काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताउनुभएको छ । शुक्रबार मार्च ९ तारिखमा पर्ने अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा आयोजित मिडियामा महिलाका विचार गोष्ठी कार्यक्रममा बोल्नुहुँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।
सभामुख घिमिरेले संसद र अन्य सङ्घसंस्थाहरुमा पनि महिलाहरुको सक्रियता र सहभागिता बढिरहेको भए पनि सञ्चारमाध्यमहरुले सो अनुसार प्रचारप्रसार नगरेको बताउनुभयो । उहाँले आफू सभामुख भइसकेपछिका संसद् बैठकमा पनि महिला सांसदहरुले शून्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाए पनि सञ्चारमाध्यमहरुले सक्रियताअनुसार प्रचार गर्न कन्जुस्याइँ गरेको उल्लेख गर्नुभयो ।
प्रेस काउन्सिल नेपालको आयोजनामा भएको कार्यक्रममा सभामुख घिमिरेले भन्नुभयो, ‘‘संसदभित्र पनि महिलाहरुको सहभागिता राम्रै छ । सक्षमता पनि छ, सक्रियता पनि छ । तर जुन किसिमको महिलाहरुको सहभागिता र सक्रियता छ, त्यो ढङ्गको सञ्चारमाध्यमहरुले बाहिर प्रचार गर्न सकेको छैन । किनभने पुरुषहरु यति जना बोले, महिलाहरु यति जना बोले भन्ने ढङ्गकै हेर्ने हो भने पनि म सभामुख भएर आएपछिका केही बैठकहरुमा मात्रै पनि उहाँहरुको सहभागिता चाहे शून्य समयमा होस् वा विशेष समयमा होस् सहभागिता राम्रो छ । तर त्यो खालको प्रचारप्रसार छैन ।’’
सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले विशेष नेता र चर्चामा आएका विषयवस्तु बाहेकका समाचार नबनाएको बताउनुभयो । संसदमा पनि उल्लेख्य महिला सहभागिता र सञ्चारमाध्यमहरुको उपस्थिति नरहेको उहाँको भनाइ छ ।
अन्तरक्रियामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारसम्बन्धी ऐन र प्रेस काउन्सिल ऐन, २०४८ को संशोधन तत्काल गर्न सभामुखमार्फत सरकारको ध्यानार्कषण गराउनुभयो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले समितिले सीमित क्षेत्राधिकारका कारण अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो गर्नुभयो ।
“न्यूनतम पारिश्रमिक निर्धारण समितिसँग पत्रकारका अपेक्षा धेरै छन् । तर समितिलाई अनुगमन र सिफारिस गर्नेबाहेक धेरै अधिकार छैन”, उहाँले भन्नुभयो । न्यूनतम पारिश्रमिक लागू गराउनका लागि समितिलाई थप अधिकार दिनुपर्ने उहाँको भनाइ छ ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारितामा महिलाको सहभागिता बढ्दै जानु सकारात्मक भएको धारणा राख्नुभयो । उहाँले सङ्ख्यासँगै लैङ्गिकमैत्री वातावरण बनाउनका सबै सरोकारवाला पक्ष लागि पर्नुपर्नेमा जोड दिनुभयो ।