बुटवल । बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन सुरु भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो ।
समान समस्या, समान मुद्दा र समान संरचना भएका हामीहरुका बीचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने उदेश्यले राष्ट्रिय सम्मेलन आयोजना गरिएको उपमहानगर प्रमुख खेलराज पाण्डेले बताउनुभयो ।
सम्मेलनमा उपमहानगरपालिकाहरुका साझा समस्या, संविधानअनुसार साझा र एकल अधिकारको प्रयोगका चुनौती, असल अभ्यासबारे अनुभव आदानप्रदान, संघ र प्रदेश सरकारसँग स्थानीय सरकारका रुपमा अपेक्षा र स्थानीय आवश्यकताजस्ता विषयमा छलफल हुने छ ।
उपमहानगरहरुका बीचमा आपसी समन्वय र सहकार्यको उदेश्यका साथ सम्मेलन हुने र स्थानीय सरकारहरु साझा मुद्दा लिएर एकसाथ अघि बढ्न उर्जा मिल्ने बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बताउनुभयो ।