काठमाडौं । सरकारले सार्वजनिक बिदामा अत्यावश्यकीय सेवा प्रवाह सूचारु गर्ने निर्णय गरेको छ ।
यही फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक ठानिएका कार्यालयलाई सेवा प्रवाहका लागि सार्वजनिक बिदामा खोल्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
अबदेखि त्यस्ता कार्यालय सार्वजनिक बिदा घोषणा भए पनि खुल्नेछन् । “सार्वजनिक बिदा घोषणा भएका दिन पनि त्यस्ता कार्यालय भने खुला रहनेछन् । बिदाका दिन कुनकुन कार्यालय खोल्ने भन्ने समितिले सूचीकृत गर्नेछ”, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।
यसैगरी, सञ्चारमन्त्री शर्माले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ सम्बन्धी विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति निर्णय पनि बैठकले गरेको बताउनुभयो ।
यसैगरी, नेपालको संविधानको धारा ५३ एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमाेजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी सम्माननीय राष्टपतिसमक्ष पेश गर्ने र विकास आयोजनाको सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा विधेयक तर्जुुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय बैठकले गरेको छ ।