रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासमा भारतको अतुलनीय सहयोग रहेको बताउनुभएको छ । उहाँले नेपालको विकास लागि भारतले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो ।
श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालय रोहिणी गाउँपालिका–३ स्वामीनगर, धकधई रुपन्देहीको निर्मित दुईतले भवन तथा प्रयोगशालाको समुद्घाटन समारोहमा आज बोल्दै उहाँले संयुक्त राष्ट्र संघको एउटा गतिशिल मुलुकको रुपमा नेपाल अघि बढिरहेको बताउनुभयो ।
नेपाली र भारतीय जनताबीचको सम्बन्धले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताउँदै उहाँले नेपाल र भारतको भाषा, भेषभुषा, संस्कृति, चाडपर्व मिल्दोजुल्दो उल्लेख गर्नुभयो । गृहमन्त्री खाणले नेपालको संविधानले नेपाली जनतालाई शक्तिको केन्द्रमा राखेको र जनतालाई नेपालको मालिकको रुपमा स्थापित गरेको बताउनुभयो ।
गत वर्ष विश्वभरी कोभिड महामारीले जनताको जीवनमा गम्भिर प्रभाव परेको बताउँदै उहाँले भारत सरकारले नेपाल सरकारलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको उल्लेख गर्नुभयो ।
नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा ४० प्रतिशत विद्यार्थी छात्रा हुनु महत्वपूर्ण भएको बताउनुभयो । भारतमा पनि छात्राको शिक्षामा सरकारले जोड दिएको बताउँदै उहाँले नेपाली र भारतीय जनताबीच राम्रो सम्बन्ध रहेको उल्लेख गर्नुभयो । भारतले शिक्षा, स्वास्थ्यको क्षेत्रमा नेपाललाई सहयोग निरन्तर गर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईँले यहाँका अग्रजहरुको सहयोग र पहलले शिक्षा क्षेत्रको विकास भएको बताउनुभयो ।
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले विद्यालयलाई गाउँपालिकाबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भारत सरकारको अनुदानमा निर्मित दुईतले भवन तथा प्रयोगशालाको गृहमन्त्री खाण र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।