बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले लुम्बिनी प्रदेश समृद्धिको दिशामा अघि बढिरहेको बताउनुभएको छ ।
आज प्रदेश स्थापना दिवसका अवसरमा देउखुरीमा आयोजना गरिएको विशेष समारोहमा बोल्दै उहाँले अघिल्लो सरकारले राजधानीको सवालमा महत्त्वपूर्ण निर्णय गरेको बताउँदै वर्तमान सरकारले जग बलियो बनाउने गरी काम गर्ने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री गिरीले राजधानीको लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका काम भइरहेको जनाउँदै जनताले प्रत्यक्ष मसशुस गर्नेगरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा रहेर योगदान दिनुभएका ६१ जनालाई विभिन्न पदकले विभूषित गरेको छ । पुरस्कृत हुनेलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा विभिन्न समुदायका संस्कृति झल्कने झाँकीहरू समेत प्रदर्शन गरिएको थियो ।