाने, अनिता थापा, अखिल नेपाल महिला संघ सिद्धार्थनगर–६ कमिटी अध्यक्ष विन्दु पौडेल, विद्यार्थी नेतृ स्वेता हरिजन, सोहन हरिजन, सुक बहादुर आले, कल्पना ज्ञवाली, विष्णु भण्डारी, राधेश्याम सुनार, शम्भु गुप्तालगायत नेता कार्यकर्ता शुक्रबार सिद्धार्थनगर नगरपालिकाको कार्यालय पुगेका थिए ।