बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सार्वजनिक कार्यक्रममा पत्रकार डिबि सुस्लिङमाथि अपशब्द प्रयोग गरेको भन्दै प्रेस चौतारी रुपन्देहीले आपत्ति प्रकट गरेको छ ।
चौतारीका अध्यक्ष लक्ष्मण पौडेलले एक विज्ञप्तीमार्फत उपमहानगरले आफ्नै कार्यालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख पाण्डेयले ग्लोबल आवाज अनलाईनका समाचार संयोजक सुस्लिङलाई इङ्गित गरी अपमान गरेको भन्दै आपत्ति प्रकट गर्नुभएको हो ।
“पत्रकार सुस्लिङले समाचारमा प्रतिक्रिया लिँदा झर्किएको गुनासो गरेपछि उपमहानगरप्रमुख पाण्डेले विगतमा लेखेका समाचारबारे इंगित गर्दै “सधै तपाई नेगेटिभ समाचार मात्रै लेख्नुहुन्छ, आफूले लेखेको समाचारबारे तपाईलाई लाज लाग्नुपर्ने हो”–भन्ने जस्ता अपमानजनक शब्द प्रयोग गरेका थिए ”, विज्ञप्तिमा भनिएको छ ।
पत्रकार सम्मेलन आयोजना गरिएको स्थलमै उपमहानगरप्रमुख पाण्डेयले पत्रकार सुस्लिङलाई अनावश्यक लाञ्छना लगाउँदै अपमानजनक शब्द प्रयोग गर्नु गम्भीर विषय भएको चौतारीको भनाइ छ ।
प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसउपर अपनाउनुपर्ने कानूनी उपचारका बाटोलाई छाडेर पत्रकारलाई दुव्र्यवहार र अपमान गर्नु प्रेस स्वतन्त्रता विरोधी काम भएको चौतारीको ठहर छ ।
विज्ञप्तिमा भनिएको छ, “प्रेस चौतारी प्रेस स्वतन्त्रता विरोधी यस्ता घटनाको कडा शब्दमा भत्र्सना गर्दै अपमानजनक शब्द प्रयोग गरेकोमा तत्काल माफी माग्न र त्यस्ता शब्द फिर्ता लिन माग गर्दछ । पत्रकारलाई सुरक्षित र सहज पत्रकारिता गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग प्रेस चौतारी माग गर्दछ ।”
यस्तो छ विज्ञप्ती :
