काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताउनुभएको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मैले सिंहदरबारलाई कार्यसञ्चालनको मुख्य थलोको रूपमा लिएको छु। विगतमा सिंहदरबार बाहिर वा निवासबाट शासन चलाउने काम भएको तीतो अनुभूति तपाईं हामी सबैसँग छ। यसपटक हामीले उक्त गल्ती दोहोर्याउनु हुँदैन। विशेष परिस्थितिमा बाहेक सिंहदरबारबाटै काम गर्ने सोचेको छु।’’
यसपटक सिंहदरबारबाटै शासनको नेतृत्व गर्ने सोचेको उहाँको भनाइ छ। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘प्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्नु भनेको राज्यका सबै अंगको एकीकृत परिचालनको नेतृत्व गर्नु हो। राज्यका सबै अंगलाई जवाफदेही र उत्तरदायी बनाउनु पनि हो, दण्ड र पुरस्कारको व्यवस्थित प्रणाली स्थापित गर्नु हो।’’
आफ्नो कुरा निर्धक्कसाथ राख्न सक्ने उहाँको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले नयाँ अठोटका साथ आफू काम गर्न बताउनुभयो। ‘‘सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षा पूरा गर्ने अठोटका साथ आएको छु। सदनमा मलाई प्राप्त विश्वासको मत पनि त्यही जिम्मेवारीका साथ आएको छ। त्यसलाई मैले गम्भीर रूपमा लिएको छु’’, उहाँले भन्नुभयो।