काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएको बताउनुभएको छ।
शुक्रबार विभागमा वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७८/०७९ वार्षिक समीक्षा तथा छलफल कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले यस्तो बताउनुभएको हो।
उहाँले चालु आर्थिक वर्षमा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख २८ हजार भन्दा माथि पुगेको बताउनुभयो। उहाँले चालु आर्थिक वर्षमा अहिलेसम्मकै धेरै श्रम स्वीकृति दिइएको बताउनुभयो।
उहाँले अहिले पनि अन्तर्राष्ट्रिय मुलुकमा वैदेशिक रोजगारी कोभिड भन्दा अगाडिको लयमा नआइसकेको भए पनि नेपालको वैदेशिक रोजगारको अवस्था पूर्ण रुपमा लयमा फर्किएको बताउनुभयो।
महानिर्देशक पौडेलले २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरेर यो वर्षसम्म ७१ लाख २० हजार भन्दा बढी श्रम स्वीकृत भएको बताउनुभयो। उहाँले ७१ लाख श्रम स्वीकृतमा ६७ लाख पुरुष र तीन लाख महिलालाई श्रम स्वीकृत दिएको बताउनुभयो। महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा मात्रै गत आर्थिक वर्षको भन्दा ४ लाख ६१ हजार बढी रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘अहिलेसम्मको सबैभन्दा धेरै श्रम स्वीकृत यो आर्थिक वर्षमा भएको छ। अहिले अन्तर्राष्ट्रिय देशको चिन्ता के छ भने वैदेशिक रोजगारी कोभिड भन्दा अगाडिको लयमा आउन सकेको छैन। २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरिरहेका छौं।
अहिलेसम्म ७१ लाख २० हजार भन्दा बढी श्रम स्वीकृत भएको छ। यो भनेको रि इन्ट्री समेतको गरेर हो। यसमा ६७ लाख पुरुष र ३ लाख महिला हुनुहुन्छ। श्रम स्वीकृति २०७३ देखि निरन्तर ओरालो लागि रहेको छ। अहिले २०७८ असारदेखि २०७९ असार ३० गतेसम्म गत वर्ष भन्दा ४ लाख ६१ हजारले बढेको देखिन्छ। यो वर्ष ६ लाख २८ हजार श्रम स्वीकृति पुगेको अवस्था छ। अहिले वैदेशिक रोजगारी सन्तोषजन रुपमा अगाडि बढेको देखिन्छ।’
त्यस्तै महानिर्देशक पौडेलले विभागले सबै प्रकारका श्रम स्वीकृति अनलाइन प्रणालीबाट सञ्चालन गरेकाले एक वर्षमा ४५ प्रतिशत कार्यालयमा भीडभाड कम गरिएको बताउनुभयो। उहाँले सबै प्रकारका श्रम स्वीकृति अनलाइन भएकाले कर्मचारीदेखि सुशासनमा समेत सुधार भए सेवाग्राहीको समय र लागत कम भएको दाबी गर्नुभयो।
महानिर्देशक पौडेलले विभागले सक्कली पीडित भन्दा पनि नक्कली पीडित ३० प्रतिशत उजुरी लिएर आउनेगरेको बताउनु भयो। उहाँले अहिले नक्कली पीडितलाई विभागले निरुत्साहित गर्दै लगिएको बताउनु भयो।
महानिर्देशक पौडेलले नेपालको वैदेशिक दश गन्तव्य मुलुकमा सबैभन्दा पहिलो साउदी अरेबिया रहेको बताउनुभयो। उहाँले साउदी अरेबियामा एक लाख ८० हजार भन्दा बढी श्रमिक गएको बताउनुभयो।