बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले केही ठूला योजना सञ्चालनका लागि प्रक्रिया अघि बढाउने तयारीमा रहेको बताउनुभएको छ ।
सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) को स्तरोन्नती, कृषि बजार केन्द्र स्थापना, सूचना केन्द्र निर्माण, प्रदेशस्तरको बसपार्कजस्ता योजनाहरु प्रक्रियामा अघि बढेको उहाँको भनाइ छ ।
उपमहानगरपालिकाले आज गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले बुटवललाई आर्थिक, स्वास्थ्य र शिक्षाका हिसाबले अग्रणी बनाउने गरी केही योजनाहरु अघि बढेको र ती योजनाले छिटै मुर्त रुप लिने बताउनुभयो ।
आम्दा अस्पताल ३ सय बेडमा स्तरोन्नति हुने, नयाँ बसपार्कलाई स्थानान्तरण गरी बहुतले पार्किङस्थल निर्माण गर्ने, बुटवल ७ र ८ को धागो कारखाना अगाडिको २५ बिगाहामा बसपार्क निर्माण गर्ने, छाडा चौपाया व्यवस्थापनका लागि गौशाला सञ्चालन गर्ने जस्ता कामले बुटवललाई व्यवस्थित शहरको रुपमा स्थापित गर्ने उहाँले बताउनुभयो ।
उहाँले शिक्षाका क्षेत्रमा आम्दा अस्पतालमा प्रवीणता प्रमाणपत्र तहको नर्सिङ, बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई)मा सिभिल इन्जिनियरिङतर्फ स्नातक, अटो भिलेजमा स्नातक तहको अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि प्रक्रिया अघि बढेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको बजारलाई व्यवस्थित गर्नका लागि नियमित अनुगमन गरिरहेको र आगामी दिनमा थप कडाइका साथ नियम पालना गराइने बताउनुभयो ।
उहाँले उपभोक्ताको अधिकार स्थापित गर्दै स्वच्छ र स्वस्थ खाद्यान्न उपलब्ध हुने गरी वातावरण तयार गर्नका लागि बुटवल उपमहानगर लागिपरेको बताउनुभयो । उहाँले न्यायिक समितिले विवादमा मेलमिलाप र सहजीकरण गर्दै आएको बताउनुभयो ।