बुटवल । रुपन्देहीका उद्योगि व्यवसायीहरुले चर्को बैंक व्याज र आर्थिक क्षेत्रमा राज्यले अगाडि सारेका गलत नितिका कारण नेपालका उद्योगहरु धाराशाही हुने अवस्थामा पुगेको बताएका छन् । उनीहरुले त्यसमा सरकार गम्भिर नबने सबै उद्योगहरु बन्द गरेर तालाचावी सरकारलाई बुझाउने अवस्था आएको बताए ।
कोरोना महामारीबाट भर्खर मात्र तङ्ग्रीन थालेको उद्योग क्षेत्र बैंकको चर्को व्याज र लगानीको अभावले धाराशाही बनेको उनीहरुको भनाई थियो । रुपन्देही उद्योग संघको ४४ औं वार्षिक साधारणसभामा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । सभाको उद्घाटन सत्रमा बोल्ने उनीहरुले सरकारले बैंक तथा वित्तिय संस्थाहरुलाई लगाम विना छाडा छाडेको परिणाम अर्थतन्त्रमा देखिएको वेथिति भएको उल्लेख गरे ।
बक्ताहरुले मुलुकको विकासको आधार क्षेत्र औद्योगिक विकास र स्वदेशी उद्योगहरुको संरक्षणको विषयमा राज्यले लिएको गलत नितिका कारण आज आर्थिक क्षेत्र तहसनहस हुदै गएको जिकिर गर्दै उद्योगीहरु उद्योग बन्द गरेर ताला सरकारलाई बुझाउने स्थिती आएको बताए ।
साधारणसभाको उद्घाटन गर्दै नेपाल उद्योग परिसंघका कार्यबाहक अध्यक्ष कृष्ण प्रसाद अधिकारीले नीजि क्षेत्र सफल भए मात्र देशको अर्थतन्त्र बलियो हुने बताउनु भयो । अर्थतन्त्रको मेरदण्डको रुपमा रहेको नीजि क्षेत्रलाई सरकार र राजनीतिक दलले बुझ्न नसकेकाले आज नेपालको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको उहाको भनाइ थियो ।
चर्को व्याज तिरेर अब उद्योगी व्यवसायीले उद्योगहरु धान्न नसक्ने बताउंदै चर्को व्याजदर नघटाए बैंकका विरुद्व विद्रोह गर्ने चेतावनी दिंदै उहाँले भन्नुभयो–नेपाल राष्ट्र बैंकको कार्यविधि नीजि क्षेत्रका लागि बाधक छ । नेपाल राष्ट्र बैंकले मनोमानी गर्दा उद्योगी व्यवसायी मारमा परेका छन्, सरकारले उद्योगी व्यवसायीलाई साथ दिएको छैन ।
कार्यक्रममा संस्थागत धारणा राख्दै संघका अध्यक्ष माधव प्रसाद पौडेलले लामो समयको राजनैतिक अस्थिरता र द्वन्द्वबाट ग्रसित बनेको औद्योगिक क्षेत्र राजनैतिक परिवर्तन र नयाँ राजनीतिक प्रणाली अन्तरगत बनेका सरकारहरुबाट धेरै आशा र भरोशा गरेको भए पनि औद्योगिक विकास र आर्थिक उन्नतीका लागि अपेक्षा अनुसारको नीति र व्यवहार पाउन नसकेको बताउनु भयो ।
रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एजाज आलमले उद्योगीहरुले उद्योगहरु बचाउन चाहे पनि बैंकको चर्को व्याजले उद्योगहरु बचाउन नसकिने अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले आर्थिक विकासका लागि उद्योगी मैत्री नीति जरुरी रहेको उल्लेख गर्दै बैंकहरुलाई नेपाल राष्ट्र बैंकले नै संरक्षण गरेको घटनाहरुले प्रष्ट पारेको हुँदा बैंकहरुका बिरुद्ध आन्दोलनमा उत्रनुको विकल्प रहेको धारणा राख्नु भयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्योगी व्यवसायिक समस्या राज्यतहबाट समाधान गरिनुपर्ने बताउदै स्थानीय सरकार उद्योगीमैत्री बन्ने र त्यसका लागि सबै उद्योगी व्यवसायीसंग बसेर साझा कार्यक्रम र योजना बनाउन आह्वान गर्नु भयो ।
रुपन्देही प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले खुल्ला सीमनाका कारण भन्सार छलेर नेपाल भित्राउने समान रोक्नुपर्ने र त्यसका लागि नीजि क्षेत्रका व्यवसायीको सहयोग चाहिने बताउनु भएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी विकास मन्त्रालयका सचिव नेत्रप्रसाद सुवेदी, नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय भैरहवाका निर्देशक रञ्जना पौडेल, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष तेजकुमार पाठक, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण शर्मा, नेपाल चेम्बर अफ कमर्श लुम्बिनीका संयोजक टंक प्रसाद पोखरेल, लुम्बिनी प्रदेशका कावा अध्यक्ष गणेश अधिकारी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, घरेलु तथा साना उद्योग महासंघ, पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल लगायतले बोल्दै हरेक क्षेत्रमा आर्थिक मन्दी हुंदै गएकाले यस विषयमा सरकार र नेपाल राष्ट्र बैंकलाई गम्भीर बन्न आग्रह गरेका थिए ।