काठमाडौँ । राष्ट्रपतिको निर्वाचनको मिति नजिकिएसँगै दलहरूले भेटघाट र छलफललाई तीव्र पारेका छन् ।
फागुन २५ गतेका लागि तय भएको राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङले आ–आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै नेताहरूसँगको भेटवार्ता गर्नुभएको हो ।
राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलसहित नेपाली काँग्रेसका नेताहरूको टोलीले आज राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग भेट गरी राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न आग्रह गर्यो ।
भेटका क्रममा आफूहरूले रामचन्द्र पौडेलको पक्षमा मतदान गर्न आग्रह गरेको र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पार्टीभित्र छलफल गरी निर्णय दिने जवाफ पाएको नेपाली काँग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वसुन्धरामा भएको भेटमा राष्ट्रपतिका उम्मेदवार पौडेल सहित डा प्रकाशशरण महत, रमेश लेखक लगायत नेपाली काँग्रेसका नेताहरू सहभागी हुनुभएको थियो ।
यस्तै नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङले आज जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरूसँग भेट गरी निर्वाचनमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।
नेम्वाङले जनमत पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर पुगेर जनमत पार्टीका अध्यक्ष सिके राउतसँग भेट गरी राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न आग्रह गर्नुभएको र पार्टीभित्र छलफल गरी निर्णय लिने जवाफ प्राप्त भएको नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
जनमत पार्टीका नेताहरूसँग भेट गर्न राष्ट्रपतिका उम्मेदवार नेम्वाङसहित कृष्णगोपाल श्रेष्ठ, पृथ्वी सुब्बा गुरुङ लगायतका नेताहरू जानुभएको थियो ।
यस्तै एमाले नेताहरूले आज नै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूसँग भेट गरी राष्ट्रपतिको निर्वाचनमा सुवास नेम्वाङको पक्षमा मतदान गरी सहयोग गर्न आग्रह गर्नुभएको छ ।
लोसपा अध्यक्ष महन्थ ठाकुरसँग भेट नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरे लगायतका नेताहरू लोसपाको केन्द्रीय कार्यालयमा पुग्नुभएको थियो ।
यस्तै एमाले नेताहरूले आज नै डिल्लीबजार कारागार पुगी नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग भेट गर्नुभएको छ ।
नागरिक उन्मुक्तिका संरक्षक चौधरीसँग भेट गर्न एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङसहित नेताहरू योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ, भगवती चौधरी, ठाकुर गैरे लगायतका नेताहरू डिल्लीबजार कारागार पुग्नुभएको थियो ।
नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका नेम्वाङले भेट गर्नुभएका तीनवटै दलहरू राष्ट्रपतिको उम्मेदवारी दर्ताका क्रममा बनेको आठ दलीय गठबन्धनमा सहभागी छन् ।