सुर्खेत । बाढी पहिरोका कारण कर्णाली प्रदेशमा १० हजार ७ सय १४ जना घरबारविहीन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सबैभन्दा धेरै मुगुमा ५ हजार २ सय ८२ जना घरबारविहीन भएका छन् ।
यस्तै बाढी पहिरोबाट कर्णाली प्रदेशमा एक हजार सात सय २० घरधुरी विस्थापित भएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै बाढी पहिरोमा परेर कर्णाली प्रदेशमा ३६ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् ।
त्यस्तै बाढी पहिरोमा परेर कर्णाली प्रदेशमा २८ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेशमा पूर्ण रुपमा एक हजार एक सय ४० घर भत्किएका छन् भने आंशिक एक हजार छ सय १२ घर भत्किएका छन् ।
पाँच दिनसम्म लगातार भएको वर्षाका कारण आएको बाढी तथा पहिरोबाट उच्च जोखिममा एक हजार चार सय ७७ घरधुरी रहेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) पोषराज पोखरेलले बेपत्ता व्यक्तिको खोजी कार्यसँगै अन्य क्षतिको विवरण सङ्कलनका लागि नेपाल प्रहरी अहिले पनि प्रभावित क्षेत्रमा खटिइरहेको जानकारी दिनुभयो ।
यसैबीच पहिरोले कर्णाली क्षेत्रको अवरुद्ध यातायात आंशिक रुपमा सञ्चालनमा आए पनि पूर्ण रुपमा यातायात सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने जनाइएको छ ।