रूपन्देही । भैरहवास्थित बाल सुधार गृहबाट गएराति पाँच जना बालक फरार भएका छन्।
विभिन्न घटनामा सम्लग्न भएको आरोप प्रमाणित भई भैरहवाको बाल सुधार गृहमा रहेका उनीहरु राती करिब ३ बजे फरार भएको बालसुधार गृहले बताएको छ। भागेका मध्य नवलपरासीका ३ जना रूपन्देहीका र कपिलवस्तुका एक/एक जना रहेको बाल सुधार गृहले जनाएको छ।
सुधार गृह स्रोतका अनुसार गएराति भान्सा गृहमा पस्नेतर्फको झ्यालको डण्डी काटी उनीहरू भागेका थिए। ६० जनाको क्षमता रहेको सुधार गृहमा ८८ जना बालकहरू बस्दै आएका छन्।
करिब ५ वर्षअघि निर्माण भएको भैरहवास्थित उक्त बाल सुधार गृहको सुरक्षाको लागि प्रहरी नायब निरीक्षकको नेतृत्वमा १० जना प्रहरीको दरबन्दी रहेको छ।
भागेकाहरूको विशेष प्रहरी टोली परिचालन गरी खोजी भइरहेको प्रहरीले जनाएको छ
बाल सुधार गृह स्रोतका अनुसार भागेकाहरूमध्ये ३ जना जबरजस्ती करणी मुद्दा एक जना चोरी मुद्दा र एक जना लागुऔषध मुद्दामा प्रमाणित भई सुधारका लागि त्यहाँ राखिएका थिए।
यसअघि बाल सुधार गृहमा रहेका बालकहरू सुधार गृहको क्षमताभन्दा धेरै भएपछि नेपालगन्ज, दाङ र नवलपुर स्थानान्तरण गर्न खोज्दा आक्रोशित भई तोडफोडमा उत्रेपछि प्रहरीले हस्तक्षेप गरेर साम्य पारेको थियो।